मुस्ताङबासीलाई सास्ती–सुख सराबरी

समाधान संवाददाता २०७६ पुष २ गते ११:५९

एसके थकाली
जोमसोम

उपल्लो मुस्ताङका विभिन्न ग्रामीण बस्तीमा शुक्रबार भारी हिमपात भयो । हिमपातले स्थानीयमा एकातिर थप उत्साह जगायो भने अर्कातिर स्थानीय सास्ती भोग्न बाध्य भए ।

समुन्द्री सतहदेखि करिब ४ हजार ५ सय मिटरमा रहेको उपल्लो मुस्ताङमा गत शुक्रबार २ फुट बढी हिउँ पर्‍यो । हिउ परेसँगै स्थानीयले स्याब्रो नाच नाचेर खुसीयाली रमाए । हिउँले उपल्लो मुस्ताङका किसानलाई उत्साहित तुल्याएको हो । हिउँ परेपछि उब्जनी बढ्ने अपेक्षा रहेको लोमान्थाङका कुंगा गुरुङले बताए । हिउद यामको हिउँले सिंचाइको काम गर्ने, स्याउ लगायतका बालीमा लाग्ने विभिन्न रोगलाई निर्मूल गर्न सहयोग पुर्‍याउने स्थानीयको विश्वास छ ।

Advertisement

मुस्ताङका अधिकांश घर परम्परागत शैलीमा माटोबाट बनेका छन् । माटोले बनेका घरमाथि सख्खर माटो बिच्छ्याइएको हुन्छ । यस्ता घर तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म प्रशस्तै छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका यस प्रकारका घर तथ गुम्बा जोखिममा पर्न थालेका छन् ।

गत शुक्रबार परेको हिउँ पन्छ्याउन स्थानीयले २ दिनसम्म कष्ठ खेप्नुपर्‍यो । लोमान्थाङका गुरुङ भन्छन्, ‘हिउँले हामीलाई उत्साहित बनायो, सँगसँगै सास्ती पनि दियो । घरको छत र गुम्बामा परेको हिउँ पन्छ्याउन लोमान्थाङबासीले २ दिनसम्म श्रमदान गर्नुपर्‍यो । गाउँ पूरै रित्तो छ, जति छौं, सबैले मिलेर हिउँ फाल्यौं ।’ स्थानीयले घरेलु उपकरण प्रयोग गरी हिउँ पन्छाएका हुन् । लोमान्थाङमा २५÷३० जनाको समूहले व्यक्तिका घर र सार्वजनिक स्थलको हिउँ पन्छ्याएको हो ।

Advertisement

हिमपातपछि उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । लोमान्थाङमा खानेपानीको समस्या पनि थपिएको छ । घरको धारामा आउने पानी जमेकाले खानीपानी लिन खोलामा पुग्नुपर्ने वाध्यता आएको छ । हिमपातपछि सञ्चार सेवासमेत नियमित हुन सकेको छैन । अत्यधिक चिसोकै कारण उपल्लो मुस्ताङका नदीनाला, धारा र खोल्साखोल्सीमा हिउँ जमेको छ । उपल्लो मुस्ताङ सुनसान भए पनि गाउँमा बसेकालाई हिउँ र चिसोले सास्ती दिएको छ । गत वर्ष लोमान्थाङ बासीले सडकको हिउँ २ पटक पन्छ््याएका थिए । गत वर्ष उपल्लो मुस्ताङी घर फर्किने बेला २ पटक भारी हिमपात भएको थियो ।

हिउँ पन्छाउन लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ घिलिङ गाउँका बासिन्दा एकजुट भए । घर, गुम्बा, सामुदायिक भवन लगायतको हिउँ युवा क्लब र आमा समूहले पन्छाएको घिलिङका निमा विवशले जानकारी दिए । उपल्लो मुस्ताङको जोमसोम–कोरला सडकसमेत अवरुद्ध छ । कागबेनी –मुक्तिनाथ सडकमा पनि सवारी सञ्चालन असहज बनेको छ । यो बाटोमा साना सवारीमात्र चलेका छन् ।

तपाईको प्रतिक्रिया