राष्ट्रपतिलाई आत्रेय गोत्रीय पौडेल कुल पूजा व्यवस्थापना समितिको सम्मान

समाधान संवाददाता २०८१ कार्तिक १२ गते ५:२८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र र संविधानको संरक्षण गर्न मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लागिरहने बताउनुभएको छ ।    
    
राष्ट्रपतिभवन शीतल निवासमा आत्रेय गोत्रीय पौडेल कुल पूजा व्यवस्थापना समितिले आइतबार गरेको अभिनन्दन कार्यक्रममा उहाँले आफूले पदभन्दा निष्ठा, आदर्श र नैतिकतालाई सधैँ ठूलो मानेकाले राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “मलाई पदभन्दा पनि ठूलो निष्ठा आदर्श र नैतिकता लाग्छ । लामो राजनीतिक जीवनकालमा कुलको इज्जत जोगाएर राखेको छु । खोट लगाउने कुनै काम गरेको छैन र गर्ने पनि छैन ।”    
    
उहाँले लोकतन्त्र र संविधानको संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन र राष्ट्रहितमा सधैँ काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मलाई मुलुकले दिएको अभिभावकीय जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नेछैन । जीवनभर निष्ठा, आदर्श र नैतिकता जोगाएर कुलको मात्र नभई नेपालीकै इज्जत राख्नेछु”, राष्ट्रपति पौडेलको भनाइ थियो ।    
    
राष्ट्रपति पौडेललाई कुल वंशीय जेष्ठ सदस्य पुन्यप्रसाद पौडेलले अभिनन्दन पत्र अर्पण गर्नुभएको थियो । समारोहमा संयोजक साहित्यकार मुकुन्द पौडेलले कुलवंशको परम्पराबारे प्रकाश पार्दै आमन्त्रित सबैमा स्वागत गर्नुभएको थियो । कवि तथा कलाकार रमेश पौडेलले राष्ट्रपति पौडेलले आस्था र निष्ठाको आदर्शमार्गबाटै कुलदीपकको ज्योति छरेको बताउनुभयो ।    
    
अभिनन्दन तथा सम्मान समारोहमा तनहुँ, चितवन र काठमाडौँका आत्रेय गोत्रीयलगाय क्षेत्र बन्धुहरूको सहभागिता रहेको थियो ।    
—  

Advertisement

तपाईको प्रतिक्रिया