कुश्मामा पानी संकलन ट्यांकी बन्दै

समाधान संवाददाता २०७६ वैशाख ३० गते १२:५६

समाधान संवाददाता, पर्वत

कुश्मा नगरपालिका २ खुर्कोटमा खानेपानीको सहजपहुँच पुर्‍याउन ट्यांकी निर्माण थालेको छ । १ लाख लिटर क्षमताको खानेपानी संकलन गर्ने ट्यांकी शिलन्यान्स गर्दै नगर उपप्रमुख सीता काफ्ले लामिछानेले १ घर १ धाराको नीति कार्यान्वयन कै चरणमा रहेको बताइन् ।

खुर्कोटका साविक वडा नम्बर ६ काखहरेस्वाँरा, कौसीनी, ढाँड, बाटुलेस्वाँरा, मेजरथर लगायतका ८० घरपरिवारलाई सहज हुने खानेपानी योजनाको ट्यांकी निर्माण सुरु भएको हो ।

Advertisement

कुश्मा नगरपालिकाको करिब ४ लाख अनुदानमा खानेपानी सहज बनाउन पानी संकलन पश्चात वितरण गर्ने योजना भएको उपभोक्ता समितिले जनाएको छ ।

नगर उपप्रमुख काफ्लेले विकासका काममा अवको समय खर्चेने बताइन् । उनले कुश्मा नगरपालिकाले खानेपानीको पहुँच विस्तार कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिइन् । उनले भनिन्, ‘अब नगरबासीले खानेपानी भएन, समस्या भयो, पानी लिन जान घण्टौं समय लाग्यो भन्ने गुनासाहरु समाप्त भयो ।’

Advertisement

ट्यांकी निर्माण निशुल्क जग्गा उपभोक्ता समितिलाई प्राप्त भए पछि काम अगाडि बढेको हो । स्थानीय समाजसेवी कृष्णप्रसाद पोख्रेलले ५ रोपनी जग्गा दान गरेका हुन् । ट्यांकी शिलन्यासमा कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत हरि पंगेनीले नगरपालिकाले जनतालाई प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका कार्य बजेट अभावमा नरोकीने बताए । वडाध्यक्ष यादुनाथ बास्तोलाले निर्माण कार्यको अवलोकनमा आफूले नछोड्ने बताउँदै गुणस्तरमा ध्यान दिन निर्माणपक्षलाई अनुरोध गरे ।

मूल्से छहरा भट्टे खाल्टा खहरे खोला खानेपानी उपभोक्ता समितिमाफर्त ट्यांकी निमार्ण थालिएको छ । उपभोक्ता समितिका अध्यक्ष नेत्रनारायण उपाध्यायको अध्यक्षतामा भएको सभामा स्थानीय माधव रेग्मी, गुप्तनिधि शर्मा, जग्गादाता कृष्णप्रसाद पोखे्रल, देवीराज रेग्मी र समितिका कोषाध्यक्ष भीमनिधि रेग्मीलगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया