ढाेरपाटनमा थपिए होटल, बढे पर्यटक

ढोरपाटन ।
पछिल्लो समय ढोरपाटन पुग्ने र बुकी चढ्नेको लहर नै चलेको छ । एक दशक अगाडिसम्म यहाँको ढोरबराहमा जनैपूर्णिमाको अवसर पारेर पूजाआजा गर्न जानेबाहेक अन्य समयमा पर्यटकको सङ्ख्या न्यून हुने गथ्र्यो । बास बस्न होटल सुविधा नहुँदा जनैपूर्णिमामा देशैभरबाट आउनेहरूले पनि सास्ती भोग्नुपथ्र्यो ।
कसैले गोठमा स्याउला बिच्छाएर त कसैले रातभर जागराम बसेर कष्टपूर्ण समय बिताउनुपथ्र्यो । दशक अगाडिसम्म यहाँ आउनेमध्ये धेरैलाई कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ताले पिरोल्ने गरेको थियो ।
पशुचौपाया र बर्खे खेती गर्नका लागि उपत्यका पुगेका अधिकारीचौर र बोबाङवासीको गोठमा बास पाउँदा पनि निकै राहत महसुस गर्ने अवस्था थियो । अचेल भने त्यो परिस्थिति फेरिएको छ । नेपालको एकमात्र सिकार आरक्ष रहेको यस क्षेत्रमा दर्जनौँ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । विगतमा जस्तो खान र बस्न समस्या नभएपछि अचेल धार्मिक तथा अन्य पर्यटकको संख्यासमेत बढ्दै गएको व्यवसायीले बताएका छन् ।
केही वर्षयता बाह्रै महिना पर्यटक पुग्न थालेपछि व्यवसायीहरूले यहाँ धमाधम होटल तथा घरबास (होम–स्टे) सञ्चालनमा ल्याउन थालेका ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवनकुमार पुन मगरले सुनाए । ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा धेरै होटल तथा घरबास सञ्चालनमा आएका छन् ।
स्थानीयसँगै जिल्ला बाहिरका व्यवसायीले समेत यहाँ आएर होटल व्यवसाय गर्न थालेका छन् । अध्यक्ष पुन मगर विसं २०७५ यता हरेक वर्ष नयाँ होटल थपिँदै गएको बताउँछन् । जनैपूर्णिमामा यहाँ आउने दर्शनार्थीले हाल खुला आकाशमुनि रात बिताउनुपर्ने समस्या अन्त्य भएको छ ।
बराह मन्दिर दर्शनमा आएका भक्तजनले स्यालपाखे, नवी, पाखाथर, उत्तरगंगा, भूजी लगायतका ठाउँमा गएर बस्न सक्ने अवस्था रहेको अध्यक्ष पुन मगरको भनाइ छ । ‘पहिला जनैपूर्णिमाबाहेक अरू समयमा खासै पर्यटक आउँदैनथे, होटलको सुविधा पनि थिएन ।
बाह्रै महिना पर्यटक पुग्न थालेपछि ढोरपाटनका व्यवसायीले धमाधम होटल र होमस्टे खोल्न थालेका छन्
यहाँ आएका भक्तजनमध्ये कोहीले पशुचौपायाको गोठ र खुला आकाशमुनी बस्नुपर्ने बाध्यता थियो । हामी पनि रातभरी काम्लो (भेडाको रौँको कपडा) ओडेर बाहिरै बस्थ्यौं’, उनी सम्झन्छन्, ‘पहिलेको जस्तो गोठमा बस्ने स्थिति छैन, अहिले सामान्य भए पनि होटल सञ्चालनमा छन् । यस उपत्यकामा हाल ३४/३५ वटा होटल र होमस्टे छन्, यहाँ आउने दर्शनार्थीलाई जसोतसो व्यवस्थापन गरिरहेका छौँ ।’
शनिबारदेखि नै ढोरपाटनमा भक्तजनको घुइँचो लाग्न थालेको छ । होटल व्यवसायी श्यामलाल घिमिरेले आइतबार दिउँसोसम्म यहाँ सञ्चालित सबै होटल भरिभराउ हुँदा पाहुनालाई स्थानीयको घरमा समेत व्यवस्थापन गर्न थालिएको जनाए । आफूले मात्रै करिब ४० जना पाहुनालाई बास दिएको सुनाउँदै मंगलबारसम्म थेगी नसक्नु भीड हुने उनले दाबी गरे ।
अहिले ढोरपाटन पुग्ने कोही पनि पाहुना गोठमा बस्नुपर्ने स्थिति नरहेको घिमिरेको भनाइ छ । ‘यहाँ होटल व्यवसायीका लागि बढी काम गर्न पाइने समय ठूला चाड नै हुन् किन कि यति बेला ढोरपाटनमा हजारौँ धार्मिक पर्यटकको आगन हुन्छ, अरु बेला यतिको भीड हुँदैन ।
पूर्णिमा सकियो भने जलजला, छुन्तुङ, बुकीपाटनलगायत ठाउँमा जाने पर्यटक आउँछन्,’ उनले भने, ‘पहिलेको तुलनामा अहिले धेरैलाई सहज भएको छ, होटल थपिने क्रममा छन्, होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आएका छौँ, पछिल्लो समय ढोरपाटनको प्रचार भएर होला मान्छे आउने क्रम बढ्दो छ ।’
ढोरपाटन नगरपालिका ९ का स्थानीय पदमबहादुर पुनले यहाँ सञ्चालनमा आएका होटलले पर्यटकलाई सहज भएको सुनाए । ‘उच्च पहाडी क्षेत्र भएकाले बाह्रै महिना यहाँको हावापानी चिसो र वातावरण रमणीय हुने हुँदा धार्मिक तथा अन्य पर्यटकको आषकर्षण बढ्दो छ ।
विगतमा बासका लागि राम्रो होटल तथा सुविधा नहुँदा धेरैले दुःख पाउँथे तर पछिल्ला केही वर्षदेखि होटल, घरबास तथा रेष्टुरेण्ट खुलेपछि सहज भएको छ’, पदमले भने । अब बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटर सडक स्तरोन्नति गरिएमा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या दोब्बर हुने पुनको विश्वास छ । रासस









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया