जीवन रहे जगतका कुरा त छँदै छ

समाधान संवाददाता २०७७ वैशाख ३ गते १५:४४

कञ्चन थापा

लकअप जस्तै रहेछ लकडाउनको जिन्दगी । एकजना पुरुष साथीको फोन संवादको पहिलो बोली यही नै थियो । मैले किन भनेर जिज्ञासा गर्न नपाउँदै उसले थप्यो—ओहो जिन्दगीमा कहिल्यै गल्ती गर्ने छैन लकअपमा परियो भने कति गाह्रो हुने रहेछ जिन्दगी थाहा भयो ।

प्रतिप्रश्न गर्दै आफैले उत्तर दिएँ—म दिनभर मोबाइलमा हुन्छु, घरको कौसीमा र छतमा हुन्छु । परिवारसित हुन्छु । भोक र मन लागे अर्डर गर्दिए हुन्छ आमा र श्रीमतीले चौरासी व्यन्जन तयार गरिदिन्छिन् ।

Advertisement

केही काम छैन तर पनि म लकअपमा बसेको अनुभव गरेको छु साँच्चै नै लकअपमा बस्न कति गाह्रो होला है ? भन्दै उनी बोलिरहे । तिम्रो कस्तो चल्दै छ त फुर्सदै छैन होला नि ?

बल्ल यो प्रश्न चिन्हले चाहिँ उसलाई अडायो । तर उसको पछिल्लो प्रश्नले चाहिँ मलाई व्यंग्य गरेको हो कि जस्तो लाग्यो । अनि मैले उत्तर दिएँ— अँ अहिले त्यति फुर्सदै छैन मलाई किनकि लकडाउनको जिन्दगी तिमीलाई लकअप लाग्यो तर मलाई त लबअप जस्तै भाको छ ।

Advertisement

भागदौडको जिन्दगीबाट एकछिन आराम मिलेको छ, अरुका लागि खर्चिने समय म आजभोलि आफ्नै लागि खर्चिएकी छु । निद्रा पुग्थेन मस्त तीन प्रहर निदाउन पाएकी छु । परिवारसँग भलाकुसारी गर्न पाएकी छु ।

सधैं बाहिरको भागदौडको जिन्दगीमा अल्झिने म घरलाई समय दिन पाएकी छु । परिवारका रुचिका परिकार बनाएर खुवाउन पाएकी छु । त्यसैले यो समय जिन्दगीलाई भरिपूर्ण माया गरिरहेकी छु । खानपानको मेसो मिलाएकी छु । मेरो जवाफ सुनेर खै उसको मनस्थिति कस्तो भयो ।

त्यो थाहा भएन । तर उसको सोच भने परिवर्तन भयो हो त नि है तिमीले सही कुरा ग¥यौं । यति भनेर उसको र मेरो संवाद टुंगियो र फोन काटियो पनि । उसले लकडाउनलाई लकअपसित तुलना गर्दा चाहिँ सबैलाई त्यस्तै लागे अपराध कम हुन्छ कि भन्ने कुराले सोच्न थालें ।

एकजना पत्रकार अग्रज दाइ जसलाई म पत्रकारिता क्षेत्रमा मान्छु र नजानेका धेरै कुरामा उहाँसँग भलाकुसारी गरिरहन्छु । अस्ति हाम्रो फोनमा कुरा भाको थियो त्यति बेला खाना बनाउँदै थिएँ । त्यही दिन बाहिर पनि जानु थियो ।

एकजना दिदीको इन्टरभ्यु लिन म बोल्दै खाना पकाउँदै र कुरा सेयर गर्दै थिए दाइले भन्नुभयो कति गाह्रो छ है कामकाजी हाम्रा दिदी बहिनीहरुलाई भन्दै गर्दा उहाँलाई जवाफ दिएँ—दाइ यो मानेमा म भने भाग्यमानी छु है नुनदेखि सुनसम्मको जिम्मामात्रै हैन घर र बच्चादेखि मेरो जिम्मा ज्वाइँले लिनुहुन्छ ।

बिहे भएको १५ वर्ष भयो अहिलेसम्म नुन किनेकी छैन । म घर बसेको दिन बच्चाहरुलाई खाजा के दिने म ज्वाइँलाई सोध्छु । घरमा भएको दिन यति खाना बनाउनु मेरो पनि जिम्मेवारी हो नि हैन त प्रश्नमा नै फोनको संवाद टुंगियो । खै दाइले के सोच्नुभयो ।

उत्तर सायद यही लेख पढेपछि नै आउला कि प्रतीक्षामा छु । तर दाइका कुरामा भने निकै सत्य लुकेको छ किन कि श्रीमतीलाई सहयोग गर्ने पुरुषलाई दिने संज्ञा फरक छ अनि म जस्तै एकादुई होलान् भाग्यमानी नत्र हरेक महिला दोहोरोतेहेरो जिन्दगीमा आफैलाई बिर्सेर मेसिन झै पेलानमा छन् ।

अन्त जानै पर्दैन हेर्न र खोज्न । यहीँ देख्छु म हरेक दिननजिकैको छिमेकीको दैनिकी । बिहानको भाले बासेको प्रहरमा उठ्नु बेलुका अबेरसम्म आफ्नो दैनिकीमा पेलिनु परिवारमा कसैको सहयोग र सहानुभूति उनीमाथि देखाउन्न यो देखेर भाउन्न छुटेर आउँछ तर हाम्रो समाज त्यही त हो अर्काको घरको बारेमा तँलाई के मतलब पहिल्यै आउने रेडिमेड उत्तरले मात्र म मूकदर्शक बन्न बाध्य हुन्छु ।

एकजना समाजसेवी र व्यवसायी दाजुले फेसबुकमा लेख्नुभयो—टिकटकमा कोठेमोडल र कोठेगायक धेरै देख्न पाएँ, उनीहरुलाई तपाईं के भन्नुहुन्छ ? अरुसँग उहाँले जिज्ञासा राख्नुभयो ।

कमेन्ट आफ्नै पाराका कोही सकारात्मक कोही नकारात्मक देखियो । तर मलाई भने यो समयमा घरमा बसेर टिकटक चलाउँदा कतिका जिन्दगी ठिकठाक भयो होला भन्ने लाग्यो । किन कि हिजोआज थुप्रै जोडी टिकटकमा रमाएको देख्छु, एकैछिन भए पनि सिनेमाको पर्दा र उपन्यासका पात्र आफैलाई बनाएर बेतोडको अभिनय गरिरहेका छन् ।

आपसमा माया अझै प्रगाढ भयो भन्ने सम्झिए र जीवनका चालहरुमा सम्बन्धका ताल नमिलेकाका जिन्दगी अर्कै रफ्तारमा दौडियो भन्ने सम्झिएका छन् । अनि टिकटकमै भए नि घरका काममा आपूmलाई भिजाएको देखिन्छ ।

बलिउडदेखि कलिउडसम्मका कलाकारहरु यति बेला कोही भाँडा माझ्दै कोही लुगा धुँदै कोही घरको अन्य काममा व्यस्त भएका छन् । नेपालका चर्चित लोकगायक पशुपति शर्मालाई पनि उनैले गाएको गीत मलाई अमेरिका यही जापान पनि यही भनेजस्तै सब कुरा स्याङ्जामा रहेको घरबारी नै भएको छ ।

घरका बरन्डादेखि डहरको तगरासम्म उनी आजकल काममा व्यस्त देखिन्छन् टिकटकमा । वास्तविक पनि त्यही नै रहोस् । पत्रकारहरु पनि कोही गाउँमा बारी जोतेकोदेखि गाउँघरका काममा भिजेएको यही टिकटकमा देखिएको छ । म झन् सोचमा परें र एकचोटि फेरि कोरोनालाई मज्जाले गाली गरें ।

आउनु नै थियो त असार साउनतिर आएको भए हुन्थ्यो कोरोना । कमसेकम गामका ठाम र सहरका कौसीहरु बाँझो त रहन्थेनन् । अर्को वर्ष नेपालमा गएको वर्षभन्दा ठूलो अनुपातमा बालीनाली फल्यो भनेर समचार बनाउँदा कति आनन्द हुने थियो । हुन त मैले पनि चलाउँछु टिकटक ।

लकडाउनले मेरो अभिनयलाई निखारेको साथीहरुको प्रतिक्रियाले मख्ख हुन्छु । आज ३ हप्ता कटिसक्यो लकडाउनको । जिन्दगीलाई अंगालेको यही बीचमा नयाँ वर्षका रङहरु पनि चढे ।

अनि कोभिड कोरोना, लकडाउन, क्वारेन्टाइन र आइसोलेसनले ढाकिएको यो वैशाखका लागि बुनेका थुप्रै सपना र उनेका रहरहरु यो वर्ष रहरमा नै सीमित रहयो त्यति चाख भने उर्लिएर आएनमात्र रह्यो गएको वर्षको सम्झना र अब आउने वर्षको योजना, अहँ यो कहरमा कुनै रहर पलाएन । यसपालि मात्र जिन्दगीलाई कसरी बचाउन सकिन्छ जिन्दगीकी यो विषम परिस्थितिलाई कसरी पार लाउन सकिन्छ, भन्नेबाहेक सोचिएन ।

यहाँहरुलाई एउटै बिन्ती—यतिखेर घरमा नै बसिदिनु परिवारको सामीप्यता रमाउनु भगदौडको र अस्तव्यस्तको जीवनशैली र व्यस्तताको जिन्दगीबाट कहिँ कतै राहत पक्कै पनि छन्, परिवारको गहिरो माया र महत्व अझै प्रस्ट रुपमा बुझाएको यो कोरोना भाइरसले सायद मान्छेलाई संयमित र सजक बनाइदिएको छ त्यसैले अरु कुरा पछि सोच्चौंला अनि गरौंला । किनकि जीवन रहे जगतका कुरा त छँदै छ नि । घरमै बसौं सुरक्षित रहौं ।

लेखक थापा पोखराको रेडियो अन्नपूर्ण र फेवा टेलिभिजनमा आवद्ध छिन् ।

तपाईको प्रतिक्रिया