मुस्ताङमा खोप सेवा नियमित

समाधान संवाददाता २०७७ जेठ ५ गते १९:११

एसके थकाली
जोमसोम, ५ जेठ


हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा कोरोना कहरले सिर्जित लकडाउनका बीच खोप कार्यक्रम भएको छ । यसअघि कोरोना कहरले रोकिएको नियमित खोप कार्यक्रम आइतबारदेखि सुचारु भएको हो ।


जन्मेदेखि १५ महिनासम्मका नवजात शिशुलाई लगाइने नियमति खोप जिल्लाका १५ स्थानका स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालको पालिका खोप केन्द्रमा सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । नियमति खोप कार्यक्रम जेठ ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

Advertisement

यसअघि जिल्लामा हुने नियमित खोप कार्यक्रम २ महिना लामो लकडाउनले स्थगित हुँदै आएको थियो । पछिल्लो समय कोरोना संक्रमित वृद्धि भइरहेको छ । लम्बिएको बन्दाबन्दीले खोप कार्यक्रम अन्योल बनेको थियो । सम्भावित कोरोनालाई मध्यनजर गर्दै सामाजिक दुरी अपनाएर खोप कार्यक्रम पुनः सुचारु गरिएको जिल्ला स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

कोरोना भाइरस कोभिड–१९ ले सिर्जित लकडाउनले जिल्लाभित्र खोप कार्यक्रम प्रभावित हुँदै आइरहेको स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे । बालबालिकालाई लाग्न सक्ने विभिन्न रोगसँग जुध्न खोपको मात्रा पूरा गर्नुपर्ने हुन्छ । बालबालिकाको स्वास्थ्य रक्षाका निम्ति लगाइने खोप कार्यक्रममा कुनै पनि बालबालिका बञ्चित नहोस् भन्ने हेतुले उच्च सजगता अपनाएर स्वास्थ्यकर्मीले खोप कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य प्रमुख भण्डारीले बताए ।

Advertisement

लकडाउनकैबीच सबै जिल्लाका स्वास्थ्य शाखा तथा खोप केन्द्रमा स्वास्थ्यकर्मीले माक्स, ग्लोब्स लगायत सामग्री उपयोग गर्ने र खोप लगाउनु अघि सेनेटाइजरले राम्ररी हात धोएर नवजात शिशुलाई नियमित खोपको मात्रा प्रदान गरिन लागिएको हो । बालबालिकामा हुने विभिन्न ११ प्रकारका रोगविरुद्ध प्रतिकार्य गर्न सरकारले निःशुल्क बिसिजी डिपिटी र पोलियो लगायत खोप उपलब्ध गराउँदै आइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया