तुवाँलोले निसास्सिएको पोखरा

सञ्जय रानाभाट २०८१ वैशाख १६ गते १०:५६

सञ्जय रानाभाट, पोखरा ।
पोखरा २ विन्ध्यवासिनीका कर्ण बस्नेतले शुक्रबार एक्कासि आँखा पोलेको अनुभूति गरे । यसअघि आँखाको समस्या नभएका उनी आत्तिए र साथीभाइ, आफन्तलाई सुनाए ।


‘घरबाहिर निस्केको थिएँ, अचानक आँखा पोल्न थाल्यो । म त आत्तिइहालें,’ बस्नेत भन्छन् । हतासिएका कर्ण छिमेकीमा पनि यस्तो समस्या रहेको सुनेपछि केही शान्त बने । ‘केही साथीहरुलाई पनि मलाई जस्तै भएको रैछ । उहाँहरुले वायुमण्डलमा प्रदूषण बढेकाले यस्तो भएको भनेपछि अहिले घरमै आराम गरिरहेको छु,’ उनी भन्छन् ।


आफूलाई आँखाको समस्या भएपछि शुक्रबार दिउँसो सामाजिक सञ्जालमा उनले सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘वायु प्रदूषण पोखरामा अत्यधिक मात्रमा बढ्यो । आँखा पोलिरहेको छ । घरबाहिर निस्कदा ।’

Advertisement


कर्णलेमात्र होइन, पोखरामा वायु प्रदूषण अत्यधिक भएपछि धेरैले सामाजिक सञ्जालमार्फत सचेत रहन आग्रह गरिरहेका छन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीकले ट्वीटरमा लेखेका छन्, ‘धेरै भयो । मानव बस्ती तुवाँलोले ढाकेको । न पानी पर्छ, न हावा चल्छ । रुघाखोकी र श्वासप्रश्वासमा समस्या थपिएको छ । सकभर घरबाहिर नजाऔैं । जानै परे माक्स लगाऔं ।’


यति बेला पोखराको आकाश धुम्मिएको छ । तापक्रमसमेत बढेको छ । पोखरा १७ मा रहेको हिमालय आँखा अस्पतालमा आँखाको समस्या लिएर पुग्नेहरु पनि थपिएका छन् । नेत्र चिकित्सक ईन्द्रमान महर्जनले एक हप्तादेखि आँखाको एलर्जी र आँखा पोल्ने समस्याका बिरामी बढेको उल्लेख गरे ।

Advertisement


‘आँखा अस्पताल भएकाले आँखाका बिरामी आउने कुरा स्वाभाविक भयो । तर, गत हप्तादेखि आँखाको पावर होइन, आँखा पोल्यो भनेर आउनेको संख्या बढेको छ,’ महर्जनले भने । यो दिनमा सरदर सय जना यस्ता बिरामी आएको उहाँको भनाइ छ । यद्यपि उनले वायु प्रदूषणकै कारण यस्तो भएको भन्ने कुनै प्रमाण भने अस्पतालसँग नभएको उनले सुनाए ।


तुवाँलोका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने यात्रुले समेत सास्ती पाएका छन् । केही दिनदेखि पोखराको आकाशमा नियमित उडान हुन सकेको छैन । दैनिक ३३ फ्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले २०, यतिले १० र श्री एयरलाइन्सले ३ वटा उडान गर्दै आएका छन् । तर, शुक्रबार ३० वटा फ्लाइट रद्ध भए । विमानस्थलमा शनिबार पनि उडान भएन ।


अन्तर्राष्ट्रिय विमानस्थलको हेल्पडेक्सले शनिबार एक हजार मिटरमात्र भिजिबिलिटी रहेको जनाएको छ । हावामा प्रदूषणको मात्रा बढ्दा कुहिरो लाग्ने, हावाको चाप बढ्दा भिजिबिलिटी कम हुने समस्या देखिएको छ । एक हप्तादेखि समयमा उडान नहुँदा बिहान एयरपोर्ट पुगेका यात्रु दिनभरि पर्खेर फर्किन बाध्य छन् ।


अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’को तथ्यांकले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ । वायु गुणस्तर सूचकांक जति कम भयो, उति राम्रो हो । वैशाख १२ गते हावाको प्रदूषण १ सय ६० एक्वुआइ थियो भने १३ गते बढेर १ सय ७८ पुग्यो ।


पोखरामा वैशाख १४ गते एक्युआई पुन बढ्यो १ सय ८५ एक्वुआई भयो । शनिबार पोखरामा प्रदूषण ह्वात्तै बढेर २ सय १४ एक्वुआईसम्म पुगेको छ । आइक्युएयरले स्याटलाइटको माध्यमबाट संसारभरिका सहरहरुको हावाको गुणस्तर मापन गरेको पोखराको यो तथ्यांकले अवस्था अस्वस्थकर रहेको पुष्टि गर्छ ।


एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि जानुचाहिँ घातक ठानिन्छ ।
….
पाेखराकाे प्रदूषण निकै खराब छ
जीवन रेग्मी
प्राध्यापक पृथ्वीनारायण क्याम्पस


पोखराको वायु प्रदूषण इन्डेक्स शनिबार २ सय ८ एक्वुआई पुग्यो । यो तथ्यांक कतिपयले अहिलेसम्मकै बढी भएको चर्चा गरेका छन् । तर पुरानो तथ्यहरुका आधारमा भन्दा लामो समयसम्म पानी नपर्नु वायु प्रदूषणको कारण हो । यसको आसपासका जंगलमा लगातार आगलागी, घरबारी सफा गर्न लगाइने आगो, कमजोर स्थानीय वायु प्रणालीसँगै अन्तदेशीय प्रदूषण केही मुख्य कारण हुन सक्छन् ।


वायु प्रदूषणको मात्रा पनि एकै दिनसमेत ठाउँपिच्छे फरक हुन्छ । शनिबार २ बजे हेर्दा पोखरामा २ सय १८ एक्वुआई पुगेको छ । सिम्पानीतिर वा पृथ्वीचोकतिर नाप्ने हो भने तीन सयको आसपास हुन सक्थ्यो होला । हामीसँग लामो समयको र सबै क्षेत्र कभर गर्ने डेटा छैन । समग्रमा पोखराको अहिलेको प्रदूषण स्वास्थ्यका लागि धेरै खराब छ ।

रोकथाम यसरी गराैं
डा सुवास अधिकारी


वायु प्रदूषण रोकथाम, नियन्त्रण गर्न केही उपाय अपनाउन सकिन्छः
नवीकरणीय ईन्धन र सफा ऊर्जा उत्पादनः वायु प्रदूषणका लागि सबैभन्दा आधारभूत समाधान जीवाश्म इन्धनबाट टाढा सर्नु हो । जीवाश्म इन्धनको सार्टो सौर्य, हावा र जियोथर्मल जस्ता वैकल्पिक ऊर्जा प्रयोग गर्नुपर्छ ।


ऊर्जा संरक्षण र दक्षताः स्वच्छ उर्जा उत्पादन वातावरणीय हिसाबले निकै महत्वपूर्ण छ तर अहिलेलाई अधिक कुशल उपकरण प्रयोग गरी हाम्रो ऊर्जाको खपत कम गर्नु बुद्धिमानी हुन्छ ।


पर्यावरणमैत्री सवारी साधनः इलेक्ट्रिक सवारी र हाइड्रोजन सवारी साधनमा अब जानुपर्छ । यस्ता इन्धनबाट चल्ने सार्वजनिक यातायातलाई बढवा दिंदा वायु प्रदूषण कम गर्न सकिन्छ ।


हरित भवनः हरित भवनले वातावरणलाई सन्तुलित राख्न कार्बन फुटप्रिन्टमा कमी ल्याउँछ ।
डा अधिकारी वायु प्रदूषणमा विद्यावारिधी हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया