पाेखराकाे फूलबारीमा रक्तदान, १ सय २० युनिट रगत संकलन

समाधान संवाददाता २०७७ वैशाख २८ गते १०:५७

पाेखरा

कोभिड–१९ को जोखिमका कारण जारी लकडाउनमा समेत शनिबार पोखरामा खुला रक्तदान कार्यक्रम गरिएको छ ।

गार्डेन क्लब पोखरा–११ को आयोजना तथा वडा कार्यालय र फूलबारी क्लबको समन्वयमा आयोजना भएको खुला रक्तदानबाट १२० युनिट रगत संकलन भएको गार्डेन क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा दैनिक ७० युनिट रगत माग हुने भएकाले जारी बन्दाबन्दीका कारणले नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा विभिन्न संघसंस्थाले आकस्मिक कार्यक्रम गरेपछि हालसम्म रगत अभाव हुन पाएको छैन ।

वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले हालको विषम परिस्थितिलाई मध्यनजर गरी रगत अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर वडा कार्यालयले रक्तदान कार्यक्रमका लागि सहयोग र समन्वय गरेको बताए ।

Advertisement

पोखरामा लकडाउन शुरु भएको पहिलो हप्तामा रगतको अभाव भए पनि त्यसपछिका दिनमा निरन्तर आपूर्ति भइरहेको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रगतको अभाव नरहेको बताउँदै आवश्यकतानुसार रक्तदानका कार्यक्रम गर्ने गरी आगामी जेठ १५ गतेसम्मको तालिका तयार भएको जानकारी दिए ।

रगत अभाव भएको जानकारीलगत्तै पोखराबाट देशका अन्य भागमा समेत रगत पठाउने गरिएको छ । बन्दाबन्दीका समयमा काठमाडौँमा अभाव भएको जानकारी आएपछि गत हप्ता यहाँबाट १ सय ३० युनिट रगत पठाइएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया