निर्मला पन्त हत्यापछि उब्जिएका प्रश्नहरु

सरस्वती गुरुङ
‘निर्मला पन्त बलात्कार र हत्या’ शीर्षकमा विकिपिडियाले लेख्छ– ‘नेपालमा भएको १ दर्दनाक हत्याकाण्ड मध्ये १ हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी÷बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । विसं २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।’ विकिपिडियामा उल्लेखित थोरै मध्येको १ महत्वपूर्ण घटना हो, नेपालका लागि यो । नेपालको इतिहासमै रहस्यमय मध्येको प्रतिनिधि घटना निर्मला हत्या प्रकरण हो । नेपाली र अंग्रेजी दुवै संस्करणमा यो हत्याकाण्ड उल्लेख गरेको छ, विकिपिडियाले । निर्मला पन्तको हत्या भएको आज ठ्याक्कै १ वर्ष पूरा भयो । हत्याको ३ सय ६५ दिनमा हजारौं मान्छे सडक झरे सरकारले ६५ मिनेट पनि छानविनमा खर्च गर्न सकेन । उनको हत्यारा अहिलेसम्म पनि फरार छन् ।
उनको हत्या आरोपमा प्रहरीले पटकपटक धेरै व्यक्ति पक्राउ गर्यो । तर कोही पनि वास्तविक ठहरिएनन् । स्थानीय भन्छन्, उनको हत्यामा प्रहरी संलग्न छ । प्रहरीले १ पटक मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई पक्राउ गरी सार्वजनिकसमेत गर्यो । छिमेकी र अरु स्थानीय ती व्यक्तिलाई हत्यारा मान्न तयार भएनन् । त्यसपछि फेरि चोरी–डकैतीमा पटकपटक जेलमा बसेका व्यक्तिलाई पक्राउ गरेर घटना स्वीकार गर्न बाध्य पारियो । पछि हत्या भएको दिन पनि ती व्यक्ति जेलमै रहेको पुष्टी भएपछि प्रहरीको लापरबाही बाहिरियो ।
मेरो देशको प्रहरी प्रशासनको यो भन्दा ठूलो बेइजतीको क्षण के हुन सक्छ ? यस्ता प्रहरी संगठनबाट जनताले कस्तो न्याय पाउँछन् ? स्थानीयको बलियो दावी छ, प्रहरी संगठनभित्रकै मान्छे निर्मलाको हत्यारा हुन् । त्यसैले गर्दा, वास्तविक हत्यारा सार्वजनिक नगरिएको हो । यद्यपी हालसम्म उनको हत्या आरोपमा कसैले पनि किटानी जाहेरी दिएका छैनन् । सत्य छानविनको माग गर्दै सर्वसाधारण सडकमा निस्किँदा १ युवकको गोली लागि मुत्यु भयो । त्यसपछि सरकारले भदौमा विशेष छानविन समिति गठन गर्यो । छानविन समितिले घटनामा प्रहरीको लापरबाही रहेको प्रतिवेदन दिएको थियो । त्यो प्रतिवेदन अहिलेसम्म बाहिर आएको छैन । वर्षदिन पुगिसक्दा सरकार सधैं निर्मलाका हत्यारा पक्राउ गरिछाड्ने दाबी गर्छ, तर गम्भीर भएर अहिलेसम्म छानविन गरेको छैन ।
यसले सरकार जनअधिकारप्रति गम्भीर छैन भन्ने गतिलो प्रमाण पेस गरेको छ । प्रहरी हत्यारा समात्ने भन्दा प्रमाण नष्ट गर्नेतर्फ बढी केन्द्रित भयो । हत्यापछि रगत लतपतिएको कपडा प्रहरीले नै पखाल्यो, निर्मला गएको घरको कम्पाउन्डभित्र रहेको अम्बाको रुख काटियो, त्यही घर पछि रंगरोगन गरियो । यसले प्रमाणित गर्छ, सरकार यो घटनाप्रति गम्भीर छैन । यो हत्याकाण्डबारे ४ वटा प्रतिवेदन बनिसके । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानविन समितिले सामूहिक बलात्कार पछि हत्या भएको संकेत गरेको छ । अन्यत्रै हत्या गरेर उखुबारीमा शव फालिएको हुन सक्ने निष्कर्ष समितिको छ ।
निर्मला गएकी बम दिदी बहिनीको बयान, साईकल देख्ने प्रत्यक्षदर्शीको बयान र निर्मलाको शव, पोस्टमार्टम रिपोर्ट, घरदेखि घटनास्थलसम्मको दूरी तथा प्रहरीको गतिविधिले हत्यारा टाढा नरहेको संकेत गरिरहेकै छ । तर प्रहरी छानविन समितिको प्रतिवदेन र प्रत्यक्षदर्शीको बयानलाई छोडेर अन्यत्रै खोजविन गरिरहेको छ । यस्तो अनुसन्धानले हत्यारा पत्ता लाग्ने कुनै सम्भावना नै रहँदैन । गृहको रिपोर्टपछि पनि राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयले छुट्टाछुट्टै छानविन गरेका छन् ।
तर कुनै पनि प्रतिवेदन हत्यारा नजिक पुग्न सकेको छैन । त्यसो त प्रतिवेदनलाई टेकेर सरकारले छानविन नै कहाँ गरेको छ र ? समितिका प्रतिवेदन बडो गहन भएर अध्ययन गरें । स्थानीयको आरोप प्रति म पनि राजी भएँ । स्थानीय भन्छन्, हत्या भएको भनिएको ठाउँमा बिहानदेखि बेलुकीसम्म नै मान्छेको निरन्तर चहलपहल हुन्छ । घटनास्थल नजिक घर पनि छन् । निर्मला निस्किएको भनिएको समयमा ठूलो पानी परेको प्रतिवेदनमा उल्लेख छ । साईकल भेटिएको ठाउँबाट शव भएको ठाउँ जान त्यतिबेला सम्भव थिएन, पानीका कारण । यी सबै प्रमाण हेरेर उनको कुनै घरको कोठामा बलात्कार गरेर शव मात्रै उखुबारीमा फालेको आशंका छ ।
यति गम्भीर घटना हुुँदा पनि देशका अभिभावक प्रधानमन्त्रीज्यू भन्नुहुन्छ, हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ । गृहमन्त्रीज्यू थप्नुहुन्छ– ‘यस्ता घटना नौलो हैन’ । गैर जिम्मेवार उत्तर दिनुहुन्छ । यो भन्दा लज्जास्पद केही हुन सक्ला ? हत्यापछिको १ वर्ष निकै तनावमा बित्यो धेरै समय । धेरै चोकमा टायर बालिए । चर्का नारा घन्कियो । लाखौं नागरिक सडकमा ओर्लिए । दिनदिनै दबाबमुलक आन्दोलन चलिरह्यो । कयौं ठाउँमा प्रहरीसँगै झडप समेत भएको छ ।
निर्मलाका पक्षमा आवाज उठाउनेहरुको आवाज सुक्यो, तर सरकारले ती आवाज सुन्दै सुनेन । हत्यारा पक्राउ गर्न नसकेको हो कि पक्रन नचाहेको हो ? गम्भीर प्रश्न हो यो । हत्यारा पत्ता लगाउने दाबी गरिरहने तर सिन्को नभाँच्ने सरकारसँग यसको उत्तर छ ? अपराधी पनि राजनीतिक संरक्षणमा उन्मुक्त हुँदै जाने र पीडितहरु झन्झन् पीडित बन्दै जाने परिपाटीको अन्त्य कहिले हुन्छ ? राजनीतिक पहुँच नहुनु निर्मला परिवारको अपराध हो ? राज्यशक्तिको दूरुपयोग कहिलेसम्म ?
के यो घटना निर्मला पन्त र उनको परिवासँग मात्रै सीमित छ ? त्यसो हुन्थ्यो भने, लाखौं नेपाली निर्मलाको निम्ती न्याय माग्न सडकमा किन उत्रिन्थे ? शक्तिको दूरुपयोग गरेर यति ठूला र जघन्य अपराध पनि नजरअन्दाज गर्छ भने सरकारलाई हेक्का होस्, ३ वर्षपछि पुनः निर्वाचन आउँदै छ । संसदीय व्यवस्थामा सत्ताप्रति जनताले रिस साँध्ने भनेकै निर्वाचन प्रणालीबाट हो । सरकारले गरेको अहिलेको अपराध क्षम्य छैन । त्यसको प्रतिरोध चुनावमार्फत जनताले गर्नेछन् । जनतालाई भुलाउने र पीडितमाथि नुनचुक छर्किने दूष्साहस कसैले गर्छ भने उ भ्रममा चलिरहेको छ ।
सरकारलाई यो घटनाले सधैं पिरोलिरहने छ । सारा नेपाली यो घटनाको जिउँदो साक्षी बनेर सरकारलाई सताइरहने छन् । निर्मला पन्त मात्रै होइन, यो घटनापछि बलात्कारका हजारौं घटना भएका छन् । यो घटनापछि हजारौं हत्याका घटना भएका छन् । तर पीडितले न्याय पाएका छैनन् । देशमा शान्ति, सुरक्षा, अमनचयन छैन । न्याय माग्नका लागि संघर्ष गर्नुपर्ने ठाउँमा न्याय पाउने सम्भावना त हुँदैन तर यस्ता घटनाका विरुद्ध हामी सबै एकजुट भएर निरन्तर संघर्ष गरिरहनुपर्छ ।
बिहान निस्किएकी छोरी साँझ फर्किन्छे कि फर्किंदैन आमाबाबु त्रासमै हुन्छन् । मेलापात गर्न गएकी आमा जिउँदो हुन्छिन् कि हुन्नन्, कुनै ग्यारेन्टी छैन । घरभित्रै छोरी सुरक्षित छैनन्, पछिल्ला घटनाले देखाइरहेका छन् । यति धेरै दण्डहीनता बढ्नुको मुख्य कारण भनेकै राज्य प्रणाली हो । सरकारको गतिविधि हो । सत्ताको दूरुपयोग हो । संस्कारमाथिको अतिक्रमण हो । ती सबै घटनाको मुख्य दोषी सरकार र सत्ताको उन्माद हो । मैले नेकपालाई मात्रै यो दोष दिन खोजेको होइन, हालसम्मका सबै सरकार यसका दोषी छन् ।
घटना हुनु भन्दा घटनापछिको परिघटनामा सरकारको उपस्थिति नै दोहोरिने घटनाका मुख्य कारक हुन्छन् । पहिलेभन्दा त्यो प्रवृत्ति अहिलेको सरकारमा बढी छ । त्यसैले यसको हिसाबकिताब जनताले चुनावका दिन माग्ने छन् । निर्मला पन्तले न्याय नपाएसम्म यो सरकारको निधारमा कालो टीका सधैं रहिरहने छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया