भीमादका ९ वटै वडामा इन्टरनेट

समाधान संवाददाता २०७६ असोज १० गते १२:२७

समाधान संवाददाता
दुलेगौंडा

तनहुँको भीमाद नगरपालिकाको सबै वडामा इन्टरनेटको पहुँच पुगेको छ । वडा नम्बर ४ को कार्यालय पिरुङमा बिहीबार इन्टरनेट जडान भएपछि ९ वटै वडामा इन्टरनेट पुगेको नगरपालिकाले जनाएको छ ।

भौगोलिक बनावट तथा आवश्यकताका आधारमा फरक–फरक कम्पनीका इन्टरनेट जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । सबै वडामा प्रविधिमैत्री बनाउन नगरले करिब ३ लाख ५० हजार रुपैया लगानी गरेको उनले बताए । जन्मदर्ता, सामाजिक सुरक्षा भत्ताको लगत संकलन, विभिन्न तथ्यांक दाखिला गर्नदेखि वडाबाट प्रदान गरिने विभिन्न सेवा अब सहज हुने उनले जानकारी दिए । यसले सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने उनको विश्वास छ । विजयादशमी अघिसम्म अनलाइनमार्फत कार्य सुचारु गर्ने नगरले योजना बनाएको छ ।

Advertisement

सेवा प्रवाहमा सहज ल्याउनेगरी सूचना आवतजावत गर्नका लागि प्राथमिकता दिएर वडा कार्यालयलाई प्रविधियुक्त बनाएको नगर प्रमुख मेखबहादुर थापाले जानकारी दिए । इन्टरनेट सहज भएपछि पत्राचार गर्ने सवै विषय इमेलमार्फत गर्न सकिने उनको भनाई छ । ‘समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज बनाउन हामी लागेका छौं,’ नगर प्रमुख थापाले थपे, ‘तब मात्र सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अनुभूति हुने छ ।’

भीमाद–९ का वडा अध्यक्ष इमानबहादुर थापाले इन्टरनेट भरपर्दो भएमा सेवाग्राही र कर्मचारी दुबैलाई स्तरीय सेवा दिन सकिने उल्लेख गरे । ‘दसैं अघिसम्म वडाबाटै अनलाइनमार्फ सेवा दिने नगरको योजना छ,’ उनले थपे, ‘यसले हामीलाई उत्साह थपेको छ ।’ ग्रामीण भेगमा अवस्थित भानुमति होमस्टेको रुपमा विकास हुँदै गएको छ । सहज इन्टरनेटको पहुँच भएमा गाउँमा आउने पर्यटकलाई समेत सूचना आदान प्रदान गर्न सहज हुने उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया