‘यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएनः ज्ञानेन्द्र मल्ल

समाधान संवाददाता २०७६ भदौ ३ गते १४:०५

कृष्ण न्यौपाने
दमौली

‘क्रिकेट खेल्न सुरु गर्दा ब्याट हुँदैनथ्यो, बल हुँदैनथ्यो, हुँदा हुँदा स्पोर्टस् सुज त कल्पना पनि गर्न सकिन्थेन,’ व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव बाँड्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘मैले क्रिकेट खेल्न सुरु गर्दा मैले प्वाल परेको गोल्ड स्टार जुत्ता लगाएर खेल्थेँ ।’

क्रिकेटका लागि छुट्टै ड्रेस चाहिने र धेरै अन्य सामग्री आवश्यक पर्ने कारण खर्चिलो भएकाले त्यो समयमा सबै व्यवस्था गर्न आफूलाई कठिन हुने गरेको मल्लले स्मरण गरे ।

Advertisement

सानैदेखि क्रिकेट एकदमै मन पर्ने भएकाले क्रिकेट खेल्दा खेल्दै आज यो अवस्थामा आइपुगेको मल्लले बताए । ‘जतिबेला मैले क्रिकेट खेल्न सुरु गरेँ, मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन,’ उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पर्ने, क्रिकेट खेल्दाखेल्दै आज यो अवस्थामा आइपुगेको छु ।’ व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए । ‘जो व्यक्तिले परिश्रम गर्छ त्यो व्यक्ति सधैँ सफल हुनेमा कुनै द्विविधा छैन,’ उनले भने, ‘तर मैले क्रिकेटका लागि धेरै मिहिनेत गरे जस्तो लाग्दैन, किनकि क्रिकेट मेरा लागि प्यासन थियो ।’

‘मैले यति धेरै मिहिनेत गरँे भन्ने मलाई अनुभव नै भएको छैन,’ उनले भने, ‘मेरो रुचि नै क्रिकेट खेल्नु थियो, क्रिकेट खेल्न मैले जे गर्न सक्थँे, त्यही गरेँ भन्ने लाग्छ, तर सफलता पाउन चाहिँ मिहिनेत गर्नैपर्छ ।’

Advertisement

नेपाली क्रिकेट टिमको सबल पक्षबारे सहभागीले सोधेका प्रश्नको उत्तर दिँदै उपकप्तान मल्लले एकता नै क्रिकेट टिमको सबल पक्ष रहेको बताए । राष्ट्रिय टिमको कप्तान हुन मन लाग्दैन ? भन्ने अर्का सहभागीको प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने, ‘मलाई त्यस्तो भावना कहिल्यै पनि आएन, सधैं एउटाले मात्रै पद लिएर बस्ने होइन, बरु अरुलाई पनि त्यो स्थानसम्म पु¥याउन पाए मलाई खुसी लाग्छ ।’

सोही कार्यक्रममा राष्ट्रिय महिला धावक एवं पूर्व लडाकु मीरा राईले आफ्नो अनुभव सुनाएकी थिइन् । गरिब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत् नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लागेको सुनाइन् ।

परिषद्का ४० सदस्य सहभागी अभिमुखीकरणमा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समिति अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ लगायतले अनुभव आदानप्रदान गरेका थिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताए ।

तपाईको प्रतिक्रिया