पोखरामा थारुको माघी

समाधान संवाददाता २०७६ माघ ३ गते १४:०३

समाधान संवाददाता, पोखरा

थारु समाज पोखराले माघे संक्रान्तिका दिन माघी पर्व मनाएको छ । पहिलोपटक उक्त समाजले पोखरामा माघी आयोजना गरेको हो । त्यस अवसरमा बोल्दै गण्डकी प्रदेश सांसद राजीव पहारीले रत्न मन्दिरभित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुपर्ने बताएका छन् । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गर्न तिव्र लबिङ गरिरहेका सांसद पहारीले रत्न मन्दिर भित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

‘पोखरामा अब चाँडै हिमागृह र रत्न मन्दिर खुल्दैछ,’ उनले भने, ‘यो खुलेपछि रत्न मन्दिर परिसरमा सांस्कृतिक हल बनाएर त्यहीं कहिले थारु त कहिले मगर, गुरुङ, नेवार लगायतका जातिको संस्कृति प्रदर्शन गर्नुपर्छ ।’ यसो गर्दा संस्कृति पनि जोगिने र पर्यटकको बसाइ पनि लम्बिने उनको भनाइ छ ।

Advertisement

संस्कृति देशको सम्पति भएकाले यसको संरक्षण राज्यले नै गर्नुपर्ने उनले बताए । कला, संस्कृति संरक्षण गर्न नसक्ने हो भने देशको औचित्य नै नहुने उनको भनाइ थियो । ‘पर्यटक आकर्षित गर्न संस्कृतिको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘पर्यटक आगमनमा वृद्धि ल्याउन र पर्यटकको बसाइ लम्ब्याउनपनि यसले भूमिका खेल्छ ।’

सांसद पहारीले फेवाताल भौतिक, प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको बताए । उनले भने, ‘ताल सानो पोखरीमा परिणत हुँदैछ, अनि हिमाल काला पत्थरमा, पदमार्गहरु हिलाम्मे र धुलाम्मे हुँदैछ, त्यसैले यसको संरक्षणमा हामी सबै लाग्नुपर्छ ।’ फेवाताल संरक्षणका लागि सिल्टेसन ड्याम बनाउन सुरु भएको भन्दै यो सम्पन्न भएपछि फेवाताल पुरिन केही हदसम्म रोकिने उनले दाबी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया