—सम्पादकीय— नगर बजेटको प्राथमिकता

आउँदो आर्थिक वर्षका लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट पोखरा महानगरपालिकाले अस्ति सोमबार सार्वजनिक गर्यो । स्थानीय तह सञ्चालन ऐन अनुसार बजेट उपमेयर मञ्जुदेवी गुरुङले पेस गरिन् । पोहोरसाल नयाँ नौलो हुनाले मेयर मानबहादुर जिसी आफैंले बजेट पेस गरेका थिए । कानुनी व्यवस्थाको हेक्का भइसकेपछि उपमेयरले अधिकारको अभ्यास गर्न पाइन् । यो सकारात्मक छ । कास्कीका अरु तहमा पनि पहिलोपटक अध्यक्ष आफैं अघि सरेका थिए बजेट ल्याउन । यसपालि उपाध्यक्षले मौका पाएका छन् । मानवीय कमजोरी यसैगरी सुधार्दै लैजाने हो ।
जनप्रतिनिधिलाई लोकप्रिय हुने भोक ज्यादा छ । प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि त्यस्तो लक्षण देखिन्छ । त्यसैले होला उनी तत्कालीन आवश्यकता सम्बोधन गर्दै दीर्घकालीन योजना ल्याउँदैनन्, दीर्घकालीन योजनाका सपना बिच्छ्याउँछन् र आफैं कुल्चल्छन् । जस्तो कि पानी जहाजको कुरा गरे, कार्यालय खोले । तर कार्यालयमा कर्मचारी व्यवस्थै गरेनन् । कामको सिन्को भाँचिएन ।
कर्णालीका कुना कन्दरामा बाटो पुर्याउने ध्याउन्न छैन, चीनबाट सुरुङ खन्दै रेल ल्याउने कुरा गर्छन् । रेल चाहिन्छ, पानी जहाज पनि चाहिन्छ । तर नेपालीको आजको आवश्यकता सम्बोधन गर्दै ती दीर्घकालीन योजनाको खाका कोर्दै काम गर्दै अघि बढ्नुपर्ने हो । पोखरा महानगरपालिकाले पनि पोहोर ल्याएको बजेटमा मोनोरेल कुदाउने सपना बिच्छ्याएको थियो । यसपालि हटाएछ । हो, पोखरामा मानोरेल कुदै जाती नै हुन्छ । तर त्यसभन्दा अघि पोखराको सडक यातायात व्यवस्थित हुन जरुरी छ । पार्किङ व्यवस्थापन गतिलो हुन जरुरी छ । भवन निर्माण आचार संहिता र मापदण्ड पालना कडाइका साथ गर्न जरुरी छ ।
महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटमा पार्किङ व्यस्थापनका लागि बहुतले पार्किङ भवन बनाउने योजना समावेश गर्यो । पोखरेली जनता योजनाबाट प्रफुल्ति पक्कै होलान्, तर त्यसको कार्यान्वयन भएन भने त्यो खुसी क्षणभंगुर सावित हुनेछ । भूमिगत पार्किङ बनाउने सडकहरु तोकिएको छ । त्यो कार्यान्वयन भइदिए यसपालिका जनप्रतिनिधिलाई दीर्घकालसम्म पोखरेलीले सम्झनेछन्, जसरी न्युरोड फराकिलो बनाएका तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र सरकारी अधिकारी पदम खत्रीले सम्झिरहेका छन् ।
पाठक तिनै व्यक्ति हुन्, जसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जमिन अधिग्रहण ४० वर्षअघि नै गरिदिएका थिए, र आज त्यहाँ आउँदा एकाध वर्षमै जहाज अवतरण हुनेवाला छ । जसरी महानगरले विकटका वडालाई निकट ल्याउन कनेक्टिङ रोड बनाउन बजेट ओइर्याएको छ, त्यसको नतिजा पक्कै ग्रामीण भेगका वडाबासीले पाउनेछन् ।
हिजो गाउँपालिकातिर जाने कि महानगर भनेर दोधार पर्दापर्दै महानगरमा मिसिएका गाविसका बासिन्दालाई पनि महानगर हुँदाको लाभ मिल्नेछ । लोकप्रिय नारा राखेर, लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउनुभन्दा तत्कालको आवश्यकता पूरा गर्दै दीर्घकालीन कार्यक्रमसमेत ल्याएको जाती । यस मानेमा पोखरा महानगरपालिकाको मूल्यांकन पक्कै आउने समयले गर्ने नै छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया