पोखराका पर्यटन व्यवसायीको माग : रागमार्ग चाँडै बनाऊ, एअरपोर्ट चलाऊ

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नतिलाई तीव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघले शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित कार्यक्रममा यस्तो माग राखेको हो ।
हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटी महत्वपूर्ण हुने भएकाले यी काम चाँडो सक्ने व्यवसायीहरुले ध्यानाकर्षण गराए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग राखे ।
ज्ञापनपत्रमा होटललाई उद्योगसरह मान्यता दिई सोही अनुसारको व्यवहार गर्नुपर्ने, कृषि र ऊर्जा जस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपर्ने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न सहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने विषय समेटिएका छन् ।
रात्रिकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गरिनुपर्ने, यसका लागि अनुगमनलाई प्रभावकारी पारिनुपर्ने र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकासभन्दा पनि प्रबद्र्धनका काममा जोड दिनुपर्ने सुझाव दिइएको छ । वातावरणीय अध्ययन (बिइएस, आइइई र इआइए)का कारणले पर्यटन कार्यालय एवं विभागबाट नवीकरण हुन नसकेका साना तथा मझौला होटल उद्योगलाई सहज रुपमा नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमति नविकरण गरिनुपर्ने र २०७२ अघि निर्माण भएका साना तथा मझौला होटल उद्योगहरुले गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकनलाई खारेज गरिनुपर्ने माग पनि समेटिएका छन् ।
संघका अध्यक्ष सुवेदीले पर्यटन क्षेत्रले फड्को मार्ने अपेक्षासहित यस क्षेत्रमा ठूलो लगानी गरिएको भए पनि कोभिडका कारण व्यवसाय थला पर्दा सरकारले प्रभावकारी रुपमा अभिभावकत्व दिन नसकेको गुनासो गरे । नेपाल पर्यटन बोर्ड आन्तरिक विवाद र झगडामा पर्दा विगतमा प्रबद्र्धनका काम हुन नसकेको स्मरण गराउँदै उनले आगामी दिनमा आन्तरिक र बाह्य प्रबद्र्धनका काममा बोर्डले उचित बजेट छुट्याउनुपर्ने माग राखे ।
२५ बेडभन्दा माथिका होटललाई वातावरणीय अध्ययनको वाध्यकारी व्यवस्था लागू गर्न नहुने उनको जोड छ । कार्यक्रममा मन्त्री पाण्डेले सरकारले विभिन्न सहुलियत दिंदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण जहाज उडानबारे प्राविधिक कारण हो वा अन्य त्यो मन्त्रालयले प्राविधिक टोलीसँग बुझ्ने बताए । सोही अवसरमा उनले होटल सञ्चालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी थालेको जानकारी दिए ।
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पोखराबाट अन्तर्राट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नति तथा कोरला नाकाको सहज र नियमित सञ्चालनको विषय उठाए ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आउँदा र यस्तो अवस्थामा पोखराको नयाँ विमानस्थल सदुपयोग नगरिंदा सरकारले विकल्प नखोजेको र यतातर्फ ध्यान नदिएको संदेश गएको बताए । होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र राजमार्गको स्तरोन्नति कार्य धेरै महत्वपूर्ण विषय भएको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने भनाइ राखे ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र गरिबी निवारण हुन सक्ने, खेल पर्यटनमा जोड दिनुपर्ने र यस क्षेत्रमा एउटा पर्यटन एवं शान्ति संगीत महोत्सव गरिनुपर्ने सुझाव राखे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिं ऐर, टान गण्डकी निवर्तमान अध्यक्ष धर्मराज पन्थी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, ओटेफ अध्यक्ष उमा भण्डारी, ना अध्यक्ष अनिल केसी, पत्रकार यदुनाथ बञ्जरा, व्यवसायी प्रतीकराज पहारी, मुद्रा सटही व्यवसायी संगठन पोखरा अध्यक्ष रुपकराज मिश्र, होटल संघ पोखरा नेपालका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीले बोलेका थिए ।
तपाईको प्रतिक्रिया