नेपाल औषधी व्यवसायी संघका पदाधिकारी एवं सदस्यहरुकाे पदस्थापन

समाधान संवाददाता २०७६ भदौ ५ गते १२:१५

समाधान संवाददाता, पोखरा

नेपाल औषधी व्यवसायी संघ जिल्ला कार्य समितिको साउन ३२ गते सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुको पदस्थापन भएको छ । निर्वाचितलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुरेन्द्र थापामगरले पदस्थापन गराएका हुन् ।

समिति अध्यक्ष विक्रम पन्त, उपाध्यक्ष धिरज गौतम, महासचिव पूर्णबहादुर बस्नेत कोषाध्यक्ष मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी, र उप–कोषाध्यक्ष विक्रमराज पहारी र सदस्यमा सुमन तिवारी, आशा आले रानामगर, दुर्गाप्रसाद अधिकारीलाई अधिवक्ता थापाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

Advertisement

सपथ ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष विक्रम पन्तले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अग्रजको सल्लाह सुझाव र अनुभवका आधारमा पूरा गर्ने बताए । औषधी व्यवसाय संवेदनशील व्यवसाय भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । कास्कीमा ५ सयभन्दा बढी औषधी व्यवसायी रहेकोमा संघमा जम्मा ३ सय १२ जना आवद्ध रहेको उनको भनाइ थियो ।

अध्यक्ष पदका प्रत्यासी उम्मेदवार सञ्जीव देवकोटा क्षेत्रीले निर्वाचित अध्यक्षलाई बधाइ दिँदै कार्यकालमा सबै व्यवसायीलाई समेटेर अघि बढ्न सुझाव दिए । औषधी व्यवसायी संघ गण्डकी अञ्चल अध्यक्ष रामबहादुर केसीले प्रादेशिक संरचना अनुसार संघ अघि बढेको भन्दै नयाँ कार्यसमितिले आफ्नो क्षेत्रका व्यवसायीका समस्यामा ध्यान दिएर अघि बढ्न आग्रह गरे ।

Advertisement

संघका केन्द्रीय सचिव यमनाथ पौडेलले औषधी राज्यको नीति व्यवसायमैत्री नभएको भन्दै सरोकारवालाबीच छलफल जरुरी रहेको बताए । नवनिर्वाचित कार्यसमितिलाई व्यावसायिक हकहितको पक्षमा ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा निर्वाचन अधिकृत हेमराज बराल, कृष्ण श्रेष्ठ र पत्रकार भरत कोइरालाले औषधी व्यवसायीहरु व्यावसायिक हितसँगै सामाजिक उत्तरदायित्व बहन गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया