‘सहारा एकेडेमीलाई वार्षिक ५ लाख’

समाधान संवाददाता २०७६ फागुन १४ गते १४:०६

समाधान संवाददाता
पोखरा

युवा तथा खेलकुद मन्त्री जगतहादुर विश्वकर्माले पोखराको सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीका लागि वार्षिक ५ लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् । सहारा एकेडेमीको मंगलबार अवलोकन गर्दै मन्त्री विश्वकर्माले राज्यले गर्ने काममा निजी क्षेत्रबाट भएकोमा क्लबको प्रंशंसा गर्दै आगामी वर्षदेखि वार्षिक ५ लाख दिने गरी रातो किताबमै पार्ने तयारी भएको जानकारी दिए ।

सहारा क्लबले स्वदेश तथा विदेशी दाताको सहयोगले फुटबल एकेडेमीसहित वार्षिक रुपमा आहा रारा गोल्ड कप गर्दै आएकोमा पोखरेली हुनुको नाताले सबैलाई गौरवको कुरा भएको उनले सुनाए । प्रतिकूलताका बाबजुद नेपालको खेलकुदले फड्को मारेको बताउँदै मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई बाँचुञ्जेल मासिक ५ हजार र ओलम्पिकमा सहभागीलाई बाँचुञ्जेल मासिक ४ हजार सहयोग गर्ने नीति सरकारले बनाएको बताए ।

Advertisement

राज्य र समाजले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कारवापतको रकम क्याबिनेटले पास गरिसकेको उल्लेख गरे । उनले भने, ‘अब खेलेर बाँच्ने आधार राज्यले खडा गरिसकेको छ, अब कुनै द्विविधा छैन, खेलसँगै शिक्षा पनि आवश्यक छ ।’

मन्त्री विश्वकर्मालार्ई सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष वीरभद्र आचार्य, विक्रम थकाली, उपाध्यक्ष विश्वराज बरालले स्वागत गरेका थिए ।

Advertisement

यता, मन्त्री विश्वकर्माले पोखरा रंगशालासमेत अवलोकन गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुदका लागि पोखरा रंगशालमा हुने विभिन्न खेल मैदानबारे सदस्य गुरुङले मन्त्री विश्वकर्मालाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया