पुलचाेकमा कमलाघाट शवदहन गृह

समाधान संवाददाता २०७६ साउन २७ गते १२:३५

राजन उपाध्याय
दुलेगौंडा

दाह संस्कारका बेला घामपानीको समस्या भोगिरहेका सेतीवारिका बासिन्दालाई सहज हुने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ पुलचोकस्थित सेती नदिको किनारमा कमलाघाट शवदहन गृह निर्माण भएको छ ।

वडा र स्थानीयको सहलगानीमा शवदहन गृह निर्माण गरिएको कमलाघाट निर्माण समिति अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए । वडाको २५ लाख र स्थानीयको २५ लाख गरी ५० लाख लगानी भएको छ । यस क्षेत्रका ८ सय दाताबाट ३५ लाख रुपैया संकलन भएको उनले जानकारी दिए । भुक्तानीबाट बचत रकम कोषमा राखिनेछ ।

Advertisement

वडा नं. ४ का अध्यक्ष शिवकुमार श्रेष्ठले स्थानीयसँग सहकार्य गरी निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे । ‘अन्तिम संस्कारका क्रममा कहिले पानी त कहिले घामले सताउने गरेकाले वडाले पनि प्राथमिकतामा राखेको हो,’ वडाध्यक्ष श्रेष्ठले थपे, ‘अब जुनसुकै समयमा पनि ढुक्क तरिकाले दाहसंस्कार गर्न सकिन्छ ।’ शवदहन गृहबाट दुलेगौंडा, वनकेवा, बेलचौतारा लगायत क्षेत्रका समुदायलाई सहज हुनेछ ।

शवदहन गृहमा एकै पटक २ वटा शवदहन गर्न मिल्ने गरी फलामका खाटसहितको ट्रस्ट, करिब १ सय जना अट्ने ट्रस्ट, दाउरा राख्ने स्टोर, पानी ट्यांकी, शौचालय, सेफ्टी टंकी, फोहोर निकासका लागि नाला लगायत निर्माण गरिएको छ । चिताबाट नदीसम्म शव लिएर जाने ढलान बाटो, भल जाने नाली, खरानी बग्ने नाली, प्रवेशद्वार र कम्पाउन्ड तयार गरिएको छ । ‘नदी कटान रोक्नका लागि जाली भर्ने, मैदान ढलान र फोहोर जलाउने ठाउँ निर्माण जारी छ,’ समिति अध्यक्ष लामिछानेले भने, ‘तारजाली लगाई नदी कटान नरोक्ने हो भने पछि समस्या आउन सक्छ ।’

Advertisement

उनले भविष्यमा विद्युतीय शवदहन गृह र किरियापुत्री भवन निर्माण गर्ने लक्ष्यसुनाए । ‘हिजोआज सहरी क्षेत्रमा किरियापुत्री बस्ने ठाउँसमेत अभाव हुन थालिसकेको छ,’ उनले भने । वरपर वृक्षारोपण गरी हरियाली कायम गर्ने, बगैचा निर्माण, दाउरा व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण र हेरालोको समेत व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

समितिका अध्यक्ष लामिछानेले स्थानीयकै सहयोगमा शवदहन गृह निर्माण भएकोमा आभार व्यक्त गरे । ‘यो सबै समुदायका लागि खुला छ, सक्नेले केही पैसा दान गर्न सक्छन । नसक्नेले निशुल्क रुपमा शवदहन गर्न सक्ने छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया