गरिब असाहय लक्षित कपडा बुथ

समाधान संवाददाता २०७६ साउन २७ गते १२:१८

समधान संवाददाता
पोखरा

गरिब, असाहय र सडक बालबालिकालाई लक्ष्य गरी लायन्स क्लब अफ पोखरा युनिक चौतारीले ‘पुनप्रयोग गर्न सकिने कपडा बुथ’ सञ्चालन गरेको छ ।

क्लवले पोखरा महानगर पालिका वडा नम्बर ८ को समन्वयमा स्थानीय सिर्जनाचोकमा आइतबारदेखि कपडा बुथको सुरुआत गरेको हो । लायन्स क्लव अफ इन्टरनेसनल ३२५ बी १का डिस्ट्रिक गभर्नर इन्दु लम्साल र पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले म्याग्दी ताकमका भीमबहादुर हर्मेल लगायत ९ जना बाढी पीडितलाई कपडा हस्तान्तरण गरी कपडा बुथ उद्घाटन गरे ।

Advertisement

डिस्ट्रिक गभर्नर लम्सालले गरिबीको कारण एकसरो लगाउन कठिन भएकाले बुथबाट सित्तैमा कपडा लैजान सक्ने बताइन् । उनले हरेकका घरमा रहेका आफूलाई साना– ठूला हुन सक्ने र उपहारमा आएका कपडा बुथमा ल्याएर बुझाउन सकिने उल्लेख गरिन् । ‘कपडा बुथ युवाहरुले नयाँ सोंच र जांगरका साथ ल्याएको नयाँ काम हो,’ उनले भनिन्, ‘सवै लायन्स क्लवहरुले सहयोग भए सटर भाडामा लिएर दिगो रुपमा सञ्चालन र व्यवस्थापन गर्न सकिन्छ ।’

पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष बरालले कपडा बुथलाई दिर्घकालिन रुपमा सञ्चालन र व्यवस्थापनमा ध्यान दिने बताए । लायन्स क्लबले मानवीय काम गरेको उल्लेख गर्दै वडा अध्यक्ष बरालले चाडबाडको समयमा कपडा किन्न नसक्नेहरु लाभान्वित हुन सक्ने औल्याए । उनले वडा कार्यलयले बुथको रेखदेख गर्ने बताए ।

Advertisement

लायन्स क्लब अफ पोखरा युनिक चौतारीका अध्यक्ष तथा कार्यक्रम संयोजक सञ्जय खड्काले गरिब तथा असाहयहरुको लागि लक्ष्य गरी कपडा बुथको अवधारणा ल्याएको बताए । उनले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत बुथलाई स्थायी रुपमा चलाउन जनाए ।

जोन चियर पर्सन सरु गिरीले बुथबाट कपडा आवश्यक भएको व्यक्तिले प्रयोगको लागि सित्तैमा लैजान सक्ने बताइन् । प्राकृतिक प्रकोप, बाढी पैरो लगायतका विपद्मा परेको वेलामा आवश्यकता अनुसार पीडितलाई राहात स्वरुप प्रदान गर्न सकिने जानकारी दिँदै उनले कपडा दिनेले नच्यातिएका र प्रयोगमा ल्याउन मिल्ने मात्र दिन पर्ने उल्लेख गरिन् । कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष एकराज गिरी, निवर्तमान अध्यक्ष रवीन्द्र तिमिल्सिना, क्लस्टर १७ का प्रमुख वसन्त गिरी लगायतले कपडा बुथको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया