टेकनाथको स्मृतिमा अध्ययन केन्द्र

पोखरा ।
मानव अधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको प्रथम स्मृति समारोह बुधबार भएको छ । पोखरा ७ नुवारथोकमा बस्दै आएका मानवअधिकारकर्मी बरालको ८५ वर्षमा गत वर्ष निधन भएको थियो ।
बराल आफ्नो जीवनको ५ दशकभन्दा बढी समय मानवअधिकार र सामाजिक न्यायका लागि समर्पित थिए । उनका छोरा विद्याविमल बरालले अधिकारकर्मी बरालले राजनीति, मानव अधिकार र शिक्षा क्षेत्रमा गरेको योगदानको अध्ययन गर्न टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको जानकारी दिए ।
‘मानव अधिकार, सामाजिक न्याय, असमानता विरुद्धको आन्दोलनलाई सशक्त बनाउने अध्ययन केन्द्रलाई विस्तृत र फराकिलो बनाइने छ,’ उनले भने, ‘राष्ट्रिय स्तरमा योगदान पुर्याएका व्यक्तिलाई टेकनाथ स्मृति दिवसका दिन हरेक वर्ष ‘टेकनाथ स्मृति सम्मान’ प्रदान गरिनेछ ।’ उनले यसका लागि परिवारले ६ लाखको अक्षय कोष स्थापना गरेको जानकारी दिए ।
बरालले भौतिकवादी विश्व दृष्टिकोण लगायतका विषयमा विचार गोष्ठी गर्ने बताए । परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले बामपन्थी नेता बराल राष्ट्रियताको रक्षा र सीमा सुरक्षाको सवालमा सक्रियतापूर्वक लागेको जानकारी दिए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले टेकनाथ मन, वचन र कर्ममा एकरुपता भएको व्यक्ति भएको टिप्पणी गरे । उनले पुष्पलालले नेपाली कांग्रेससँग कार्यगत एकताको प्रस्ताव गर्दा टेकनाथले कम्युनिस्ट एकतालाई माइनस गर्न नहुने अडान राखेको जानकारी दिए ।
उनले २०४६ सालमा नेता बरालले काठमाडौमा भन्दा पहिला पोखरामा बाममोर्चा गठन गरेको सुनाए । गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले सादा जीवन उच्च विचार राख्ने व्यक्तित्व बरालले बामपन्थीहरु बीचको एकता विना मुलुकको रुपान्तरण सम्भव नभएको बताएको स्मरण गरे ।
बरालले बामपन्थीहरु गरिब किसान र श्रमजिवीका मुद्दामा ध्यान नदिई राज्यसत्ता र राजकीय सुखसयलमा ध्यान दिएकोमा चिन्ता जाहेर गरेको स्मरण गर्दै उनले बराल सधै राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालमा चिन्तित रहेको बताए । बामबुद्धिजीवी रामराज रेग्मीले नेता बरालले छिरलिएको र लथालिंग भएको कम्युनिस्ट पार्टीलाई संगठित गरी जीवन र गति दिएको जानकारी दिए ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवालले छोराछोरीलाई समान अंश दिएर बरालले महिलाको अंश र वंशको अधिकार सुनिश्चित गरेको बताइन् । सञ्जालका पूर्व संयोजक विष्णुप्रसाद बरालले संविधान सभाको चुनाव गराएर सशस्त्र द्वन्द्वको अन्त्य गर्नुपर्ने पक्षमा बराल भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, टेकनाथ बरालका छोरी प्रभा बराल पौडेल, पत्रकार दीपेन्द्र श्रेष्ठ लगायतले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा टेकनाथ बरालको योगदानबारे चर्चा गरे ।
नेपाल सरकार र तत्कालीन नेकपा माओवादीलाई वार्तामा ल्याएर शान्ति प्रक्रिया स्थापनाका लागि खोलिएको शान्तिका लागि नागरिक समाज सञ्जाल पोखराका संस्थापक सदस्य बराल महिला हिंसा, दाइजो प्रथा, सामाजिक अन्याय, असमानता लगायतका विभिन्न सामाजिक समस्याका विरुद्ध कट्टर अभियानकर्ता थिए । सशस्त्र द्वन्द्वकालमा बरालले द्वन्द्वबाट प्रभावित जनताको अधिकार सुनिश्चित गर्न निर्णायक भूमिका निर्वाह गर्नुका साथै मानवअधिकार उल्लंघनका घटनाको अनुगमनमा सक्रिय रूपमा संलग्न थिए ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया