मुस्ताङमा वर्षा !

समाधान संवाददाता २०७६ माघ ३ गते १३:४२

एसके थकाली
जोमसोम

प्राय हिउँ पर्ने मुस्ताङमा बिहीबार वर्षा भएको छ । बिहीबार हिउँ नपरी वर्षा भएको देखेपछि स्थानीय अचम्मित भएका छन् । मुस्ताङमा बिहानैदेखि निरन्तर आंशिक वर्षा भएकाले जाडोसमेत अत्याधिक बढेको छ ।

बर्सेनि पुस र माघ महिनामा सधैजसो हिमपात भइरहने मुस्ताङमा यसपटक हिउँ पर्न छोडेको छ । यस वर्ष २ पटक हिमपात भएको थियो ।

Advertisement

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिसँगै मौसमसमेत असमान हुँदै आएको जोमसोमका स्थानीय बताउँछन् । यसअघि हिउँदमा कहिल्यै वर्षा नभएको नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले बताए । उनको हिउँ पर्ने समयमा वर्षा हुनु हिमाली क्षेत्रका लागि शुभसंकेत नभएको बुझाइ छ । विगत १० वर्षअघि यही समय भारी हिमपात भएको स्मरण गर्दै थकालीले पछिल्ला वर्षमा असमान हिमपात हुने गरेको उल्लेख गरे ।

जोमसोम खानेपानी उपभोक्ता समिति अध्यक्ष भीषण थकालीले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रलाई परेको बताए । उनले जोमसोम बजारलाई खानेपानीको पहसँच पुर्‍याउन एउटै मुहानले पुग्ने गरेकोमा पछिल्लो समय खानेपानीको स्रोत घटेकाले थप मुहानको खोजी गर्नुपरेको सुनाए । उनले हिमपात भए कृषि र पर्यटन क्षेत्रमा योगदान पुग्ने भए पनि हिउँ पर्ने मौसममा पानी परेकाले पुराना घरमा जोखिम बढेको बताए ।

Advertisement

गत वर्ष उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती गाउँमा असमान हिमपात हुँदा सयौं याक, चौरी र भेडाच्याङ्ग्रा मरेका थिए । यो वर्ष उपल्लो मुस्ताङको तुलनामा तल्लो मुस्ताङमा बढी हिमपात भएको हो । बढी उचाइमा कम र कम उचाइमा बढी हिमपात हुनु जलवायु परिवर्तनको असर भएको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहाल बताउँछन् । पछिल्लो समय सेता हिमाल फुस्रा देखिन थालेको उल्लेख गर्दै एक्याप प्रमुख दाहालले हिउँ पर्ने समयमा पनि हिमालको आर्कषण अझै बढ्न नसकेको बताए ।

जलवायु परिवर्तनकै कारण मुस्ताङमा वर्षा हुन थालेपछि स्थानीयमा आरसीसी घर बनाउने होडबाजी चलेको छ । सख्खर माटोले छाएका घरमा पानी पर्दा चुहिने भएकाले पुराना संरचना मासिन थालेको जनहित माविका शिक्षक प्रमिता थकालीले बताइन् । उनका अनुसार हिउँदयाममा अत्याधिक चिसो थेग्न सक्ने माटोका घर मुस्ताङको सांस्कृतिक पहिचान भए पनि सम्पदा मासिने क्रम बढेकोमा चिन्ता व्यक्त गरिन् ।

जलवायु परिवर्तनकै कारण जमीनको तापक्रम उच्च हुन थालेपछि मुस्ताङमा विभिन्न रोगको संक्रमण देखा पर्न थालेको छ । उपल्लो मुस्ताङको लोमन्थाङमा लामखुट्टे देखिएको थियो भने मुस्ताङका स्याउ, उवा, फापर, जौ लगायत रैथाने बालीले बसाइँ सार्न थालेको मार्फा बागवानी विकास फार्मका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया