मनोरञ्जन क्षेत्रमा १७ प्रतिशत बालश्रमिक

समाधान संवाददाता २०८१ साउन २८ गते १३:५०

पोखरा ।
दोहोरी साँझ, डान्सबार, मसाज सेन्टर, खाजाघर जस्ता मनोरञ्जन क्षेत्रमा काम गर्ने १ सयमध्ये १७ जना १८ वर्षमुनिका बाल बालिका रहेको एक सर्वेक्षणले देखाएको छ । मनोरञ्जन क्षेत्रका हरेक १ सय कामदारमा १७ बाल बालिका रहेको शक्ति समूहकी परियोजना संयोजक गरिमा श्रेष्ठले जानकारी दिइन् ।

Advertisement


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगको सहकार्यमा शक्ति समूहले आइतबार आयोजना गरेको मनोरञ्जन क्षेत्रको प्रभावकारी व्यवस्थापनमा सम्बन्धित निकाय तथा सरोकारवाला निकायहरुको भूमिका विषयक कार्यशाला गोष्ठीमा संयोजक श्रेष्ठले बालबालिका सम्बन्धी ऐन २०७५ले १८ वर्षमुनिका बाल बालिकालाई मनोरञ्जन क्षेत्रमा प्रवेश निषेध गरेको बताइन् ।


‘१८ वर्षमुनिका बाल बालिकालाई मनोरञ्जन क्षेत्रको श्रममा लगाउने दण्डनीय अपराध हो,’ उनले भनिन्, ‘मनोरञ्जनको क्षेत्रमा बाल बालिकालाई प्रयोग गरेमा ५० हजार जरिवाना र १ वर्ष जेल सजाय हुन्छ ।’ उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने व्यक्ति मानव बेचविखनको दृष्टिले उच्च जोखिममा पर्ने समूहमा पर्ने उल्लेख गरिन् । उनले पछिल्लो समयमा मनोरञ्जन क्षेत्र मानव बेचविखनको मुख्य थलो तथा मानव बेचविखनको ट्रान्जिट पोइन्ट बनेको दाबी गरिन् ।

Advertisement


शक्ति समूह गण्डकी प्रदेशका संयोजक सरिता पौडेलले नाम तथा दर्ता नभएको खाजाघर यौन व्यवसायको लागि प्रयोग भएको जानकारी दिइन् । सञ्चालकले मोबाइलमा एबिसि फोल्डर बनाएर किशोरीहरुको फोटो राख्ने उल्लेख गर्दै उनले एबिसी अनुसारको दररेट राखेर ग्राहकलाई देखाउने गरेको खुलाइन् ।

उनले पछिल्लो समयमा मानव बेचविखनको अवस्था भयाभह भएको बताइन् । शक्ति समूहले सन २०२४को जुलाईसम्ममा ३४ जनालाई संरक्षणमा राखेर सेवा प्रदान गरिएकोमा २६ जना गण्डकी प्रदेशको भएको जानकारी दिदै उनले सन २०२३मा ४१ जना मानव बेचविखनबाट प्रभावितलाई संरक्षणमा राखेर सेवा प्रदान गरेको उल्लेख गरिन् ।

Advertisement


उनले मनोरन्जन क्षेत्रबाट ६ जना बालिकालाई धेरै पैसा दिने बहानामा भारत पुर्‍याएको जानकारी दिइन् । स्पाबाट उद्दार गरिएका ११ जना मध्ये १ जना १४ वर्षमुनीको बालिका रहेको र दोहोरी साँझबाट १ जना १४ वर्षिय बालिकालाई उद्दार गरिएको उनले उल्लेख गरिन् ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहनकुमार थापाले मनोरञ्जन क्षेत्र मानव बेचविखनको दृष्टिले जोखिमपूर्ण क्षेत्र भएको बताए । २०८०/०८१को वर्षमा ५३ जबरजस्ती करणीको मुद्दा परेकोमा अधिकांस मनोरञ्जन क्षेत्रको रहेको जानकारी दिदै उनले बाल बालिका बिरुद्धको कसुरमा २० वटा मुद्दा दर्ता भएको उल्लेख गरे । पछिल्लो समयमा मनोरञ्जन क्षेत्र अपराधको मुख्य थलो तथा शान्ति सुरक्षाको देष्टिे संवेदनशील क्षेत्र भएको उनको भनाई छ । उनले मनोरञ्जन क्षेत्रमा यौनजन्य अपराध बढेको दाबी गरे ।


मनोरञ्जन क्षेत्रमा सञ्चालकले नावालिकलाई पहिला रोजगारी दिने गरेको उल्लेख गर्दै उनले पछाडि पैसाको प्रलोभनमा बेश्यावृत्तिमा लगाउने गरेको बताए । उनले यौन दुव्र्यवहार गर्ने ग्राहकबाट जोगाउने भन्दा उक्साउने काम गरेको आरोप लगाए । उनले २४सै घण्टा रात्रीकालिन व्यवसाय सञ्चालन आएपश्चात सुरक्षा चुनौती थपिएको तथा समय बढेर अपराध समेत बढेको टिप्पणी गरे ।


पोखरा महानगरपालिका सामाजिक महाशाखाका निर्देशक निर्मला शर्माले रात्रीकालिन अवधि बढ्दा महिला र बाल बालिका जोखिममा परेको जानकारी दिइन् । कार्यक्रममा शक्ति समूहका संस्थापक चरिमाया तामाङले शक्ति समूह एक्लै हिड्ने भन्दा पनि सबैको सहकार्य र साझेदारीमा काम गर्ने जानकारी दिइन् । मानव बेचविखनबाट प्रभावितले खोलेको शक्ति समूहमा ६१ मध्ये २० जना बेचविखनबाट प्रभावित भएको उनले उल्लेख गरिन् ।


श्रम तथा रोजगार कार्यालय गण्डकीका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेशराज ढकालले मनोरञ्जन क्षेत्रका कामदारले न्यूनतम पारिश्रमिक नपाएको जानकारी दिए । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक नितु गड्तौला, कास्की जिल्ला अदालतका स्रेस्तेदार रुद्रप्रसाद अर्याल, गैसस महासंघ नेपाल गण्डकीका कार्यवहाक अध्यक्ष पदमराज पहारी,कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत बद्रीप्रसाद वाग्ले, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, पोखरा ६का वडा सदस्य बासुदेव बराल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण बराल, राइटफोर चिल्डे«नका परियोजना अधिकृत सन्तोष गुरुङ लगायतले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको बारेमा प्रकास पारेका थिए ।

तपाईको प्रतिक्रिया