राजाको आशीर्वाद लिन मुखियाहरू लोमान्थाङमा

समाधान संवाददाता २०७६ भदौ १८ गते १६:५२

गत वर्षको याार्तुङमा स्थानीय भेषभूषामा घोडा कुदाउँदै प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट । तस्बिरः समाधान

एसके थकाली
जोमसोम

उपल्लो मुस्ताङको लोमान्थाङमा बुधबारदेखि यार्तुङ पर्व हँुदै छ । लोमान्थाङमा यसको पूर्व तयारी धूमधामका साथ भएको छ । हिमाली समुदायको महत्वपूर्ण पर्व हो याार्तुङ । पर्वको पहिलो दिन बिहानै मुस्ताङी राजा जिग्गे पलवर विष्टको लोमान्थाङ दरबारमा लोछेदिनका २ दर्जन गाउँका मुखिया भेला भएर आशीर्वाद लिने चलन छ ।

Advertisement

यसका लागि सबै गाउँका मुखिया लोमान्थाङ आइसकेका छन् । गाउँ मुखियाहरुले राजासँग भेट गर्दा खादा लगाएर यार्तुङ पर्वको सुभकामना पनि साट्ने चलन छ । यसरी दरबारमा आएका मुखियालाई राजाले रोगव्याधि नलाओस्, अनिष्ठ नहोस्, अन्नवाली राम्रो होस्, व्यापार व्यवसाय राम्रो होस भनी आर्शीवाद दिन्छन् । राजाले मुखियाहरुलाई आशीर्वाद दिएपछि यार्तुङ औपचारिक रुपमा सुरु हुन्छ ।

लोमान्थाङमा मनाइने यार्तुङको ऐतिहासिक पृष्ठभूमी पनि अरु ठाउँमा हुने यार्तुङको जस्तै हो । बर्खायाममा खेतीपातीको काम सकेर फुर्सदिलो महिनामा यार्तुङ मनाउने चलन छ । पर्वले हिउदँ आउँदै छ भन्ने संकेत पनि गर्छ । अबको २ महिनामा लोछोदिन समुदायका अधिकांश स्थानीय जाडो छल्न बेसी झर्छन् । बेसी झर्दा सबैको बसाई राम्रो होस् भनेर पनि राजाले आर्शीवाद दिने चलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए । बेसी झर्नुअघि ३ दिनसम्म यार्तुङ मनाइन्छ । यारको अर्थ बर्खा र तुङको अर्थ हिउँद आगमन भन्ने बुझिन्छ ।

Advertisement

यार्तुङमा ३ दिनसम्म घोडा दौडाउने चलन छ । पहिलो दिन गाउँका ज्येष्ठ नागरिकले विस्तारै घोडा चढेर घोडा कुदाउने रोमाञ्चक र साहिसक खेल प्रर्दशन गरिने अध्यक्ष विष्टले उल्लेख गरे । पहिलो दिन लोछोदिन समुदायका पुरुषले, दोस्रो दिन महिला र तेस्रो दिन गुम्बाका लामाहरुले घोडा कुदाउँछन् । घोडा दौड गर्दा राखिएको वस्तु फुटाउने व्यक्तिलाई गाउको ईज्जत र प्रतिष्ठा बचाइदिएको प्रतीकको रुपमा लिने गरेको अध्यक्ष विष्टले बताए ।

लोमान्थाङ गाउँका स्थानी ४ समूहमा विभाजित भएर आपसमा रमाइलो गर्छन् । गीत गाउने, नाच्ने र सांस्कृतिक स्याब्रो नाच पनि देखाउने गर्छन् । स्थानीय भेषभूषामा सजिएर लोमान्थाङ र लोछोदिन समुदायले यस पर्वमा सांस्कृतिक कर्म र परम्परा संरक्षण गर्दै पर्वलाई निरन्तरता दिएका छन् ।

तपाईको प्रतिक्रिया