पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ५३ प्रतिशत पूरा, टर्मिनल भवनमा छाना हालियाे

समाधान संवाददाता २०७६ पुष १५ गते १५:०५
dav

समाधान संवाददाता
पोखरा

राष्ट्रिय गौरवको आयोजनामध्येकै दू्रतगतिमा काम भइरहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा छाना हाल्ने काम सकिएको छ । राष्ट्रिय (डोमेस्टिक) र अन्तर्राष्ट्रिय (इन्टरनेसनल) टर्मिनल भवन १४ हजार वर्गमिटर क्षेत्रफलमा कम्पोजिट स्ट्रक्चर (कंक्रिट र स्टिल)मा बनिरहेको हो ।

पहिलो चरण अन्तर्गत स्टिल पाताले छाउने काम सोमबार सकिएको आयोजना कार्यान्वयन इकाईका उपप्रबन्धक तथा इन्जिनियर कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘टर्मिनल भवनको छाना ३ तहमा राख्नुपर्ने हुन्छ । अब दोस्रो तहमा ‘ग्लास उड’ सामग्री हुन्छ र अन्तिम तेस्रो चरणमा स्टिल पाता राखिन्छ ।’ डोमेस्टिक र इन्टरनेसनल टर्मिनल उक्त क्षेत्रफलबाट पाटेसन गरेर उपयोगमा ल्याइनेछ । कम्पोजिट स्ट्रक्चर (कंक्रिट र स्टिल)मा बनिरहेको भवनको छाना हाल्ने काम सकिएपछि फिनिसिङ सुरु हुने इन्जिनियर पौडेलले जानकारी दिए ।

Advertisement

आयोजनाको ५३ प्रतिशत काम सकिएको छ । गत चैतमै २ हजार ५ सय मिटर लम्बाइ रन ‘वे’ काम सकिएको थियो । एप्रोन (पार्किङ एरिया) निर्माण र ९ सय मिटर लम्बाइको ट्याक्सी ‘वे’ निर्माणको काम समेत सकिएको इन्जिनियर पौडेलले बताए ।

उनका अनुसार नाला, सिँचाइ नहर ड्राइभर्सन लगायतको काम अन्तिम चरणमा पुगेको छ । ‘मुख्य पूर्वाधार निर्माण गर्ने काम अधिकांश सकेका छौं,’ उनले भने, ‘फिनिसिङ, यन्त्र जडान र विद्युतीय काम बाँकी छन् ।’

Advertisement

विमानस्थलको मुख्य कन्ट्रोल टावरका लागि बन्ने ८ तलामध्ये ७ औं तलाको काम अन्तिम चरणमा पुगेको उनले बताए । माथिल्लो तलामा भने स्टिलको काम हुने हुँदा टावर निर्माण छिट्टै सम्पन्न हुने इन्जिनियर पौडेलले जानकारी दिए । ‘अध्यागमन भवन, कार्गो भवन, उद्धार तथा अग्नि नियन्त्रण भवन र प्रशासन भवनको निर्माणको काम सकिएर फिनिसिङ गर्ने चरणमा छौं,’ उनले भने ।

पृथ्वी राजमार्गबाट टर्मिनल भवनसम्म पुग्ने ४ लेन सडक निर्माणको कामसमेत अन्तिम चरणमा छ । १ हजार १ सय मिटर लम्बाइको उक्त सडक कंक्रिट ढलान हुनेछ । बेस कोर्स, सब–बेस कोर्सको काम सकेर अन्तिम चरणको ढलान बाँकी रहेको इन्जिनियर पौडेलले जानकारी दिए ।

विमानस्थल प्रवेशद्वारबाट टर्मिनल भवनसम्म पुग्ने उक्त सडकलाई ग्रिनरी (दुबो तथा फूल) सहित निर्माण गरिँदैछ । त्यसका लागि लेनको बीच खण्डमा ३ मिटर भाग छुट्याइ सकिएको इन्जिनियर पौडेलले बताए । आसपासको भागलाई पनि ग्रिनरी बनाउने योजनासाथ माटो कटान तथा फिलिङको काम चालु अवस्थामा रहेको उनले सुनाए ।

विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी ‘चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड’ले गरिरहेको हो । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइसिएओ) मापदण्डमा तयार भएको विमानस्थलको डिजाइन ‘फोर डी’ हुने आयोजना पक्षले जनाएको छ । झन्डै २२ अर्ब चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा बनिरहेको विमानस्थल आगामी सन् २०२१ जुलाई १० (विसं २०७८ असार २६) सम्ममा निर्माण सक्ने सम्झौता छ ।

तपाईको प्रतिक्रिया