‘बाँदर आतंक’ सार्वजनिक सुनुवाईको मुख्य गुनासो

समाधान संवाददाता २०७६ साउन २७ गते १२:२१

समाधान संवाददाता
वालिङ

स्थानीय सरकारको मूल्यांकन सतही रुपमा हुन नहुने आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताएका छन् । स्थानीय सरकार कुनै जादुको छडी नभएको बताउँदै विरोधमात्रै नगरी काम कति भएछ भनेर हेर्ने बानी विकास गर्न गाउँपालिकाबासीलाई सुझाव दिए ।

निर्माण अवधिभन्दा ४ महिना पहिले नै पुल निर्माण हुनु गाउँपालिकाको महत्वपूर्ण सफलता रहेको उनले बताए । आँधीखोला गाउँपालिकाले आयोजना गरेको आव ७५÷७६ अन्तर्गतको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा पौडेलले आँधीखोलाको धेरै काम उदाहरणीय भएको बताए ।

Advertisement

युवालाई आधुनिक एवं व्यावसायिक कृषितर्फ आकर्षण गर्न जिल्लाभित्रको २ वटा स्थानीय तहले प्रादेशिक राजधानी पोखरामा कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको पौडेलले बताए ।

कृिष उत्पादनसँग पालिकाबासीलाई जोडिन आग्रह गर्दै उनले भने, ‘प्राविधिक सहयोग के चाहियो हामी दिन्छौँ , उत्पादन गर्नुहोस्, बजारको चिन्ता हामी लिन्छौँ ।’

Advertisement

उनले विकास अहिले भर्खर परिणाममा नभई नतिजा सुधारोन्मुख छ कि छैन भनेर जनताले विश्लेषण गर्नुपर्ने बताए । उनले भने,‘ अब ३ वर्षभित्र आँधीखोला नमुना बन्नेछ ।’

न्यायिक समितिमा पनि आव ७५÷७६ मा २३ मध्ये २० मुद्दा मेलमिलापबाट समाधान गरिएको उपाध्यक्ष शर्मिला पौडेलले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल भुषालले आँधीखोला गाउँपालिकाले सूचनाको हक प्रदान गर्दै जनता र स्थानीय सरकारबीच दोहोरो संवाद हुने सार्वजनिक सुनुवाइले पारदर्शिता झल्काएको उल्लेख गरे ।

कार्यक्रममा सहभागी अधिकाशंले बाँदर आतंकले आफूहरु विस्तापित हुनु परेको गुनासो सुनाए । पशु अधिकार र मानव अधिकारको विषय गम्भीर भएको बताउँदै अध्यक्ष सुधीरकुमार पौडेलले भने, ‘हामीले बाँदर समस्या निराकरण गर्ने विधि खोजिरहेका छौं, किसानहरु टिमुर, कागती जस्ता बाँदरले क्षति नपुर्‍याउने वैकल्पिक खेतीतर्फ आकर्षित हुन पनि सकिन्छ ।’

गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला पौडेलले स्वागत गरिन् । गोल्डेन ब्रोडकास्टिङ मिडियाले संयोजन सार्वजनिक सुनुवाई सुशील सुवेदीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया