साहित्यकार नाजिम हिक्मत र उनको संघर्ष

समाधान संवाददाता २०७७ जेठ २७ गते १३:२४

राजेन्द्र भण्डारी


जुनबेला टर्कीमा स्वतन्त्रता संग्रामको क्रान्ति चलिरहेको थियो, त्यसबेला टर्कीका महान क्रान्तिकारी नेता नाजिम हिक्मतलाई जेल चलान गरियो । त्यसबेला उनकी प्रियसीले नाजिमलाई सोधिन्, ‘नाजिम अब जेलमा तिमीले टर्की, क्रान्ति र आफ्ना साथीहरु तथा संघर्षका गाथाहरुको बारेमा सोच्दै जीवन बिताउँछौ होला । फर्केर हेर त, अब मेरो के होला ? अब मसँग एक्लो जीवन, शून्यता र विगतका स्मृतिबाहेक अरू केही हुने छैनन् ।’
प्रत्युत्तरमा नाजिम हिक्मतले आफ्नी प्रियसीका लागि प्रत्येक २४ घन्टामा रातको ठिक ९ बजेदेखि १० बजेसम्मको १ घन्टा समय उनलाई स्मरण गर्नेे सर्तमा करारनामा गर्दछन् । उनी जेलमा प्रत्येक साँझ १ घन्टा कापी कलम लिएर एकान्तमा बस्दथे । मौनता र कल्पनामा उनी आफ्नी प्रियसीलाई सम्झन्थे ।

Advertisement

जेल जानुभन्दा अगाडि केबल उनी एक क्रान्तिकारी नेता थिए जब जेलबाट उनी बाहिर आए तब उनी एक सरल, सहज र लोकप्रिय कवि बनेर निस्किए । नाजिम हिक्मतले जेलमा बसेर प्रियसीको सम्झनामा प्रकट गरेका भावनाको एक अंशलाई यहाँ यसरी प्रस्तुत गरिएको छ :

प्रिय निकात्रो, त्यही पोसाक
जुन पोसाकको तिम्रो पहिलो पहिरनमा
मैले पहिलो पटक तिमीलाई देखेको थिएँ
अति सुन्दर,
वसन्तमा पालुवा चढेका वृक्षजस्तो
लगाऊ आफ्नो शिरको कपालमा
त्यही रातो गुलाफको फूल
जसलाई मैले पत्रसाथ जेलबाट पठाएको थिएँ ।
उठाऊ आफ्नो गोरो, चौडा र उज्यालो अधिर
चुम्न लायक
बिछोडको उदासी आज कदापि हुनु हुँदैन,
आज हुनुपर्छ
नजिम हिक्मतकी प्रियसी
सुन्दर इस्तानबुलको विद्रोही झन्डाजस्तै ।

Advertisement

आफ्नी प्रियसीलाई सदा मातृभूमिको विद्रोही झन्डामा सदा सदाको लागि देख्न चाहने बिसौं शताब्दीका महान् कवि नाजिम हिक्मत हुन् । टर्कीमा ‘नााजिम हिक्मत रन’ वास्तविक नाम भए तापनि आमरूपमा उनी अमर कवि नाजिम हिक्मतको नामबाट परिचित थिए ।


जेलको कालकोठरीमा बसेर क्रान्ति र बलिदानको सन्देश प्रवाह गर्दै आएको पनि १२ वर्ष बितिसकेको थियो । एक एक दिनले उनलाई एक युगको यातना दिएको थियो । तानाशाहको शासनबाट उनी कत्ति पनि विचलित भएका थिएनन् र उनी डराएका पनि थिएनन् ।


उनको जन्म १९०१ मा अट्टोमन साम्राज्यको रूपमा रहेको टर्कीको सैलोनिका भन्ने गाउँको एक धनाढ्य परिवारमा भएको थियो । उनको बाल्यकाल अत्यन्त सुखसयलमा बितेको थियो । उनको मृत्यु सन् १९६३ मा सोभियत रुसमा भएको थियो । जीवनको कुल ६२ वर्षको उमेरमध्ये उनले ४७ वर्ष साहित्यिक यात्राका विभिन्न विधाहरुः नाटक, उपन्यास र यात्रा संस्मरण आदि लेखेर बिताएका थिए । जीवनलाई राजनीतिक कारणबाट टर्कीको स्वतन्त्रताको लागि समर्पित गर्दै नाजिमले जीवनका करिब १८ वर्ष जेलको काल कोठरीमा बिताएका थिए भने १३ वर्ष विभिन्न देशको निर्वासनमा होमिनु परेको थियो ।

सरकारको नजरमा उनी एक विद्रोही तथा अराजक थिए भने टर्कीका जनताका आशा र भरोसाका केन्द्र थिए । टर्कीका जनताले उनलाई अघोर माया र विश्वास गर्दथे । उनको रचनामा टर्कीको परम्परागत झलक, गाउँ, सहर आदिको सजीव चित्र प्रस्तुत भएको पाइन्छ भने देशभक्ति नै उनको काव्यको मेरुदण्ड वा वास्तविक विशेषता थियो । संसारभरि उनको कविता अनुवाद भइरहँदा आफ्नो मातृभूमिमा प्रतिबन्धित थियो ।
नाजिम हिक्मतको कविताको तागत जनता र सिद्धान्तप्रतिको उत्कृष्ट आस्थामा अडिएको थियो । जसको कारणबाट नै उनको कविता संसारभर चर्चित हुनुको साथै अत्यधिक मानिसहरुद्वारा रुचाइएका थिए । नाजिम हिक्मतलाई एउटा महान् मार्गदर्शक कविको रूपमा टर्कीले स्मरण गरेको छ । टर्कीको बारेमा लेखिएको उनको सुप्रसिद्ध कविता ‘मेरो देश’ हो । यसमा उनले आफू र आफ्नो देशबीचको एकात्मक सम्बन्धलाई वर्णन गरेका छन् । यी सम्बन्धहरु देश र जनताका बीच एक अर्कामा सम्बन्धित रहेका हुन्छन् । विभिन्न रूप, पल र आयामहरुमा यो सम्बन्ध साकार भएको हुन्छ ।

जसलाई एक अर्कासँग टुक्रयाएर महसुस गर्न सकिँदैन भन्ने कुरा बताएका छन् । तिमी कुनै खेत हौ, म खेत जोत्ने टेक्टर हुँ, कवितामा कवि नाजिम हिक्मतले देशलाई एउटा खेत र जनतालाई खेत जोत्ने टेक्टरसँग तुलना गर्दै अगाडि भन्छन्ः खेत जीवनको आधार हो । जबसम्म खेतलाई घातक घाँसपात, विषाक्त किराबाट मुक्त गरिँदैन तबसम्म त्यहाँ खेती गर्न सम्भव हुँदैन । अर्थात् कुनै पनि विरुवा सार्न वा बाली रोप्न सकिँदैन । ठिक त्यसै गरी देशमा विद्यमान दमन, अन्याय र अत्याचारबाट मुलुकलाई स्वतन्त्र गराउनका लागि देशरूपी खेतको गरा, आँठो र कान्लामा भएका घातक घाँसपात र विषाक्त किराको विरुद्धमा कठोर संघर्षको विकल्प नभएको सन्देश दिएका छन् । नाजिम हिक्मत भन्छन्ः
तिमी मेरी अर्धांगिनी हौः मेरो छोराकी जननी । तिमी कुनै गीत हौ, म सारंगी हुँ ।

नाजिमका कवितामा देश र जनताबाहेक अरू कसैको पनि स्वायत्त अस्तित्व देखिँदैन । देशका लागि वास्तवमा एउटा सत्य लोककविले मात्र देश र जनताका ध्वनीहरू सुनेका हुन्छन् र अत्यन्त माया पनि गर्दछन् र देश र जनताका लागि मर्न पनि पछाडि हट्दैनन् । मानाैं तिमी चीन हौ र म महान क्रान्तिकारी माओको सेनाको सिपाही हुँ । यहाँ कविले देशप्रतिको अतुलनीय प्रेम र जनताको स्वतन्त्रता संग्राममा अनिवार्य रूपमा भाग लिनुपर्ने कुरालाई स्पष्टसँग राखेका छन् । आधुनिक चीनका निर्माता तथा महान् क्रान्तिकारी नेता माओको नेतृत्वमा रहेको लालसेनाले चीनको साम्राज्यवादी तथा क्रूर शासनबाट मुक्त गराई समाजवादी समाजको स्थापना गरेको थियो ।

तिमी नै हौ मेरो अति सुन्दर सहर
तिमी नै हौ मेरो अति भव्य सहर
तिमी हौ मेरो मद्दतको आवाज
तिमी हौ मेरो देश
र तिमीतिर अग्रसर हुने हरेक कदमहरु मेरा हुन् ।

कविहरु आफ्नो देश र जनतासँग एकताबद्ध जनाउँछन् । जसले देशलाई माया गर्दछ उसले देशवासीलाई पनि माया गर्दछ र जसले देशलाई माया गर्दैन उसले देशवासीलाई पनि माया गर्दैन । तसर्थ देशप्रेम र देशवासीहरुलाई माया गर्ने कार्य एक अर्काका पर्यायवाची हुन् । यस्ता लोककविले मात्र समयले बिर्सेका र क्षितीजबाट हराएका स्वतन्त्रता संग्राममा भएका संघर्षको गाथालाई जगाउने गर्दछन् ।

जब उनी युवा हुँदै गए तब उनले आफ्नो देशभित्र देशवासीहरूका बिचमा अभाव, विभेद र दमन जस्ता समस्याहरुलाई देखेर आश्चर्यमा परे । आफ्ना देशवासीहरुको जीवनस्तरमा आकाश जमिनको अन्तरलाई महसुस गर्न थाले । जीवनमा ग्लानिको रापले सताउन थाल्यो । आफ्नो जीवनलाई धिक्कार्न थाले । यी सबै परिस्थितिले युवा नाजिम हिक्मतलाई सोच्न बाध्य बनायो कि देशको नागरिक भएको नाताले मलाई पनि त्यतिमात्र सुविधा प्राप्त गर्ने अधिकार छ जति एउटा सामान्य नागरिकले प्राप्त गर्दछ ।

परिणामस्वरूप आफ्नो वैभवशाली जीवन पद्दतिलाई स्वेच्छाले त्याग गरेर निर्धनताको जीवन पद्दतिलाई स्वीकार गर्न पुग्दछन् । देशको आम निर्धन जनताको एक अभिन्न अंग बन्न पुग्दछन् । टर्कीको अत्याचारी शासक, विदेशी साम्राज्यवादी शक्तिको विरुद्धमा देशभक्त जनताको आवाजलाई बुलन्द बनाउने र स्वतन्त्रता प्राप्तिको संग्राममा आफ्नाे जीवनको परवाह नगरीकन मृत्युलाई सहर्ष स्वीकार गरी अगाडि बढेका देशभक्तहरुको मोर्चामा नाजिम हिक्मत किन पछाडि रहन सक्थे ?

उनले सारा घरबार छोडेर टर्कीलाई तानशाह शासनबाट स्वतन्त्र गराउने अभियानमा लागेका बलिदानीहरुको टोलीमा समावेश भए ।

रुसी क्रान्तिलाई प्रत्यक्ष रूपमा महसुस गर्ने उद्देश्यले केही समयका लागि उनी रुस गए । केही समयको रुसी बसाइमा उनले रुसी साहित्यको गम्भीर अध्ययन गर्नुका साथै रुसी कवि माइकस्कीको काव्य कौशल र शिल्प कौशलबाट धेरै प्रभावित भएका थिए ।

लेनिनको माक्र्सवादी विश्व दृष्टिकोणले उनलाई धेरै प्रेरणा प्रदान गर्‍यो । फलस्वरूप उनको साहित्यिक जीवनमा नयाँ मोड आयो र आफूलाई नयाँ नाजिम हिक्मतको रूपमा निर्माण गरे । उनी नयाँ टर्कीको धरातलमा विद्यमान पुरानो, दरबारी र निर्जीव कविताको शैलीलाई हटाएर नयाँ शैलीमा नयाँ कविताको जन्म दिन सफल मात्र भएनन्, जनसमुदायमा क्रान्तिकाे बिगुल बजाउनसमेत सफल भए ।

पुरानो शैलीअनुसार छन्दको बन्धनलाई तोडेर नयाँ कविताको लागि यस्तो छन्दको सृजना गरे जसको माध्यमबाट विचारलाई स्वतन्त्रतापूर्वक व्यक्त गर्न सकिन्थ्यो । मानिसका दुख सुख जस्ता मानवीय संवेगहरूलाई आफ्नाे हृदयका संवेगहरूका रूपमा स्वीकार गर्ने भएको हुँदा कविहरुलाई पृथ्वीको सर्वश्रेष्ठ प्राणीका रूपमा लिइन्छ । जनतालाई आत्मीय बनाउन र नजिक ल्याउनको लागि कविता यस्तो भाषा र शैलीमा लेखिनुपर्छ जसलाई हरेक देशका आम मानिसहरुले महसुस गर्दछन् र दैनिक कार्यमा बोल्दछन् । नाजिम हिक्मतले पनि त्यही गरे । तत्कालीन टर्कीका जनताका आवाजहरू र बोल्ने शैलीलाई आफ्नो कवितामा साभार गरे ।

टर्कीमा भइरहको स्वतन्त्रता संग्रामको आन्दोलन, आम मानिसहरुको आन्दोलनमा सहभागिता र जनताको बलिदानपूर्ण संघर्षका साथै मातृभूमिप्रतिको बिछोडको माझमा उनी केही वर्षका लागि भए पनि सोभियत रुसमा रुसी साहित्कारहरूसँग साहित्यिक गन्थन मन्थन गर्दै कसरी रहन सक्थे ? अन्ततः उनी मातृभूमि फर्के । टर्कीका जनताले आफ्ना आशा र भरोसाका क्रान्तिकारी नेता तथा प्रिय कवि नाजिम हिक्मतलाई दिलदेखि नै भव्य स्वागत गरे । एकातर्फ उनको कविताले देशमा क्रान्तिकारी र देशभक्ति भावनलाई विजारोपण गरिसकेको थियो भने अर्कोतर्फ निरकुंश र तानाशाही सरकारको लागि नाजिम हिक्मत विष्फोटक बारुद बनेका थिए । नाजिम हिक्मतको लोकप्रियतासँग तानाशाही सरकार डराएर जनताको स्वतन्त्रता संग्राममा भाग लिएको आरोपमा उनलाई तीन वर्षको सजाय दिएको थियो । जेल सजाय पूरा भएपश्चात् उनी चुप लागेर बसेनन् । बरु तानाशाही शासनको अन्याय, अत्याचार र दमनको विरुद्धमा झन कट्टर रुपमा प्रस्तुत हुँदै आफ्नो आवाजलाई अझै तेज बनाउँदै लगे ।

उनको कवितालाई जनताले आफ्नो दिलको आवजका रूपमा स्वीकार गरी दिलमा नै स्थान दिएका थिए । उनका कविता अब देशका किसान, मजदुर, कर्मचारी र विद्यार्थीसम्म मात्र सीमित नभई प्रहरी र सेनामा पनि पुगेको थियो । जसले गर्दा तानाशाही सरकार आन्दोलनलाई दबाउन बाध्य बनेको थियो । तानाशाही सरकारसँग अब नाजिम हिक्मतको आवाजलाई थुन्ने र उनको लेखन कार्यमा प्रतिबन्ध लगाउने एउटा मात्र उपाय बचेको थियो । यसको लागि साम, दाम, दण्ड र भेदको नीति अपनाई सेनामा साम्यवादी विचारधारालाई प्रवाह गरेको आरोपमा एक विशेष अदालतमा मुद्दा चलाई २८ वर्ष कारावासको सजाय सुनाइयो । सरकारको यस्तो निर्णयबाट जनतामा कुनै आश्चर्यजनक प्रभाव परेन बरु जनताहरु खुसी भए किनकि उनलाई मृत्युदण्ड सजाय सुनाइएन ।

नाजिम हिक्मतलाई जेलमा अन्य कैदी सरह नराखीकन उनलाई अलग्गै राखियो । उनका सम्पर्कमा आएका कैदीहरुलाई विद्रोही बनाई क्रान्तिमा सहभागी गराउँछन् भन्ने डरका कारणले गर्दा उनलाई एकान्तमा राखियो र बिभिन्न किसिमका तनाबका साथ टर्कीका जनतासँगको सम्बन्धलाई टुटाउने प्रयास बराबर गरियो । तर पनि हिक्मत नाजिमको हिम्मत टुटेन । उनी झन् कडा बन्दै गए । उनले आफ्नो आत्मविश्वासलाई घट्न दिएनन् । हरेक अँध्यारोमा उज्यालो हुन्छ भनेझैं सम्भावनाका उज्यालो किरणले उनलाई स्पर्श गर्दथ्यो । अबका दिनमा टर्की र टर्कीका जनताका दुस्मनहरूका बिरुद्ध लड्नका लागि सबैभन्दा ओजिलो र धारिलो शस्त्र कविता नै हो भन्ने कुरामा विश्वस्त बनी विभिन्न माध्यमबाट आफ्ना कविताहरुलाई समाचार पत्र र पत्रिकामा नाम परिवर्तन गरी प्रकाशित गर्दथे । उनी आफ्नो काम र आस्थासँग सरोकार राख्ने महान् कवि भएकाले उनले आफ्नाे परिवर्तित नामप्रति कुनै आपत्ति र पश्चताप थिएन । तर टर्कीका सम्पूर्ण देशबासीहरू कवितामा फरक नाम भए तापनि यो आफ्ना प्रिय कवि हिक्मत नाजिमको कविता हो भन्ने कुरामा विश्वस्त थिए ।


जेलको कालकोठरीमा बसेर क्रान्तिकारी र बलिदानको सन्देश प्रवाह गर्दै आएको पनि १२ वर्ष बितिसकेको थियो । एक एक दिनले उनलाई एक युगको यातना दिएको थियो । तानाशाहको शासनबाट उनी कत्ति पनि विचलित भएका थिएनन् र उनी डराएका पनि थिएनन् । यो दौरानमा तानशाह शासकको तनाव, पीडा र सजायको साथै भोजन र कपडाको अभावले नाजिम हिक्मतको शरीर शिथिल भइसकेको थियो । उनको स्वास्थ्य बिग्रँदै गएको थियो । मुटुको डरलाग्दो रोगले उनको साहस र हिम्मतको परीक्षा लिन खोजिरहेको थियो । खुट्टाको पीडाबाट उनी एक ठाउँबाट अर्को ठाउँमा चल्न पनि सक्थेनन् । तर पनि टर्कीलाई तानाशाहको शासनबाट मुक्ति दिलाउन, टर्कीका जनताको प्यारो स्वतन्त्रतालाई हस्तान्तरण गर्न र टर्कीको मंगलमय भविष्यको कामना गर्दै उनी बाँचिरहेका थिए ।


लामो एकान्त कारावास अवधिमा नाजिम हिक्मतले तानाशाह शासनबाट यातना, दमन र पीडासिवाय अरू केही पनि प्राप्त गरेनन् । यस्तो विषम परिस्थितिमा एउटा आम मानिसले कि त आत्महत्या गर्दछ कि त ऊ पागल भएर पागलखानामा बस्दछ । तर नाजिम हिक्मत त्यति सजिलैसँग हार मान्ने नेता थिएनन् । उनले देशाबासीहरुलाई टर्कीको सुनौलो सपना र उज्यालो भविष्यसँग जोडेका थिए । देशभक्तहरु, देशका लागि बलिदान गर्नेहरू र जेलमा रहेका कैदीहरूमाथि जतिसुकै चरम दमन गरे तापनि हामी सबै जीवित रहनु पर्दछ । किनकि टर्की जनताको त्याग र बलिदानको अगाडि तानाशाहको शासन अवश्य पनि ढल्नुपर्दछ र जनताले अवश्य पनि स्वतन्त्रता प्राप्त गर्नेछन् । नाजिम हिक्मतले आफ्ना कविताकामार्फत् स्वाभिमानपूर्ण जीवन बाँच्नको लागि अभूतपूर्व प्रेरणादायी सन्देश दिएका छन् ।

जीवनको अन्तिम अवस्थातिर संघर्ष, त्याग र जेलभित्रको वातावरणले नाजिमको स्वास्थ्य अवस्था झन् बिगँ्रदै गयो । जेल प्रशासनको सजाय, दमन र उपेक्षाको विरुद्धमा साथै न्यायको माग गर्दै नाजिम हिक्मतले भोक हड्तालको घोषणा गरे । नाजिम हिक्मतको भोक हड्तालको समाचार संसारमा बिजुली सरह पैmलियो । टर्कीका विभिन्न ठाउँहरूमा अपार सहानुभूति प्रकट गरियो । रिहाइका लागि करोडौँ मानिसको आबाज बुलन्द भयो । परिणामस्वरूप टर्की सरकार बाध्य भएर नाजिम हिक्मतलाई रिहाई ग¥यो । तानाशाह सरकारलाई अत्यधिक डर थियो त्यसैले टर्कीको तानाशाह सरकारले नाजिम हिक्मतलाई पूर्ण स्वतन्त्रता दिएन । उनको आबाज पूरा टर्कीको जनताको आबाज थियो जसलाई सधैँका लागि टर्की सरकार बन्द गर्न चाह्न्थ्यो ।

जीवनको ६१ वर्षको उमेरमा मुसलमानहरुको महान् पर्व मुर्हरमको दिन देशको भुगोलभन्दा बाहिर सोभियत रुसको मास्को सहरमा सदा सदाको लागि महान क्रान्तिकारी नेता तथा जनताका कवि नाजिम हिक्मत खुदाको प्यारा बनेका थिए । त्यो दिन केबल मुस्लिम समुदायको लागि मात्र नभएर सारा संसारको लागि शोकको दिन थियो । किनकि त्यो दिन विश्वका एउटा महान कवि तथा क्रान्तिकारी नेताले सबैलाई जगाएर आफूले निर्वाण प्राप्त गरेका थिए ।

नाजिम हिक्मतको जन्म टर्कीको सभ्रान्त परिवारमा भएर पनि उनको जीवन अत्यन्त संघर्षमा व्यतित भयो र मृत्यु रुसको मास्कोमा हुन पुग्यो । तर उनको विश्व साहित्यिक धरातलमा फुलेका धेरै फूलको बास्नाले सारा संसारलाई नै सुगन्धित बनाएकोे छ । निश्चय पनि यस्ता कालजयी कवि र जनताका क्रान्तिकारी नेतालाई श्रद्धाको नमन ।
(विभिन्न स्रोतहरुमा आधारित रहेर)

तपाईको प्रतिक्रिया