किसानलाई मौरीसहित घार वितरण

समाधान संवाददाता २०७६ असार १७ गते १२:०८
N

समाधान संवाददाता
दुलेगौंडा

तनहुँको रिसिङ गाउँपालिकाले कृषकलाई मौरीसहितको घार दिएको छ । पालिकाका सबै वडा समेट्ने गरी २५ घार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल अधिकांश क्षेत्र मौरी पाल्नका लागि उत्तम रहेकाले उचित रेखदेख गर्न आग्रह गरे । ‘अरु क्षेत्रजस्तो मौरीपालनमा श्रम गर्नुपर्दैन । प्राय सबै काम मौरीले नै गर्छ,’ उनले भने, ‘समय समयमा मौरीको हेरचाह गरे पुग्छ ।’ उनले मौरी र घार दुबैको संरक्षण गरी व्यवसायिक रुपमा अघि बढ्न कृषकलाई आग्रह गरे ।

Advertisement

गाउँपालिकाका कृषि जेटिए अनिल मिश्रले पहिलो चरणमा निशुल्क घार वितरण गरेको जानकारी दिए । प्रतिघार ८ हजार रुपैयाँमा खरिद गरिएको हो । राष्ट्रिय बहुउदेश्यीय तथा मौरी प्रजनन विकास उद्योग भानु ११ रुपाकोटबाट घारसहितको मौरी ल्याइएको उनले बताए । आगामी दिनमा पनि घार वितरण गरिने उनको भनाइ छ ।

वडा नं. ५ राम्जाकोटका कृषक बलराम पोख्रेलले निशुल्क घार प्रदान गरेकोमा गाउँपालिकालाई धन्वाद दिए । ‘काठका मुढा र घरको गाह्रोमा मौरी पालिन्थ्यो,’ उनले भने, ‘आधुनिक घारले हामीलाई व्यावसायिक रुपमा जान उत्साह थपेको छ ।’ उनले अरु व्यवसायभन्दा मौरीपालन सहज भएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया