मुस्ताङमा फेरी पर्‍यो हिउँ

समाधान संवाददाता २०७६ फागुन ९ गते १३:०२

फोटो क्याप्सनः मुस्ताङका ५ वटै पालिकामा हिमपात । तस्विरः एसके थकाली ।

एसके थकाली, जोमसोम

हिमाली जिल्ला मुस्ताङमा शुक्रबार बिहानै देखि जारी सिजनको अन्तिम हिउँ परेको छ । धमाधम जिल्लाका शैक्षिक संस्थाको नियमित पठन÷पाठन सुरुआत भईरहेको र हिउँदयामको जाडो छल्न बेसी झरेका मुस्ताङी घर फर्किने समयमा हिमपात भएको हो ।

Advertisement

मुस्ताङका ५ वटै स्थानीय तहमा हिमपात भईरहेको छ । हिमपातका कारण फागुन १ गते नयाँ शैक्षिक सत्रको पढाई सुरु गरेका यहाँका बिद्यालयमा हिमपातपछि बिद्यालयमा बिद्यार्थी पुग्न सकेका छैन । यसअघि मुस्ताङमा ३ पटकसम्म हिमपात भएको थियो । हिउँदयाम सकिएर गर्मीयाम सुरुआतको महिनामा हिमपात भएको हो । जाँडो छल्न जिल्ला छाडेका मुस्ताङीहरु हिमपातका कारण घर फर्किन समेत अप्ठ्यारो परेको हो । उपल्लो मुस्ताङमा गत मंसिर देखि सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् ।

हिमपातले उपल्लो मुस्ताङको सडकमा हिउ जमेपछि विगत ३ महिना देखि सवारी आउजाउ ठप्प भएको यातायात व्यवसायी देव गुरुङले जानकारी दिए । उनले सडक सफा भएको खण्डमा यातायात सेवा साविक बमोजिम सुचारु गर्ने बताए । मुस्ताङमा यसअघि परेको हिउँ ओभाउदै गएको अवस्थामा पुनः हिउँ थपिएको हो । हिउँ परेपछि जोमसोम देखि मुक्तिनाथ जाने सडक अवरुद्ध भएको छ ।

Advertisement

उपल्लो मुस्ताङमा खाद्यान्न ढुवानीका लागि लोघेकर दामोदरकुण्ड–१ का अध्यक्षले डोजर लगाएर हिउँ सफा गरेको थियो भने कागबेनी–मुक्तिनाथ सडकको हिउँ वारागुङ मुक्तिक्षेत्रले सफा गरेको थियो । जारी सिजनको अन्तिम हिउँ परेपछि मुस्ताङ आउने पर्यटकलाई समेत असहज भएको छ । हिउँ पर्दा किसान उत्साहित मुस्ताङका किसानले धमाधम स्याउ बगैचा व्यवस्थापन गर्ने क्रम अन्तिम चरणमा पुग्दा हिउ परेको हो । हिउँ परेपछि यहाका किसान उत्साहित भएका छन् ।

हिउँले स्याउका बोट तथा नयाँ बिरुवालाई सिचाई आवश्यकता पुर्ति गर्ने ,हिउँले स्याउ बिरुवामा लाग्ने विभिन्न रोगका संक्रमणलाई हटाउने ,रैथानी बालीहरुलाई चाहिने कार्बनको मात्रा पुरा गर्ने र जमिनको माटोलाई मलिलो पार्न सहयोग पुर्‍याउने भएकाले हिउँ पर्नु किसानका लागि फाईदा भएको छेङ्गुरका किसान गमबहादुर गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया