…अनि उनी आफ्नै माटोमा अस्ताए

समाधान संवाददाता २०७७ जेठ २६ गते २१:५५

अनुप पौडेल, पोखरा

सीमाबाट आफ्ना नगरका बासिन्दालाई घर फर्काउन वालिङ नगरपालिकाले बेलाबेलामा गाडी पठाउँथ्यो । नाकामै खटिएका नगरका सम्पर्क व्यक्तिले आफ्ना नगरबासी अलपत्र परेको जानकारी पाएपछि उद्धार गर्न गाडी पुग्थ्यो ।

नगरकै ३ नम्बर वडाका ५८ वर्षे पुरुष गाडीमा आउन सक्ने अवस्थामा थिएनन् । सिकिस्त रहेको खबर आइसकेपछि नगरपालिकाले ती पुरुष र उनकी श्रीमतीलाई लिन निजी कार नै पठायो । भारतबाट आएका उनलाई शरीरमा कोरोना भाइरस छिरेको छ भन्ने लागेको थिएन । परीक्षण गरेर रिपोर्ट आउँदा बल्ल कोरोना संक्रमित भएको पत्तो लाग्यो ।

Advertisement

मृगौलाले काम गर्नै छोडिसकेको थियो, उच्च रक्तचाप, रक्तअल्पताको समस्याले पनि शरीरलाई सताइरहेको थियो । ‘उहाँहरु सुनौली आफ्नै हिसाबले आउनुभयो । उताबाटै आउँदा बिरामी भएकाले हामीले उद्धारका लागि पठाएको गाडीमा आउनसक्ने परिस्थिति थिएन,’ वालिङ नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख कमल पाण्डेले भने, ‘त्यसपछि निजी कार पठाएर जेठ २१ गते मध्यराति वालिङ ल्यायौं ।’

छिमेकी मुलुक भारतको दिल्लीबाट झन्डै ८ सय ९० किलोमिटरको दुरी पार गरेर श्रीमतीसहित उनी नेपाल छिरे । सीमाबाट १ सय २१ किलोमिटरको दुरी पार गरेर गृहजिल्ला स्याङ्जा आएका उनी वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रात बिताएर स्वास्थोपचार गर्नभोलिपल्टै झिसमिसे उज्यालोमा पोखरा हानिए ।

Advertisement

अनेकौं रोगले सताइरहेको शरीरमा विश्वलाई नै हायलकायल पारेको भाइरस छिरेको कुरा पोखरा आएको चौंथो दिन थाहा पाए । अपत्यारिलो खबर सुनेका उनलाईआइतबार दिउँसो अस्पतालकै आइसोलेसनमा भर्ना गरियो । बाँचिएला भन्ने झिनो आसले पोखरा आएका उनी अस्पतालकै बेडमा मध्यराति अस्ताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यका अनुसार अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको आइतबार राति ११ः२५ बजे मृत्यु भएको हो ।

मृतक पुरुषमा उच्च रक्तचाप, सुगर, रक्तअल्पता, सेप्टिसिमिया (रगतमा ब्याक्टेरियाको संक्रमण हुने रोग) र मृगौलासम्बन्धी समस्या थियो । रोगले जीवनमरणको दोसाँधमा बाँचिरहेका उनले मृत्युपछि पनि सुख पाएनन् ।

एउटै कोठामा उनीसँगै कोरोनाविरुद्ध लडिरहेका कास्कीका अरु ३ जनाले छेउकै बेडको शवसँग आइतबारको रातमात्रै होइन सोमबारको दिन पनि बिताए । जिउँदै हुँदा रोगले थलिएको शरीर आइसोलेसन वार्डकै शय्यामा १९ घन्टा बस्यो । शव व्यवस्थापन गर्ने ठाउँ खोज्दाखोज्दै साँझ प¥यो । अन्ततः ६ महिनाअघि दिल्ली पुगेका उनको त्यहाँबाट १ हजार ८१ किलोमिटरपर अन्त्येष्टि गरियो । उनी अस्ताउनमात्रै आफ्नै भूमिमा आएजस्तो भयो ।

नेपाली सेनाको पोखरा फूलबारीस्थित भगवती गणले उनको शव पोखरा ११ को रिठ्ठाघाटमा व्यवस्थापन गरेको हो । शव व्यवस्थापन गर्ने ठाउँ खोज्न पोखरा महानगरलाई दिनभर लागेको थियो । स्थानीयको विरोधका बीच शवको व्यवस्थापन गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । संक्रमित कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशका पहिलो व्यक्ति हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार मृतक पुरुषको श्रीमती र छोरीको भने स्वाब संकलन भएको छैन । उनले भने, ‘दुवैजना मालेपाटनमा महानगरले बनाएको क्वारेन्टाइनमा हुनुहुन्छ । त्यहाँ बसेको १ हप्ता पुगेपछि मात्र स्वाब संकलन गर्छौं ।’

कास्की जिल्लामा अहिलेसम्म ५ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये ४ जनाको पोखरा र १ जनाको काठमाडौंमा उपचार भइरहेको छ । अरु सबैको ट्राभल हिस्ट्री भए पनि काठमाडौंको अस्पतालमा उपचाररत पोखरा आलुमाइला चोकका ६० वर्षीय पुरुषको ट्राभल हिस्ट्री छैन ।

ती संक्रमित गत मंगलबार डेरामै बेहोस भेटिएपछि काठमाडौं लगिएकोमा उतै पुगेपछि कोरोना पुष्टि भएको हो । पेसाले कानुन व्यवसायी रहेका उनको सम्पर्कमा आएका ३९ जनाको पहिचान भएको छ । उनीहरुको आइतबार स्वाब संकलन गरिएकोमा मंगलबार बेलुका मात्र नतिजा आउने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख सपना सुवेदीले जानकारी दिइन् ।

सम्बन्धित समाचार

वालिङका संक्रमित भारतबाट आउँदै सिकिस्त, नगरपालिकाले छुट्टै गाडीमा ल्याएको थियो

वालिङका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पाेखरामा मृत्यु

कोरोनाबाट मृत्यु भएका पुरुषको शव २० घन्टापछि व्यवस्थापन

तपाईको प्रतिक्रिया