—सम्पादकीय— सांसदलाई गाडीः जनतालाई भारी

जनप्रतिनिधिमा सुविधा मोह ज्यादा भयो भनेर आलोचना भइरहेकै छ । यसबीचमै गण्डकी प्रदेश सभामा शुक्रबार सांसदले आफूहरुलाई पनि गाडी सुविधा चाहियो भनेर आवाज उठाए । भोक, तिर्खा, निद्रामात्रै होइन ज्यानकै पर्वाह नगरी जनताका लागि र क्रान्तिका लागि भनेर हिँडेकाबाट गाडी सुविधाको माग उठ्यो । के हिजो जनयुद्ध लड्दा सांसद भएपछि गाडी नभई जनताको सेवा गर्न सक्दिन भन्ने थियो उनीहरुलाई ? तलब नखाई देश र जनताको सेवा गर्दै गर्दिन भन्ने थियो ? चुनावमा भोट माग्दा पनि कुनै उम्मेदवारले त्यसो भनेको सुनिएन । अहिले आफैं नियम–कानुन बनाउने ठाउँमा पुगेर आफ्नो हात जगन्नाथ गर्न किन उद्यत छन् उनीहरु ? जनतालाई यी दृश्यले निराश पारेको छ ।
सांसदलाई किन चाहियो गाडी सुविधा ? जब कि प्रत्येक बैठक बस्दाका दिन यातायात भत्ता पाएकै हुन्छन्, बैठक भत्ता पाएकै हुन्छन् र मासिक पारिश्रमिक पनि हुँदैहुन्छ । घरभाडावापतको रकमसमेत पाउँछन् । विकासे बजेट पनि मागेकै छन् । सुविधा पनि मागेकै छन् । तर आफ्नो काम, कर्तव्य र अधिकारबारे भने सांसदहरु बेखबर छन् । अहिलेसम्म प्रदेश सभाबाट जति कानुन बनेका छन्, तिनमा उनीहरुको गृहकार्य कति भयो होला भनेर शोध गर्ने हो भने नतिजा पक्कै निराश निस्कन्छ ।
मस्यौदासम्म नपढ्ने र त्यसमा कुनै योगदान पनि नगर्ने जस्तो आएको थियो, त्यस्तै पास गरिदिने प्रवृत्ति व्याप्त छ । आफैंले पारित गरेका कानुनकै बारेमा बेखबर सांसदहरुले आजसम्म हामीलाई संसद परिसरमा पुस्तकालय चाहियो भनेर आवाज उठाएका छैनन् । संसदीय अभ्यासमा कमजोर प्रतीत हुने उनीहरुले कहिल्यै आफूहरुलाई संसदीय अभ्यास सिक्ने प्रशिक्षण चाहियो भनेर आवाज उठाएका छैनन् । आफ्नो निर्वाचन क्षेत्रमा भएका प्राकृतिक प्रकोप र दुर्घटनाका पीडित जनताका लागि राहत माग्न रित पुर्याउनमात्रै आवाज उठाउँछन् । धरातलीय यथार्थ अध्ययन गरी आफ्नै निर्वाचन क्षेत्रको खास समस्याबारे कमै बोल्छन् ।
आदर्शले चल्दैन भन्ने पनि उनीहरुकै भनाइ छ । हो आदर्शले नचल्ने भएर राज्यको गच्छेअनुसार उनीहरुलाई तलब सुविधा उपलब्ध गराइएको छ । हुने भए र पुग्ने भए सबै सांसदलाई सरकारी आवासै उपलब्ध गराउन सके जाती हुन्थ्यो । सबै गाडी उपलब्ध गराए पनि जाती नै हुन्थ्यो होला । तर आज देशको हालत कहाँ छ र जनताको जीवनस्तर के छ ? भन्ने मतलबै नगरी सांसदलाई गाडी सुुविधा दिनु मनासिव कत्ति देखिन्न । एउटा गाडी दिएपछि चालक चाहियो, इन्धन चाहियो, मर्मत सम्भार खर्च चाहियो । खर्चमाथि खर्च थपिँदै जान्छ । गण्डकी प्रदेशले आफ्नो चालु खर्च पनि आन्तरिक आम्दानीले थेग्न सकेको छैन । संघले दिएको बजेटबाटै फेरि सांसदलाई गाडी सुविधा कदापि उचित हुँदैन । हिँडडुल गर्न र गन्तव्य पुग्न साह्रै अप्ठेरो महसुस गरेका सांसदले पोखरामै ट्याक्सी मिटरमा नचलेर ठगिरहेको उठाउन सम्झिएका छैनन् । सार्वजनिक यातायात सर्वसुलभ र सजिलो बनाउन सरकारको ध्यानाकर्षण गर्नतिर ध्यान दिँदैनन् ।
सांसदको काम कानुन बनाउने हो, विकास गर्ने होइन । तर जनअपेक्षा पनि सांसदले विकास पनि गर्दिऊन् भन्ने छ । यो यथार्थ हो । तर सैद्धान्तिक रुपमै गलत बाटोमा सांसदलाई लैजाने कि नलैजाने भन्नेचाहिँ अहम् प्रश्न हो । जनताका घरघरमा पुग्नलाई र विकासे योजना अनुगमन गर्नलाई गाडी चाहिने भन्ने सांसदले मूलत सांसदको कर्तव्य र भूमिका आज जेजस्तो भए पनि अन्ततः कानुन निर्माणै हो भन्ने बुझिदिन जरुरी छ । अहिले सांसदले पनि विकासको डाडुपन्यू चलाउन पाइरहेको भए पनि भोलिका दिनमा यस्तो अवश्य हुनेछैन । मुलुकलाई त्यतिपट्टै लैजानै पर्छ । र भोलि अहिलेजस्तो अवश्य हुँदैन । यति सामान्य कुरा पनि बुझ्न नखोज्नु र सुविधा र विकास बजेट माग्नु उनीहरुको बालहठबाहेक केही होइन ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया