फागुपूर्णिमाकाे अवसरमा आँबुखैरेनीमा छिम्केश्वरी महोत्सव

समाधान संवाददाता २०७६ फागुन ७ गते १३:४२

कृष्ण न्यौपाने
दमौली

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा तनहुँको आँबुखैरेनी गाउँपालिका ५ को छिम्केश्वरीमा पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । छिम्केश्वरी पर्यटन विकास समितिको आयोजना र छिम्केश्वरी सामुदायिक घरबास, हिलेखर्क सामुदायिक घरवासको सहआयोजनामा फागुन २५ देखि २७ गतेसम्म महोत्सव हुन लागेको हो ।

आयोजकले सोमबार आँबुखैरेनी गाउँपालिकामा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । पर्यटनका माध्यमबाट छिम्केश्वरीलाई देशभर चिनाउने उद्देश्यसहित महोत्सव गरिएको छिम्केश्वरी पर्यटन विकास समिति अध्यक्ष तिलबहादुर गुरुङले बताए ।

Advertisement

छिम्केश्वरी तनहुँ जिल्लाकै अग्लो ठाउँ हो । गण्डकी प्रदेश सरकारले घोषणा गरेको १ सय १० पर्यटकीय गन्तव्यमासूचिकृत छिम्केश्वरीमा छिम्केश्वरी माई, छिम्कालेक मन्दिर, यहाँका धार्मिक तथा सांस्कृतिक रीतिरिवाजले प्रसिद्ध छ । यसको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको गर्न लागिएको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ बताउँछन् ।

महोत्सवमार्फत् दीर्घकालीन, मध्यकालीन र अल्पकालीन लक्ष्य लिइएको छ । अल्पकालीन लक्ष्य अन्तर्गत धेरै पर्यटकलाई छिम्केश्वरीमा ल्याएर धार्मिक, सांस्कृतिक, पर्यावरणीय क्षेत्रको रुपमा परिचित गराइनेछ । यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक पहिचान स्थापित गर्नु मध्यमकालीन लक्ष्य हो । दीर्घकालीन लक्ष्यमा राष्ट्रकै प्रमुख पर्यटकीय गन्तव्य छिम्केश्वरीलाई बनाउनु हो ।

Advertisement

महोत्सवमा ३० वटा कक्ष रहनेछन् । २५ हजारले अवलोकन गर्ने महोत्सवमा करिबब २५ लाखको कारोबार हुने अनुमान आयोजकको छ । महोत्सव गर्नका लागि १३ लाख खर्च हुने आयोजकले जनाएको छ । महोत्सव तयारीका लागि १ सय १ सदस्यीय मूल समारोह समिति, ११ सदस्यीय सल्लाहकार समिति, ११ सदस्यीय कार्यसम्पादन समिति र १८ वटा उपसमिति गठन गरिएको छ ।

छिम्केश्वरी सप्तदेवी दर्शन, उकाली खुला दौड प्रतियोगिता, पदयात्रा, माउन्टेन वाइकिङ प्रतियोगिता, मितेरी दौड प्रतियोगिता, विद्यालयस्तरीय कौरा नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कृषि तथा वन्य पैदावरको प्रदर्शनी, फागु विशेष कार्यक्रम, छेलो हान्ने तथा लिंगो चढ्ने प्रतियोगिता महोत्सवका मुख्य आकर्षण छन् । महोत्सवमा गरिने १२ किमी दूरीको उकालो दौड, घरबासबीच ७ किमीको मितेरी दौड र पदयात्रा विशेष आकर्षण हुन् ।

छिम्केश्वरीमा प्रत्येक वर्ष फागुपूर्णिमामा मेला लाग्छ । यस वर्ष भने सोही मेलालाई पर्यटन महोत्सवका रुपमा मनाउन लागिएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए । ‘पर्यटन महोत्सवले आँबुखैरेनीका पर्यटकीय स्थल प्रबद्र्धन गरी स्थानीयको आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष थापाले भने ।

छिम्केश्वरी समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटरमा छ । छिम्केश्वरीको उचाइसम्म सडक सञ्जाल नजोडिएकाले त्यहाँ पुग्नका लागि करिब डेढ घण्टा पैदलयात्रा गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया