सरकारी जग्गामा गिद्दे नजर

सार्वजनिक जग्गा अतिक्रमणको विषयले अहिले आमसञ्चार माध्यममा गतिलै ठाउँ पाएको छ । राष्ट्रिय नीति निर्माणमै प्रभाव पार्नसक्ने मिडियाले यसरी लगातार एउटै विषयलाई फलोअप गर्नु सकारात्मक पनि हो ।
यसले सरकारी जग्गा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछ । कहिले बालुवाटारको त कहिले खुलामञ्चको जग्गाले ठाउँ पाएका छन् । त्यति मात्र कहाँ हो र ? संघीय राजधानीभन्दा बाहिर निस्कने हो भने पनि प्रादेशिक तहबाट समेत यो विषयले महत्व पाएको छ । पर्वतमा त कालिगण्डकी नदीको मध्यभागको जमिन पनि व्यक्तिको नाममा रहेको प्रतिवेदन जिल्ला प्रशासनले बाहिर ल्यायो ।
फेवातालको त कुरै नगरौं । तालको बीचमा १ किलोमिटर भन्दा बढी लम्बाइका कित्ता नापी गरेर लालपूर्जा बनाइएको छ । छेउछाउको जग्गाको त के कुरा भो र । विभिन्न समयमा तय गरिएका मापदण्डका कारण ताल किनारको जग्गा अतिक्रमणमा परेको छ ।
कतिपय ठाउँमा त पक्की घरसमेत ठडिएका छन् । विभिन्न समयका प्रतिवेदन र लेख्य सामग्री अध्ययनका क्रममा भेटिएको तथ्यमा मुलुकमै सबैभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको सहर पोखरा हो । राजनीतिक र प्रशासनिक शक्तिका आडमा सार्वजनिक जग्गा निजीकरण गर्ने काम अझै रोकिएको छैन ।
अतिक्रमण भएको खबरमात्र आइरहेका बेला सर्वोच्च अदालतले पोखरा महानगरपालिका २९ स्थित गडुवाखोलानजिकको १५ रोपनी जमिन सार्वजनिक ठहर गरिदिएको छ । व्यक्तिले दर्ता गरेको उक्त जमिनको अहिलेको चलनचल्तीको मूल्य ५० करोड रुपैयाँ भन्दा हो । तत्कालीन पुनरावेदन अदालत पोखराले गरेको फैसलालाई नै सर्वाेच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा. मनोजकुमार शर्माको इजलासले सदर गरिदिएपछि उक्त जग्गा अब सार्वजनिक कायम भएको छ ।
२०६५ असार १९ गते मीनकुमारी अधिकारी र पूर्णदीप पौडेलले क्रमश १२ र २ रोपनी जमिन आफ्नो नाममा दर्ता गरेका थिए । तर उनीहरुले दर्ता गराएको जमिन सार्वजनिक हुनुपर्छ भनी स्थानीय चोलाप्रसाद बराल, ईश्वर गुरुङ र रामजी पौडेलले सोही वर्षको २०६५ सालको भदौमा मुद्दा हालेका थिए । पोखरामा अतिक्रमित जग्गा संरक्षण मात्र होइन, दर्ता भइसकेको भइ पनि सरकारी कायम हुन सक्छ भन्ने उदारण यो फैसलाले पेस गरेको छ ।
अहिले प्रदेश र स्थानीय तहका सरकारले विभिन्न संरचना निर्माणका लागि जग्गा खोजी गर्दा उपयुक्त ठाउँ पाउन सकेका छैनन् । एकातिर सार्वजनिक जग्गा व्यक्तिले ओगटेर अंशको सम्पत्ति जस्तो ठान्ने प्रवृत्ति बढ्दो छ । अर्कोतिर प्रदेश र स्थानीय सरकारले उपयुक्त ठाउँ नपाउँदा भौतारिनु परेको अवस्था छ ।
पोखरा महानगरपालिकाले यो वर्षलाई सार्वजनिक जग्गा संरक्षण वर्षको रुपमा घोषणा गरेको छ । तर उसले ठोस रुपमा काम भने गर्न सकेको छैन । वडातहमा केही काम सुरु नभएका होइनन् । वडा नम्बर १८ ले आफ्नो क्षेत्रभित्रको सार्वजनिक जग्गा अतिक्रमण कम गराउन अभियान नै थालेको छ । व्यक्तिले दर्ता गर्न लागि लभ्ली हिलको जग्गा संरक्षणमा अहिले वडाले चासो देखाएको छ ।
वडा नम्बर १५ ले त अतिक्रमित जग्गा खाली गराएर जग्गा सरकारकै नाममा ल्याइ पनि सकेको छ । यति राम्रो पोखरामा गतिलो बसपार्क बन्न सकेको छैन । कारण जग्गा नै हो । तसर्थ वडा तहबाट भएका सरंक्षणका कामलाई प्रोत्साहन गर्दै महानगरले यसका लागि कडा भएर कदम चाल्नुपर्छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया