विद्यार्थी आकर्षित गर्न बस खरिद

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:४१

समाधान

बन्दीपुर गाउँपालिका १ पिप्लेस्थित पवित्रा उच्च माध्यमिक विद्यालयले विद्यार्थी आकर्षण गर्ने उद्देश्यले बस खरिद गरेको छ । निजी विद्यालयले बस सेवा सञ्चालन गरेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्न थालेपछि विद्यालयले विद्यार्थी टिकाउन र विद्यालयमा आकर्षण बढाउन बस खरिद गरेको हो ।

बस खरिदका लागि गाउँपालिकालेसमेत आर्थिक सहयोग गरेको छ । २८ लाखको लागतमा खरिद गरिएको बसका लागि गाउँपालिकाले ६० प्रतिशत र विद्यालयले ४० प्रतिशत आर्थिक लाभ व्यहोरेको विद्यालयका अध्यक्ष हेमराज लामिछाने (क्षितिज) ले जानकारी दिए । उनले भने, ‘निजी विद्यालयले मात्रै बस सञ्चालन गर्न सक्छन् भन्ने जुन भ्रम रहेको छ त्यसलाई चिर्नका लागि पनि बस सेवा सुरु गर्न लागेका हौं ।’ उनका अनुसार सामुदायिक विद्यालयमा सरकारको करोडाैं लगानी रहेकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गराउन सबैको पहल आवश्यक रहेको बताए ।

Advertisement

विद्यालयमा अध्ययनरत टाढा टाढाका विद्यार्थीको सुविधा र साना–साना विद्यार्थीको सुरक्षाका लागि बस सेवा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार विद्यालयमा व्यास नगरपालिका १२ छिर्कने, आँबुखैरेनीको सत्रसयबाटसमेत विद्यार्थी अध्ययनको लागि आउने गरेका छन् । ‘बस सेवा सञ्चालन भएपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने अनुमान गरेका छौं,’ उनले भने । लामिछानेले चैतबाटै बस सेवा सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार बस सेवा प्रयोगका लागि विद्यार्थीबाट न्यून शुल्क मात्रै लिइनेछ । अभिभावकसँगको सल्लाह र सुझावको आधारमा बस शुल्क निर्धारण गरिने भन्दै उनले तेल खर्च, चालकका लागि तलब र मर्मत खर्चका लागि मात्रै केही रकम लिइने जानकारी दिए । उक्त बस आइतबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले विद्यालयलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा थापाले बस सेवा सञ्चालनसँगै विद्यार्थीलाई सहज हुने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया