सामाजिक सञ्जालबाटै कृषि उपज बजारीकरण

समाधान संवाददाता २०८१ भदौ १६ गते ११:५३
फाइल फाेटाे

गण्डकी ।

Advertisement

देशव्यापी रूपमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगको चासो र चर्चा भइरहेको अवस्थामा यहाँका एक अगुवा कृषकले भने त्यही सञ्जालको उपयोग गर्दै आफ्ना पशुवस्तु र कृषिजन्य उत्पादनलाई सहज रूपमा बजारमा पुर्‍याएका छन् ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका अगुवा कृषक रमेश आचार्यले विगत तीन वर्ष यता सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट गोठबाटै पशुवस्तुसँगै घरबाटै कृषिजन्य उत्पादन बिक्री गर्दै आएका हुन् ।

पहिले पहिले कुनै पशुवस्तु बेच्नु परेमा वल्लो गाउँ र पल्लो गाउँ हुँदै चिया दोकान र चोक चौतारीमा खबर छोड्नुुपर्ने बाध्यतालाई अहिले भने सामाजिक सञ्जालले अन्त्य गरिदिएको उनको भनाइ छ ।


३ वर्षयता सामाजिक सञ्जालमा राखेर गोठैबाट पशुवस्तु र कृषिजन्य उत्पादन बिक्री गरिरहेको उनले सुनाए । ‘बिक्री गर्नुुपर्ने पशुवस्तु वा सामग्री फेसबुकमा राखिदिएपछि अहिले अन्यत्र खबर गर्नै पर्दैन’, उनी भन्छन्, ‘फेसबुकमा बिक्रीका पशुवस्तु फोटोसहित राखिदिएसँगै तनहुँ, स्याङ्जा लगायतका स्थानबाट ग्राहक आएर किनेर लगेका धेरै उदाहरण मसँग छन् ।’

Advertisement

सामाजिक सञ्जालको दुरुपयोगभन्दा पनि यसलाई सही रूपमा प्रयोग गर्न सकेमा त्यसबाट धेरै फाइदा लिन सकिने उनको अनुभव छ ।

कृषिप्रतिको अनिच्छाका कारण रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ नै केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका आचार्यले उत्पादित वस्तुको बिक्री वितरणमा गरिरहेको समाजिक सञ्जालको प्रयोग पनि अन्यका लागि प्रेरणादायी बनिरहेको छ ।

स्नातकसम्मको अध्ययन, १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिक समेतको अनुभव सँगालीसकेका आचार्यले विगत ४ वर्षअघि तीखे ढुंगा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषि गरिरहेका छन् ।


वडा नं ३३ स्थित सुरौदी खोला तिखे ढुंगामा पशुपालनसँगै व्यावसायिक रूपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् उनी । कृषिजन्य उत्पादनमा पनि नयाँ नयाँ प्रयोग गर्न रुचाउने आचार्यले यस अघि सो क्षेत्रमा खरबुजाको राम्रो उत्पादन गर्न सकिने कुरालाई प्रमाणित गरेर देखाएका छन् ।

अघिल्लो वर्ष १५ लैना भैँसी बेचेको जानकारी दिँदै आचार्यले अहिले पनि पशुवस्तु केही बिक्री गर्नुपरेमा समाजिक सञ्जालकै उपयोग गरिरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया