हुर्किंदैछन् स्याङ्जाली चम्ल्याहा

समाधान संवाददाता २०७७ जेठ ६ गते ८:५४

अनुप पौडेल, पोखरा

अस्पताल भर्ना भएको तेस्रो दिनदेखि स्याङ्जाकी सुनीता पौडेल प्रधानको रक्तचाप विस्तारै बढ्न थाल्यो । गर्भवती भएको ९ महिना पुगेकाले जोखिम बढ्न सक्ने भन्दै चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए । सबै प्रक्रिया पुर्‍याएर २६ वर्षीया उनलाई अप्रेसन थिएटर लगियो ।

अप्रेसन थिएटर छिर्नु अघिसम्म ३ बच्चामात्र हुन्छ भन्ने लागेको थियो । अघिल्लो दिन भिडियो एक्सरे गर्दासम्म गर्भमा ३ वटा बच्चा देखिएका थिए । तर भोलिपल्ट अप्रेसन गर्दा डाक्टर नै चकित परे । सुनीताले ३ छोरी र १ छोरा गरेर ४ बच्चा जन्माइन् ।

Advertisement

यो घटना गत वर्ष माघ २ गतेको हो । ‘पहिल्यैबाट डाक्टरले पेटमा ३ वटा बच्चा छ भन्नुहुन्थ्यो । अप्रेसन थिएटर लैजानुअघि फाइल बुझाउँदासम्म ३ बच्चाको तयारी थियो । पछि ४ बच्चा देखिएछ,’ सुनीताले ४ महिना पुरानो दिन सम्झँदै भनिन् ।

मनिपाल शिक्षण अस्पतालमा जन्मिएका चम्ल्याहा । यीमध्ये १ को ६ दिनपछि मृत्यु भएको थियो ।

चम्ल्याहा शिशुको जन्म संसारभर बिरलै हुन्छ । ३ महिना हुँदासम्म उनले स्याङ्जाकै स्थानीय स्वास्थ्यचौकीमा नियमित जाँच गराउँदै आएकी थिइन् । पछि त्यहाँका स्वास्थ्यकर्मीले पोखरा जान भने । त्यसपछि पोखरा आएर ओम अस्पतालमा जाँच गराइन् । स्थिति जटिल बन्न सक्ने भन्दै ओम अस्पतालका चिकित्सकले काठमाडौं जान सुझाव दिए ।

Advertisement

परिवारका सदस्यले पनि काठमाडौं जान सुझाए । त्यहीबेला कसैले सुनाइदिए मनिपालमा अनुभवी डाक्टरले सेवा दिन्छन् । सुनीताका श्रीमान् गौरव फाइल लिएर डा. महेन्द्र पाण्डेलाई भेट्न पुगे ।

‘डा. महेन्द्र पाण्डेले पोखरामै राम्रो प्रसूति सेवा दिनुहुन्छ भनेपछि उहाँलाई भेट्न गएँं,’ दुबईमा रहेका गौरवले समाधानसँग भने, ‘३४ हप्ता भएकाले घर बस्नुभन्दा अस्पताल भर्ना हुनु सुरक्षित हुन्छ भन्नुभयो । भर्ना भएको चौथो दिन अप्रेसन गर्नप¥यो ।’

महेन्द्र पाण्डेसहित ४ जनाको टोलीले उनको शल्यक्रिया गर्‍यो । अप्रेसनपछि ४ बच्चालाई एनआइसियूमा राखियो । ६ दिनपछि १ छोरीको मृत्यु भयो । मध्यरातमा डाक्टरले ताजा रगत चाहियो भने । गौरवले रगतको व्यवस्था गरे तर सकुशल घर लैजाने चाहना पुरा हुन सकेन ।

लकडाउनले सुनीतालाई केही प्रभाव पारेको छैन । उनको दिन ४ सन्तानको स्याहारसुसारमा बित्छ ।

उनले आफ्नो मन बुझाए । सुनीतालाई त्यो खबर सुनाउने आँट गर्न सकेनन् । अप्रेसन गरेको १३ दिनपछि सुनीता २ छोरी लिएर घर गइन् । श्रीमानले अर्का छोरालाई लिएर २३ दिनपछि घर गए ।

घर गएपछि बल्ल गौरवले अस्पतालको घटना सुनाए । गौरवले जसरी नै सुनीताले पनि आफूलाई सम्हालिन् । गौरव र सुनीताका ठूला छोरा सुगम साढे ५ वर्षका भइसके । लकडाउनले सुनीतालाई केही प्रभाव पारेको छैन । उनको दिन ४ सन्तानको स्याहारसुसारमा बित्छ ।

सुनीता र गौरवका ४ सन्तान

एकैपटक ४ सन्तानका बुवा बनेका गौरव पुस अन्तिममा २ महिनाको छुट्टी लिएर नेपाल आएका थिए । केही समय परिवारसँगै बिताए ।

२ महिनालाई आएका उनी फेरि मुग्लान हानिए । संयोग, गौरव उता जाने अनि कोरोनाले महामारीको रुप लिने समय एउटै पर्‍यो । नेपालले कोरोना फैलिन नदिन तयारीस्वरुप उडान बन्द गरेकाले उनी चाहेर पनि नेपाल आउन पाएनन् । दुबईबाट दैनिक फोन गरेर गौरव घरको हालखबर सोधिरहन्छन् ।

दुबईमा आफू सुरक्षित रहेको गौरबले बताए । ‘सुरक्षित भएर काम गरिरहेको छु। मसँगै काम गर्ने सबैले दुरी कायम गरेर र मास्क लगाएर काम गर्छौं । सबैको साथमा स्यानिटाइजर अनिवार्य हुनुपर्छ,’ गौरवले भने ।

सुनीताकी ६५ वर्षीया सासुआमा बिना प्रधान नातिनातिनासँग दिन बिताउँछिन् । ‘कसैको एउटा पनि बच्चा नहुँदा कति समस्या हुन्छ । हामीलाई त भगवानले एकैपटक ४ वटा दिनुभयो,’ सुनीतासँगै रहेकी बिनाले भनिन् ।

४ सन्तानकी आमा बिना ८ नातिनातिनाका हजुरआमा हुन् । उनकी जेठी छोरीको १ छोरी छन् । कान्छी छोरीको १ छोरा र १ छोरी छन् । त्यस्तै कान्छा छोराको १ छोरा छन् ।

बिनालाई जेठो छोरा गौरवको यादले निकै पिरोल्छ । ‘यही केसमा आएर उता फर्किनेबित्तिकै कोरोना आयो । अर्काको देशमा गएको छ केकस्तो होला भन्ने साह्रै चिन्ता लाग्छ । म आफैं पनि बिरामी छु,’ भावुक हुँदै बिनाले भनिन् ।

सुनीता अस्पतालबाट घर फर्कंदा कति छिमेकीले उपचार खर्च सरकारले दियो होला भन्थे । तर कसैले खर्च दिएको थिएन । कति छिमेकी सकुशल घर पुगेका बच्चा हेर्न आइपुगे ।

सुनीताकी आमा कल्पना पौडेलको खुसी चौगुणा बढेको छ । कल्पनाका छोरातर्फ १ र छोरीतर्फ ४ गरेर ५ नातिनातिना भए । ‘नातिनातिना ५ वटा भए । साह्रै खुसी छु । तर, अब यिनलाई कसरी हुर्काउने भन्ने चिन्ता छ,’ उमेरले ५२ पुगेकी कल्पनाले सुनाइन् ।

सुनीता अस्पतालबाट घर फर्कंदा कति छिमेकीले उपचार खर्च सरकारले दियो होला भन्थे । तर कसैले खर्च दिएको थिएन । कति छिमेकी सकुशल घर पुगेका बच्चा हेर्न आइपुगे । पुतलीबजार नगरपालिकाले तीन बच्चाको पालनपोषणका लागि ५० हजार रुपैयाँ दिएको थियो ।

सुनीतालाई ती सन्तान कसरी हुर्काउने भन्ने चिन्ताले सताइरहन्छ । ‘स्वास्थ्य अवस्था राम्रो छ । खानपिनमा विशेष ध्यान दिएकी छु,’ उनी भन्छिन्, ‘भगवानले हामीलाई ४ सन्तान दिनुभयो । यिनीहरुको खुसी नै हाम्रो खुसी हो ।’

कसरी जन्मिन्छन् एकभन्दा बढी बच्चा?

डा‍ ऋचा श्रेष्ठ
प्रसूति विशेषज्ञ, गण्डकी मेडिकल कलेज

विश्वभरका तथ्यांक हेर्ने हो भने अधिकांश काला वर्णका महिलाले चम्ल्याहा पाउने गरेका छन् । पहिल्यै बच्चा भएका,कृत्रिम औषधी सेवन गर्ने र वंशाणुगत गुणले पनि महिलामा यस्तो सम्भावना बढी हुन्छ ।

जुम्ल्याहाको हकमा तौल हेरेर सामान्य डेलिभरी पनि गर्नुपर्ने हुन्छ । केही जटिल अवस्था सिर्जना हुनेजस्तो देखियो भने अप्रेसन गर्छौं ।
महिलाको एउटाभन्दा बढी अन्डासँग पुरुषको शुक्रकीटमिल्यो भने जुम्ल्याहा जन्मिन्छन् । त्यसबाहेक महिलाको अन्डा दुईभन्दा बढी भ्रुणसँग विभाजन भयो भने दुईभन्दा बढी बच्चा हुन्छ ।

विश्वव्यापी तथ्यांक हेर्दा ८० जनामध्ये १ महिलाले जुम्ल्याहा जन्माउने गरेको पाइन्छ । तिम्ल्याहा र चम्ल्याहा बच्चा गर्भमा पूरा समय बस्ने स्थिति हुँदैन । कतिको ३० देखि ३४ हप्ताभित्र शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यसरी जन्मिएका बच्चा साढे २ केजीभन्दा कम तौलका हुन्छन् ।

१७ प्रतिशत बच्चा समयअघि जन्मन्छन् भने २४ प्रतिशत बच्चाको तौल २ किलो ५ सय ग्रामभन्दा कम हुन्छ । २६ प्रतिशत बच्चाको तौल अझै सानो हुन्छ । उनीहरुको तौल १ किलो ५ सय ग्रामभन्दा कम हुन्छ ।पाठेघरमा अरु बच्चाले छेक्दा कहिलेकाहीँ पेटमा बच्चा नदेखिने सम्भावना पनि रहन्छ ।

तपाईको प्रतिक्रिया