दसैंमा राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट दिने, डिजिटल पेमेन्टलाई प्रोत्साहन

समाधान संवाददाता २०८१ भदौ २१ गते १४:०५

पोखरा ।

Advertisement


नेपाल राष्ट्र बैंकले यसपालि दसैं र तिहारका लागि नयाँ नोट वितरण नगर्ने बताएपछि त्यसबारे विभिन्न तर्कवितर्क सुरु भएको छ । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डाक्टर भागवत् आचार्यका अनुसार यसपालि नयाँ नोटको सट्टा सुकिला नोट उपलब्ध गराउने निर्णय भएको छ । केन्द्रीय बैंकको निर्णयप्रति खास गरी सामाजिक सञ्जालमा कतिपयले असन्तुष्टि जनाएका छन् भने कतिपयले सकारात्मक कदम भनेका छन् । तर एक भूतपूर्व गभर्नरले राष्ट्र बैंकको पछिल्लो निर्णय ‘अग्रगामी’ भएको प्रतिक्रिया दिएका छन् ।

नयाँको सट्टा सुकिला किन ?

विगतमा केन्द्रीय बैंकले प्रमुख चाडबाडका बेला सर्वसाधारणलाई अर्बौँ रुपैयाँबराबरका नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको थियो । राष्ट्र बैंकस्थित अधिकारीहरूले विगतदेखि चल्दै आएको अभ्यासमा परिमार्जन गरिएको बताएका छन् ।
आचार्यका अनुसार आसन्न दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्नुका पछाडि मुख्यतया दुइटा कारण रहेका छन् ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन

Advertisement

केही वर्षयता सरकारले डिजिटल प्रविधिमार्फत् हुने आर्थिक कारोबारलाई क्रमिक रूपमा बढाउँदै लैजाने बताउँदै आएको छ ।
सरकारका नीति तथा कार्यक्रम एवं वार्षिक बजेटमा पनि त्यसमा जोड दिइँदै आएको छ । “डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पनि यो निर्णय लिइएको हो,’ नयाँ नोट नदिने एउटा कारणबारे सहायक सूचना अधिकारी आचार्यले भने ।

‘नेपालमा अहिले सानातिना नोटहरू कारोबारमा प्रयोग नभएर केवल फिर्ता दिनका लागि प्रयोग हुन थालेको भन्ने एउटा सर्वेक्षणको निष्कर्षका आधारमा पनि हामीले यसपालि नयाँ नोट नदिने निर्णय गरेको अवस्था हो,’ उनले अगाडि थपे। राष्ट्र बैंकका अधिकारीहरूका अनुसार पछिल्ला वर्षका तथ्याङ्कहरूले पनि डिजिटल प्रविधिमार्फत् देशमा हुने आर्थिक गतिविधि बढ्दै गएको देखाएका छन् ।

सुकिलो भनेको कस्तो ?

आचार्यका अनुसार छापिएर आएको तर बजारमा नगएको नोटलाई राष्ट्र बैंकले नयाँ नोट भन्ने गर्छ । तर सुकिला नोट भनेको बजारमा गएर प्रयोगमा पनि आइसकेको हुन्छ । ‘चलनचल्तीमा आइसकेका तर प्रयोगयोग्य नोटहरूलाई चाहिँ सुकिला नोट भन्ने गरिएको छ,’ उनले भने ।

प्रयोग गर्न योग्य नरहेपछि त्यस्ता नोटलाई संकलन गरी राष्ट्र बैंकले जलाएर नष्ट गर्ने गरेको छ । अधिकारीहरूका अनुसार राष्ट्र बैंकले काम नलाग्ने अर्बौँ रुपैयाँबराबरका नोटहरू बर्सेनि प्रचलनबाट खिच्ने गरेको छ । उनीहरूका अनुसार नेपाली नोटहरूको आयु सामान्यतया दुईथरीको हुन्छ ।


पाँच सय र एक हजार रुपैयाँका दरको नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि सय रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुन्छ ।

तपाईको प्रतिक्रिया