८ वर्षमा तेब्बर भयो बिजुली खपत

काठमाडौं ।
मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत ३ गुणा बढेको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकामा आव २०८०÷८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ । ८ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । ८ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।
गत आवमा सबैभन्दा बढी ग्राहस्थ्र्यतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । ८ वर्षअघि १ सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४ सय युनिट पुगेको छ ।
त्यस बेला बर्खायाममा समेत दैनिक ८ घण्टा विद्युत्भार कटौती थियो । हिउँदमा दैनिक १४ घण्टासम्म विद्युत्भार कटौती गर्नुपर्ने प्रक्षेपण थियो । विसं २०७३ को कात्तिकदेखि काठमाडौँ उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरमा गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको विद्युत्भार कटौती अन्त्य गरिएको थियो । सरकारले २०७५ वैशाखदेखि सिङ्गो मुलुक विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो ।
८ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्को पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ‘ग्रिड’बाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत्, सौर्य ऊर्जा लगायतबाट विद्युत् उपभोग गरिरहेका छन् । विद्युत्का ग्राहक ५९ लाख ३५ हजार पुगेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्भार कटौती अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत बढेको बताए । ‘ठूला तथा साना उद्योगलाई निरन्तर विद्युत् आपूर्ति भइरहेको छ, यस अवधिमा उद्योगको धैरे ‘लोड’ स्वीकृत गरिएको छ, खाना पकाउने लगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएको छ जसका कारण आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ,’ उनले भने ।
हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन् । त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख सहरलाई ११ क्लस्टरमा विभाजन गरिएको छ । यस्तै, सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको छ । कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गरे ।
बर्खा यामका ६ महिना विद्युत् भारततर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटी केही महिना देशभित्रको माग धान्न विद्युत् आयात गर्नुपर्ने अवस्था छ । तर प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ । गत आवमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४ दशमलव ६८ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ८ दशमलव ५७ प्रतिशत विन्दुले कम हो । विद्युत् निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ । गत आवमा आयातभन्दा १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
तपाईको प्रतिक्रिया