इतिहास जोगाउन गोरखामा म्याराथन

समाधान संवाददाता २०७६ भदौ ३ गते १४:१३

मोहसिन अलि मियाँ
गोरखा

पर्यटन प्रवद्र्धन र इतिहास संरक्षणका लागि लिगलिगकोटदेखि सिरानचोक हुँदै गोरखा दरबारसम्म म्याराथन हुने भएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र रणसिंह दल गणको संयुक्त आयोजनामा ३८ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता गर्न लागेको हो । जिल्लाको ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘गोरखाले देशभरि कै इतिहास बोकेको छ, तर जति प्रचार हुनुपर्ने हो, हुन सकेको छैन, पर्यटक बढ्न सकेका छैनन्’ आयोजक मध्ये १ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘इतिहासको रक्षा र प्रचारप्रसार प्रतियोगिताको मुख्य उद्देश्य हो ।’

भदौ २५ गते आयोजना गरिने प्रतियोगिता पालुङटारको लिगलिगकोटबाट सुरु भई सिरानचोककोट, छोप्राक, गोरखा नगरपालिकाको पस्लाङ चौतारा हुँदै गोरखा दरबारमा पुगी अन्त्य हुने बताइएको छ । खेलकुदमार्फत एकीकरणको उद्गम थलोलाई प्रचार गर्नुका साथै धार्मिक स्थलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले बताए । ‘गोरखाको गौरवका रुपमा रहेको एकीकरण अभियानलाई खेलकुदमार्फत जीवन्त राख्ने पहिलो प्रयास हो’ उनले भने, ‘सबैले इतिहास भुल्दै गए, अब हामीले पनि संरक्षण गर्ने पहल गरेनौ भने इतिहास मेटिन सक्छ, मर्न सक्छ ।’

Advertisement

करिब १० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा ३ पालिकाले ३÷३ लाख र रणसिंह दल गणले १ लाख साझेदारी गरेका छन् । ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ नारा दिइएको उक्त प्रतियोगिता नेपाल प्रमण वर्ष २०२० को स्वागतका लागि समेत भएको आयोजकले जनाएको छ । ‘अर्को वर्षलाई भिजिट नेपाल घोषणा गरिएको छ’ सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भने, ‘त्यसलाई सफल बनाउने र गोरखामा अधिक पर्यटक भित्र्याउन पनि प्रतियोगिताले सहयोग गर्छ भनेर यस वर्षदेखि नै हामीले कार्यक्रम सुरुआत गरेका हौं ।’ इतिहासको प्रतीकका रुपमा रहेका गढी, किल्ला, दरबार, कोट लगायत धार्मिक स्थलको संरक्षण र प्रवद्र्धन गरी म्याराथनका माध्यमबाट देशविदेशमा प्रचार गर्ने गरी प्रतियोगिता थालनी गरिएको बताइएको छ । प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने ३ पालिकाको तयारी छ ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले भदौ १ देखि २३ गतेसम्म दरखास्त दिन सक्ने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने रणसिंह दल गणका गणपति उज्ज्वल केसीले बताए । सहभागीमध्ये उत्कृष्ट १० जनालाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकको तयारी छ । दोस्रोलाई नगद १ लाख, तेस्रोेलाई ७५ हजार, चौथोले ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै पाँचौदेखि दशौंसम्मलाई क्रमश ३५, ३०, २५, २०, १५ र १० हजार प्रदान गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया