—सम्पादकीय—मान्छे निल्ने नाला

१३ असारको साँझ पोखरामा धुनधान पानी पर्यो । सधैं झैं सडक खोला बन्यो । सडक किनारको नाला र सडक सम्मै । सडक कता छ र नाला कता छ पत्तै भएन । यस्तैमा पोखरा बसपार्कनजिकै चाइना पुलको आडैमा १ जना व्यक्ति नालामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । नाला सिधैं सेतीमा खस्छ, सायद ती मान्छे सेतीमा पुगे । प्रहरीले शनिबार पनि खोज्यो तर भेटेन । परिचय नखुलेका ती व्यक्ति नालामा पर्दै गर्दा अर्काे स्कुटर पनि खसेको र २ जनालाई उद्धार गरेको स्थानीयले बताएका छन् ।
नालामा मानिस खस्नुको एउटै कारण नालामा ढकन नहुनु र सडक किनारमा रेलिङ नहुनु हो । पोखरा पानीको सहर हो, जहाँ अत्यधिक वर्षा हुन्छ । सडकमै पनि मान्छे बगाउँला जस्ता हुन्छ भने नाला त नदी नै जस्ता बन्छन् । सडकमा कायाकिङ नै चलेको दृश्य सामान्य भइसकेको छ । नालाले मान्छे बगाएको घटना पहिलो होइन । कतिको रेकर्ड छ । कतिको रेकर्डै छैन ।
७४ कात्तिक ४ गते इन्जिनियरिङ अध्ययन संस्थान नजिकै लामाचौरको नालामा पिजन पुन र उनका अर्का साथी श्रवण पुर्जा झन्डै नालामा परे । मोटरसाइकल भने बगायो । पिजन पनि बगे कि भन्ने थियो, धन्न उनी बाँचेका रहेछन्, केही दिनमा उनको अवस्था पत्ता लाग्यो । आफूले पछाडि बोकेर ल्याएको व्यक्ति नालामा पर्यो र अपजस आउने भयो भन्ने डरले पिजन केही दिन लुकेछन् र पछि श्रवण पनि बाँचेको थाहा पाएपछि देखापरे । तर उनको मोटरसाइकल धेरै तल नालामा अड्किएको अवस्थामा फेला पर्यो ।
७३ सालको असोज १ गते बिरौटामा गंगाप्रसाद सुवेदी र बाटुलेचौरमा कृष्णबहादुर थापा नालामा परे । दुवैको ज्यान गयो । त्यसै वर्षको भदौ २२ गते पोखरा २८ कालिकाका शूरवीर जिसी मालपोत कार्यालय नजिकै मोटरसाइकलसहित बगेर फेवालमा पुर्याइए ।
उनको पनि प्राण पखेरु उड्यो । त्यसको ७ दिन अघि १५ भदौमा सिद्धार्थ चोकमा मीना भण्डारी नामकी महिला सडक किनारमा हिँड्दा हिँड्दै नालामा खसिन् र उनको ज्यान गयो । लेखनाथ क्षेत्रतिर झन् नहरमा खसेर ज्यान गएका अरु थुप्रै उदाहरण छन् । नहर होस् या नाला कुनै पनि ज्यानमारा हुनु हुँदैन । त्यहाँ सुरक्षाका उपाय अपनाउनै पर्छ । सडक विभाग होस् या महानगर यसमा संवेदनशील हुनुपर्छ ।
कतिपय ठाउँमा सडक विभागले बनाएका सडकका नाला जोखिमपूर्ण छन्, कतिपय ठाउँमा महानगरले बनाएका । जसले बनाएको भए पनि नागरिक सुरक्षित हुन पाउनुपर्छ । हिँड्दाहिँड्दै नालामा खसेर ज्यान जानु हुँदैन । महानगरको मुख्य बजारी भाग नै असुरक्षित भए ग्रामीण क्षेत्रको हालत के होला ? पोखरामा सडक किनारका नाला यस्ता छन् कि जहाँ बर्खामा पानी अटाउनै सक्दैन । नाला भरिन्छ र सडकभरि पानी हुन्छ । ढल व्यवस्थापन अत्यन्तै कमजोर छ । किलोमिटरका किलोमिटर लामा नालाको निकासको दुरी टाढा बनाउनुभन्दा बीचबीचबाट पानी तर्काउने उपाय गर्नु बेस हुने थियो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया