वडा कार्यालय चोरी प्रकरणः जिउडाल हेरेर चोर पक्राउ

समाधान संवाददाता २०७६ साउन २८ गते १२:३१

सुरेशराज अधिकारी
पोखरा

कुन मितिमा कुन वडा चोरियो
२०७५ जेठ ३ गते वडा १२
२०७५ माघ ९ गते वडा ५
२०७५ फागुन २३ गते वडा १३
२०७५ पुस १ वडा १४
२०७५ चैत १० गते वडा १६
२०७५ पुस १६ गते वडा २९
२०७६ असार १३ गते वडा २५
२०७६ जेठ ६ गते वडा ३१
२०७६ साउन २० गते वडा ६

पोखरा महानगरपालिकाका वडा कार्यालयमा चोरी गरेको आरोपमा १ जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको छ । वडा कार्यालयमा शृंखलाबद्ध चोरी भएको १ वर्षपछि प्रहरीले ईश्वर थापालाई पक्राउ गरेको हो । ०७५ जेठ ३ गते वडा नम्बर १२ को कार्यालय फोरेर चोरी आंतक मच्चाएका थिए । उनले पछिल्लोसमय साउन २० गते वडा नम्बर ६ को कार्यालयमा चोरी गरेको प्रहरीले जनाएको छ । त्यसबीचमा मात्रै ९ वटा वडा कार्यालयमा ल्यापटप, कम्प्युटर, सिपियु लगायत विद्युतीय उपकरण थापाले चोरी गरेको प्रहरीको भनाइ छ ।

Advertisement

कसरी पक्राउ परे थापा ?
चोर पक्राउ पर्न नसके पनि सबै वडा कार्यालयमा भएको चोरीको प्रकृति हेर्दा एउटै समूह भएको जिल्ला प्रहरी कार्यालय कास्कीको आंकलन थियो । सिसी क्यामेरामा कैद भएको भिडियो फुटेजको आधारमा प्रहरीले यकीन गरेको थियो कि चोर एउटै हो । अन्नतः थापालाई पक्राउ गर्न प्रहरी टोलीले भिडियोलाई नै आधार बनायो ।

थापाको जिउडालको आधारमा सहिद चोकबाट प्रहरीले उनलाई केरकार सुरु गरेको स्रोत बताउँछ । आइतबार दिउँसो सहिद चोकमा मोबाइल चलाइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो ।

Advertisement

प्रहरीले नियन्त्रणमा लिएका थापाको प्रारम्भिक बयान लिइसकिएको स्रोतले बताएको छ । उनले आफू काठमाडौं महानगरपालिका ११ निवासी रहेको प्रहरीलाई बताएका छन् । पोखरा नयाँबजार बस्दै आएका थापाको कोठामा समेत प्रहरीले छापा मारेको छ । कोठामा चोरी गर्न प्रयोग हुने छड, ताला काट्ने धारिलो वस्तु लगायत सामग्री फेला परेका छन् । तर वडा कार्यालयबाट चोरी भएका विद्युतीय उपकरण भने कोठामा फेला परेका छैनन् । प्रहरी स्रोतका अनुसार चोरी गरेको सामग्री आफूले पोखरामा बेच्ने नगरेको थापाले बयानका क्रममा बताएका छन् ।

उनले यसअघि डाँकाचोरी मुद्दामा ६ वर्ष जेल सजाय भोगिसकेको खुलेको छ । ३ वा ३ भन्दा बढी मिलेर चोरीमा संलग्न कार्यलाई डाँकाचोरी भनिने प्रहरी अधिकारी बताउँछन् । प्राप्त विवरण अनुसार पोखराका ९ वटा वडामा चोरी भएको पाइए पनि थापाले १४ वटा वडामा आफूले चोरी गरेको स्वीकार गरेका छन् । उनले आफू एक्लै चोरी गर्दै हिँडेको समेत प्रहरी सामु बताएको स्रोतले जनायो ।

उनी एक्लै हुन् वा अन्य पनि संलग्न छन् भन्नेबारे वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको छ । घटनाबारे अन्तिम टुंगो लागेपछि सार्वजनिक गरिने बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले बताए । हजारौं नागरिकका व्यक्तिगत विवरण रहेका वडा कार्यालयकै ल्यापटप, कम्प्युटर चोरी हुँदै आएपछि महानगरकै समग्र सेवा प्रवाहमा समस्या हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया