तनहुँ समाज युएईद्वारा ५ स्कुलमा अक्षयकोष

समाधान संवाददाता २०७६ कार्तिक ३ गते १४:२०

समाधान संवाददाता
दमौली

तनहुँ घर भई वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीको संस्था ‘तनहुँ समाज युएई’ ले ५ स्कुलमा अक्षयकोष स्थापना गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउन छात्रवृत्ति प्रदान गर्ने उद्देश्यसहित समाजले शुक्लागण्डकी नगरपालिका १२ स्थित शारदा आवि, भानु नगरपालिका १३ स्थित नेपाल इस्लामिक हनफिया मदर्सा आवि, भानु नगरपालिका ९ स्थित पूर्णिमा आवि, म्याग्दे गाउँपालिका ५ स्थित हिरामणि आवि र बन्दीपुर गाउँपालिका १ स्थित भगेरी आविमा ५०÷ ५० हजारको अक्षयकोष स्थापना गरेको हो ।

समाजले वैशाख २० गते युएईमा आयोजना गरेको सांगीतिक कार्यक्रमबाट बचेको रकमले जिल्लाका विद्यालयमा अक्षयकोष स्थापना गरिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए । विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकम समाजले शनिबार दमौलीमा कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ । करेन्ट लागेर घाइते भएका भीमाद नगरपालिकाका शिव थापालाई पनि समाजले १ लाख ८ हजार आर्थिक सहयोग गरेको छ ।

Advertisement

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले सम्बन्धित विद्यालयका अध्यक्षलाई अक्षयकोष बापतको रकम हस्तान्तरण गर्दै गरिब बालबालिकाको शिक्षाका लागि चिन्ता व्यक्त गर्दै अक्षयकोष स्थापना गर्नु प्रशंसनीय भएको बताए । विदेशमा बसेर पनि देशप्रतिको माया प्रदर्शन गरी समाजले उदाहरणीय काम गरेको उनको भनाइ थियो ।

भानु १३ स्थित नेपाल इस्लामिक हनफिया मदर्सा आविका अध्यक्ष जुमादिन मियाँले अक्षयकोषको रकमले विद्यालयमा अध्ययन गर्ने गरिब विद्यार्थीलाई पढ्ने वातावरण सिर्जना हुने भन्दै समाजप्रति हार्दिक आभार व्यक्त गरे । शुक्लागण्डकी १२ स्थित शारदा आवि अध्यक्ष हेमबहादुर थापाले रोजगारको क्रममा विदेशमा बसेर पनि जिल्लाको शैक्षिक क्षेत्रमा सहयोग गर्नु उदाहरणीय भएको बताए ।

Advertisement

समाजले स्थापना गरेको अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा उक्त विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव कृष सुनारले बताए । २०७५ सालमा स्थापना भएको समाजले सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम तथा आर्थिक सहयोग गरेको छ । महासचिव सुनारका अनुसार वैदेशिक रोजगारीका क्रममा निधन भएका बन्दीपुरका गणेश लामिछानेलाई १ लाख ५० हजार, मोटरसाइकल दुर्घटनामा घाइते भएका भानु १३ का धिरेन्द्र अधिकारीलाई १ लाख २० हजार, भरत थापालाई १ लाख यसअघि नै प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया