दुर्घटना न्युनीकरणका लागि पृथ्वीराजमार्गकाे खतरा पहिचान

समाधान संवाददाता २०७६ असोज १५ गते १२:४४

कृष्ण न्यौपाने
दमौली

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको कोत्रेदेखि मुग्लिङ खण्डको प्रमुख समस्याको रुपमा रहेको खतरा पहिचान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति तनहुँको बैठकले कोत्रेदेखि मुग्लिङसम्मको ७२ किमि मूल राजमार्गमा प्रमुख रुपमा देखिने समस्या तथा खतराहरु पहिचान गरेको हो ।

पृथ्वीराजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि खतरा पहिचान गरी समस्याको समाधान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष रुद्रप्रसाद पण्डितले जानकारी दिए । प्रजिअ पण्डितका अनुसार सडकको बीच–बीचमा रहेका खाल्डाखुल्डी समय–समयमा मर्मत नहुँदा गाडी दुर्घटना हुने र गाडी फसेर सडक अवरोध हुने गरेको छ ।

Advertisement

सडक स्वरुप सिधा नभई घुम्तीहरु भएको, सडक संकेत, घुम्तीमा रहेका ठूला–ठूला रुख, घाँसको कारणले घुम्तीमा विपरित दिशाबाट आएका सवारी साधनहरु नदेखिने कारणले सवारी साधन एक आपसमा जुध्न गई दुर्घटना हुने खतरा राजमार्गमा देखिएको छ । विभिन्न समूहहरुबाट आफ्ना माग पूरा गर्न दबाब स्वरुप गरिने अवरोध, बन्द, हड्ताल, चक्काजाम, राजमार्गसँग जोडिएका घडेरी खार्ने, शाखाको पहुँचमार्ग निर्माण गर्ने, राजमार्ग अवरोध हुने गरी सडक नजिक निर्माण सामग्री भण्डारण गर्ने, अव्यवस्थित पार्किङ र ट्राफिक नियमको उल्लंघनलाई राजमार्गको समस्याको रुपमा पहिचान गरिएको छ ।

जिल्लामा बढ्दै गइरहेको सडक दुर्घटनालाई कम गर्न गति सीमितता गर्न लगाउने, सडकका घुम्ती तथा मोडहरुमा सन्देशमूलक समाचार टाँस गर्ने व्यवस्था मिलाउन सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको प्रजिअ पण्डितले जानकारी दिए । पण्डितका अनुसार घाँसीकुवादेखि डुम्रेसम्मको दायाँबायाँ घाँस र रुखका हाँगा काट्ने, पुलको बीच मागमा सवारी साधन रोक्न निषेध गर्ने र ओभरटेक निषेध गर्ने व्यवस्था मिलाउन सडक डिभिजनलाई र राजमार्गमा पर्ने सबै स्थानीय तहहरुलाई राजमार्गको क्षेत्रभित्र राखिएका अवैध घर, टहरा, पसल हटाउन अनुरोध गरिएको छ ।

Advertisement

सडक तथा सडक पेटीहरुमा आवातजावतमा समस्या हुने गरी अव्यवस्थित रुपमा थुपारिएका निर्माण सामग्री, फुटपाथका पसल, सडकमा गरिएको पार्किङ, पसलको कोठा बाहिर राखिएका सामग्री तथा अन्य सामानहरुको अवरोध हटाउन प्रहरीलाई निर्देशन दिइएको छ ।

बैठकले सार्वजनिक सवारीको सिट क्षमता र अधिकतम यात्रु संख्या खुल्ने विवरण तथा सवारीचालक, सवारी चालकको विवरण, प्रमाणित गर्ने अधिकृत, सवारीधनीको नाम र मोवाइल नम्बर सहितको विवरण प्रत्येक सवारी साधनमा देखिने गरी टाँस गर्ने व्यवस्था मिलाउने र सोको अनुगमन प्रहरीले गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

राजमार्गको सुरक्षाको सन्दर्भमा सडक अवरोध हटाउनको लागि नेपाल प्रहरीसँग काठ काट्ने मेशिन (उड कटर) नभएकोले राजमार्ग भएका स्थानीय तहसँग उक्त मेसिन खरिदका लागि माग गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग एक÷एक थान मेसिन माग गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया