मुक्तिनाथ गुरुयोजनाको प्रारम्भिक काम सुरु

समाधान संवाददाता २०७६ जेठ २९ गते १३:२१

समाधान संवाददाता
मुस्ताङ

मुक्तिनाथ गुरुयोजनाको स्थानीय स्तरको प्रारम्भिक कार्य सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुक्तिनाथ पूर्वाधार विकास तथा कागबेनी श्राद्धस्थल संरक्षण र स्तरोन्नति लगायतको काम गर्ने गरी गुरुयोजना अघि बढाएको हो । बहुवर्षीय मुक्तिनाथ गुरुयोजनाका लागि आगामी वर्षसमेत गरी ३ करोड विनियोजन भएको छ ।

पर्यटन विभागले २ महिनाअघि मात्र गुरुयोजनाको पहिलो फेजको टेन्डर स्वीकृत गरेको हो । विनियोजित ३ करोडले मुक्तिनाथ पूर्वाधार अन्तर्गत मन्दिर परिसरको क्षेत्रफल बढाउँदै त्यसको थप स्तरवृद्धि गर्ने, मन्दिर परिसर नजिकैको पुरानो आनी–झुमा बस्ने भवन हटाएर अलि पर नयाँ २ वटा आनी क्वाटर बनाउने, कागबेनीको धार्मिक श्राद्ध स्थलक्षेत्रको संरक्षण गर्न पर्खाल लगाउने र श्राद्ध स्थल ओर्लने–उक्लने सिंढी बाटो निर्माण गर्ने योजना रहेको पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले जानकारी दिए ।

Advertisement

वारागुङ मुक्तिक्षेत्रको कागबेनी श्राद्धस्थल वरपर पर्खाल लगाउने कार्य भइरहेको इन्जिनियर यादवले बताए । मुक्तिनाथको आनी क्वाटर, मन्दिर परिसर सुधार, शौचालय, कागबेनी श्राद्ध स्थल तटबन्ध लगायत काम २ वर्षमा सक्ने सम्झौता गरिएको छ ।

मुक्तिनाथ गुरुयोजनाका लागि १ वर्षअघि मात्रै पुरातत्व विभाग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय टोलीले मुस्ताङको जोमसोममा विस्तृत मुक्तिनाथ गुरुयोजनाको डिपिआर सार्वजनिक गरेको थियो । गुरुयोजनामा मुक्तिनाथक्षेत्रका मठमन्दिर र गुम्बाको जीर्णोद्धार, आनी र पुजारी क्वाटर भवन निर्र्माण, १ सय ८ धारा स्तरोन्नति, स्नानकुण्ड, योग शिविर, पार्क, लाइब्रेरी, सिढी निर्माण, अपांगमैत्री बाटो, मुक्तिनाथ प्रवेशद्वार, बसपार्क लगायत छन्, भने कागबेनी श्राद्ध स्थल तथा धर्माशाला सुधार, बसपार्क, तटबन्ध र बोटानिकल गार्डेन निर्माण लगायतका योजना समेटिएको थियो ।

Advertisement

गत वर्ष कालीगण्डकी नदीले कटान गरेपछि कागबेनी श्राद्धस्थलको केही भागमा क्षति पुगेको थियो भने,डोल्पा र तिरी जाने काठेपुलसमेत बगाएको थियो । यसका अतिरिक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य क्षेत्रमा पनि बजेट विनियोजन गरेको छ । उपल्लो मुस्ताङको ऐतिहासिक लोमन्थाङ दरबार र गुफाका लागि ५० लाख, दामोदरकुण्ड धार्मिक स्थलका लागि ५० लाख, जोमसोमको पर्यटन प्रवद्र्धनमा ५० लाख र घरपझोङ गाउँपालिका ४ मिनी पार्कका लागि २० लाख छुट्याइएको हो ।

संघीय सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङमा धार्मिक पर्यटनको प्रचूर सम्भावना भएकाले यसको विकासमा आफूले अधिक प्रयास थालेको बताए । उनले मुक्तिनाथ गुरुयोजनाको विकास र कोरला नाका खोलिएपछि मुस्ताङ जिल्ला समृद्ध हुने उल्लेख गर्दै यसका लागि सरकारले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक विस्तार गरिरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया