मनकामना कपः बलियो पुलिसलाई जापानको रुसेले पाखा लगायो

समाधान संवाददाता २०७५ माघ २३ गते ९:११


पोखरा रंगशालाबाट जारी मनाकामना कपमा रुसे विश्वविद्यालयको जापानीज टोली सेमिफाइनल प्रवेश गरेको छ ।

मनकामना कपमा पहिलोपटक सहभागी भएको टोलीले १–० ले पुलिसलाई हराएको हो । १९ मिनेटमा जापानी खेलाडी नात्सुकी ताकेदाले दिएको बललाई यासुताका सुजुकीले पेलेन्टी यरियाबाट प्रहार गर्दा गोल भएको हो ।

दोस्रो हाफमा पुलिसले केही सुधारिएको खेल देखायो । तर पुलिसको तर्फबाट भने कुनै पनि गोल हुन सकेन । नात्सुकी ताकेदा म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफी र ५ हजार रुपैयाँ पाएका छन् ।

Advertisement

६९ं मिनेटमा भारत शाहले हानेको बललाई जापानीज गोलकिपरले बचाउ गरे । हरि कठायतले हानेको बल रिवाउन्ड भएपछि शाहले प्रहार गरेको बल जापानीज गोलकिपरले बचाएका हुन् । पहिलो हाफअघि नै ताकुया हिल्तोमीले डिफेन्सलाई बिट गर्दै हानेको बल बचाउ हुँदै कर्नरको अवसर मिल्यो ।

खेलको १० औं मिनेटमा नै हाइरोमुले डि बक्सभित्रबाट प्रहार गरेको बल नेपाल पुलिसका गोलकिपरले पन्चमार्फत गोल हुनबाट जोगाए ।

Advertisement

खेलको ३८ औं मिनेटमा दाइची ओगावाले हानेको हेडिङलाई पुलिसका विक्रम धिमालले गोललाइनबाट गोल हुनबाट जोगाएका थिए । खेलको ७५ औं मिनेटमा पुलिसले भारत शाहले प्रहार गरेको बल गोल हुनबाट रोक्यो ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले जापानीज नयाँ खेलाडीसँग खेल खेलेको बताए । उनले नयाँ खेलाडीसँग खेल्दा सिक्ने अवसर पाएको उल्लेख गरे । हाफ पछिको खेलमा केही सुधार ल्याएको तर २ राम्रा अवसर प्रयोग गर्न नसकेको स्वीकारे ।

जापानीज प्रशिक्षक टाकेस तोकाईरिनले खेलाडीको थकान पूरै नमेटिकाएकाले राम्रो खेल प्रदर्शन गर्न नसकेको तर्क गरे । सेमिफाइनलमा खेल अहिलेको भन्दा सुधारिने उनले प्रतिवद्धता गरे ।

कास्की जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा बुधबारको क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी र ब्रिग्रेड ब्वाइज क्लबबीच हुनेछ । ब्रिगेड ब्वाइज आयोजक पोखरालाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । मनाङ मस्र्याङ्दीले भने सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

तपाईको प्रतिक्रिया