मृतक एउटै, तर उमेर ३ वटा !

समाधान संवाददाता २०७७ जेठ २६ गते १४:१४

अनुप पौडेल, पोखरा

कोरोना संक्रमण पुष्टि भएका वालिङ–३ का पुरुषको आइतबार मध्यरातमा मृत्यु भयो । तर उनको उमरे कति हो भन्नेमा अन्योल देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको विज्ञप्तीमा मृतकको उमेर ६० उल्लेख छ ।

त्यसको झन्डै १ घन्टापछि निर्देशनालयले आफ्नो फेसबुक पेजमा अर्को विज्ञप्ती हाल्यो । त्यो विज्ञप्ती पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आइसोलेसनमा राखिएका व्यक्तिको मृत्यु भएको सम्बन्धी थियो । अहिले पेजबाट त्यो विज्ञप्ती हटाइएको छ । अस्पतालले जारी गरेको विज्ञप्तीमा मृतकको उमेर ५८ भनिएको छ ।

Advertisement

अस्पतालको विज्ञप्ती आएको ६ घन्टा पछि सुरु भएको प्रदेश सभा बैठकमा मन्त्रीले मृतकको उमेर ५९ भएको उल्लेख गर्दै श्रद्धान्जली अर्पण गरे । उनले भने, ‘एउटा दुखद समाचार छ । स्याङजा वालिङ ३ नम्बर वडाका वर्ष ५९ का हर्कबहादुर गुरुङ जो सुगर, क्षयरोगका समेत बिरामी हुनुहुन्थ्यो । उहाँ जेठ २२ गते उपचारार्थ गण्डकी अस्पताल भर्ना हुनुभएका उहाँको निधन भएको छ,’ कानुनमन्त्री हरिबहादुर चुमानले संसदमा भने ।

३ ठाउँबाट ३ वटा उमेर सार्वजनिक भए पनि मृतक भने एउटै हुन् । प्रदेशमा अरु कोही पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । तर, मृतकको वास्तविक उमेर ५८ रहेको बुझिएको छ । कोरोनासम्बन्धी सूचना तथा संचार समितिका संयोजक एवं पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेठका अनुसार परिवारका कारण उमेरमा अन्योलता देखिएको हो ।

Advertisement

उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशकको भनाए उदृत गर्दै भने, ‘परिवारले अन्दाजमा ६० भन्दा भनेर जानकारी दिएकाले ६० लेखियो । मृत्युपछि आधिकारिताको खोजी गरी नागरिकताका आधारमा ५८ कायम गरी सच्चाइएको हो ।’ पोखरामा मृत्यु भएका स्याङ्जाका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको अवस्था भारतबाट आउँदा नै नाजुक थियो ।

वालिङ ३ घर भएका उनी श्रीमतीसँगै दिल्लीबाट सुनौली नाकासम्म आएका थिए ।अवस्था नाजुक भएको पत्तो पाएपछि त्यहाँबाट फर्किनलाई नगरपालिकाले छुट्टै गाडी पठाएर उनलाई ल्याइएको वालिङका स्वास्थ्य महाशाखा प्रमुख कमल पाण्डेले जानकारी दिए ।

‘उहाँहरु सुनौली आफ्नै हिसाबले आउनुभयो । उताबाटै आउँदा बिरामी भएकाले हामीले उद्धारका लागि पठाएको गाडीमा आउनसक्ने परिस्थिति थिएन,’ उनले भने, ‘त्यसपछि प्राइभेट कार पठाएर जेठ २१ गते मध्यराति वालिङ ल्यायौं । यहाँ आएलगत्तै भोलिपल्ट बिहान पोखरा पठायौं ।’

बिरामी भएकाले थप उपचारका लागि जेठ २२ गते बिहानै श्रीमान/श्रीमती दुवैलाई पोखरा पठाइएको उनले बताए । पोखरा आएपछि स्वाब संकलन गरिएकोमा उनमा शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । मृतक पुरुषमा झन्डै आधा दर्जन शारीरिक समस्या रहेकाले रोग प्रतिरोधात्मक क्षमता निकै कम रहेको पाइएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार ती पुरुषमा उच्च रक्तचाप, सुगर, रक्तअल्पता, सेप्टिसिमिया (रगतमा ब्याक्टेरियाको संक्रमण हुने रोग) र मृगौलासम्बन्धी समस्या थियो । संक्रमण पुष्टि भएलगत्तै अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा आइतबार राति ११ः२५ बजे उनको मृत्यु भएको हो ।

ती पुरुषको श्रीमती र छोरीको भने स्वाब संकलन नभएको अस्पतालका निर्देशक आचार्यले जानकारी दिए । वालिङका यी संक्रमित कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशका पहिलो व्यक्ति हुन् । सोमबार बिहान मात्रै पोखरामा थपिएका १ संक्रमित गरेर प्रदेशभर हालसम्म १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बागलुका २ र लमजुङका १ गरी ३ संक्रमित निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया