छुवाछुत विरुद्धको युद्ध

समाधान संवाददाता २०७७ जेठ २९ गते १५:५२

मोहम्मद वाहिद अली


जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा प्रष्ट भनिएको छ । कसैले जातीय भेदभाव वा छुवाछुत गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न हुँदैन । तथापि जातीय छुवाछुतका सन्दर्भमा नेपालको पहिलो लिखित कानुन मुलुकी ऐन १९१० सावित भयो । किनकि मुलुकी मुलुकी ऐन १९१० मा प्रष्ट लेखिएको थियो– ठूलो जात, सानो जात, अनि ठूलो जातले सानो जातको हातबाट खान नहुने, खाए दण्डित हुने आदि ।

यसको बाबजुद इतिहासकारहरु जंगबहादुरको पालामा लिखित मुलुकी ऐन पूरा राणा शासनकै एक ठूलो उल्लेखनीय उपलब्धि मान्दछन् । जसले त्यसबेला व्याप्त जातीय छुवाछुत तथा भेदभावको अवस्थालाई चित्रण गर्दछ ।

Advertisement

अन्तत २०२० साल भदौ १ गते राजा महेन्द्रको समयकालमा मुलुकी ऐनलाई संशोधन गरेर नयाँ मुलुकी ऐनको रूपमा लागु गरियो । नयाँ मुलुकी ऐनले नेपालमा प्रचलित जातीयता, लिंगभेद तथा छुवाछुत प्रथालाई समाप्त गर्न सक्ने मुक्तिदाताको रूपमा देखियो । दुर्भाग्य, जातीय छुवाछुत तथा भेदभावको जरो हाम्रो समाजमा यति दरिलो सँग गडेको छ कि कानुन बनेको आधा शताब्दि बितिसक्दा पनि जातीय छुवाछुत तथा भेदभाव निर्मुल हुन सकिरहेको छैन । २१ औं शताब्दिमा पनि विभिन्न बहनामा यस्को गन्ध आइरहन्छ । नीति, ऐन तथा कानुन मुकदर्शक छ । नीति, ऐन तथा कानुन अथवा कुनै जातिको कृपाले जातीय छुवाछुत तथा भेदभावको अन्त्य असम्भव छ । यसका निम्ति समुदायनै जागरुक हुनु आवश्यक देखिन्छ ।


हालका दिनहरुमा मुस्लिम समुदायमा केही तिक्तता अनि असन्तुष्टि सामाजिक सञ्जालमा पोख्दा प्रयोग हुने शब्दहरु निकै क्रुर हुन्छन्

Advertisement

जेठको दोस्रो साता पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा कथित उच्च जातीय अहंकारको ताण्डवले निम्त्याएको रुकुम नरसंहारले एकपटक नेपाली समाजलाई लज्जित पारेको छ । अझ भनौं नेपाली समाजको वास्तविकताको मुखुन्डो खोलिएको छ । विजातीय प्रेमका नायक २१ वर्षीय नवराज विश्वकर्मासहित ६ जनाको विभत्स हत्या वास्तवमा काल्पनिक सिनेमाको दृष्यभन्दा भयानक थियो । मानवताविरुद्धको एउटा बर्बर अपराध रुकुम नरसंहारले केही व्यक्तिका निम्ति रुकुम जिल्लाको ट्रोल बनाउने मसला भयो होला । तर विश्वभर नेपालीको शिर झुकेको छ । नेपालीको मानवीय समवेदना माथि प्रश्न उठेको छ । त्यसो त एउटा सज्जन नेपाली जसलाई यो घटनाले नदुखेको कहाँ होला ।


केही दशक पहिलेसम्म मुस्लिम समुदायको अवस्था निकै कमजोर थियो । मुस्लिम समुदाय पनि दलित अथवा दलन भएको समुदायकै अवस्थामा गुज्रिरहेको थियो । दलित अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरूबाट शोषण र उत्पीडनमा परेका छन् । कथा, व्यथा अनि परिस्थिति समान थियो । तथापि हाम्रो समुदायले आफूहरुलाई कुनै पनि अवस्थामा दलित भनेर स्वीकार गरेन । राज्य तथा अन्य समुदायले कस्तो रुपमा चित्रण गर्दछन् सरोकार भएन । किनकि दलित शब्द नै विभेद्को पहिलो कडी हो भन्ने हेक्का हाम्रो समुदायलाई थियो । टाठाबाठा व्यक्ति, समूह तथा पार्टी दलित शब्दका आधारमा राजनीति गरेर उचाइमा पुगे तर सतही उपलब्धि शून्य भयो । दलित शब्द राजनीतिज्ञ, अधिकारकर्मी तथा सरकारी गैरसरकारी संस्थाहरुका निम्ति मागिखाने बाटो र कथित उच्च वर्गका निम्ति तुच्छाउने, हेप्ने शब्दको रुपमा प्रयोग भइरह्यो । हाम्रो समुदायले आफूहरुलाई दलित समुदाय नमान्दैमा समुदायको उत्थान भएको पक्कै होइन । तर हामी दलित होइनाैं भन्दै गर्दा आफ्नो आत्मसम्मान मजबुत पक्कै भएको थियो ।


हालका दिनहरुमा मुस्लिम समुदायमा केही तिक्तता अनि असन्तुष्टि सामाजिक सञ्जालमा पोख्दा प्रयोग हुने शब्दहरु निकै क्रुर किसिमका हुन्छन् । मुख्यत विश्वका कहलिएका अधर्मी जसले धर्मका नाममा मानवको हत्या गरी संसारभरी आतंक मच्चाए तिनै जमातसँग हामीलाई जोड्ने गर्दछन् । यो त केबल मिथ्या आरोप हो । योभन्दा भयानक स्थिति जातीय छुवाछुत तथा भेदभावको थियो । कथित उच्च वर्गका मनिसहरु आफ्नो तिक्तता अनि असन्तुष्टि पोख्दा निकै तुच्छ भाषाको प्रयोग गर्नुका साथै तुच्छ व्यवहार देखाउने गर्दथे । जसको प्रभाव यतिसम्म थियो कि हरेक मनिसहरु आँफैसँग युद्ध गर्न थाले । आफूसँग अर्थात् गरिबी, अशिक्षा तथा आफ्ना कमजोरीहरुसँग । जुन भुसको आगोजस्तो थियो । भित्र भित्रै दन्किने । तर यो कसैका निम्ति घातक थिएन । हाम्रो समुदाय बिना आन्दोलन, बिना राज्यको सहयोग, बिना संघसंगठन, बिना एनजिओ आइएनजिओ बिना गैर समुदायप्रति आलोचनाको युद्ध लड्यौं । वास्तवमा हामीले युद्ध जित्यौं । जित्ने क्रममा छौं ।

समाजभित्रको यो असमानता बराबरीसम्म आइपुग्न हाम्रो समुदायलाई दशकांै लाग्यो । यो पक्कै पनि सहज थिएन । हाम्रो समुदायले जातीय छुवाछुत तथा भेदभावको अवस्थालाई शन्तिपूर्ण ढंगले जित्नु पछाडि धेरै उल्लेखनीय कार्यहरु ग¥यो जसको चर्चा गर्नु उचित होला ।

आर्थिक अवस्थामा सुधारः
सर्बप्रथम हाम्रो समुदायलाई गरिबी नै जातीय छुवाछुत तथा भेदभावको प्रमुख कारण हो भन्ने महसुस हुँदै गयो । वास्तवमा उच्च वर्ग उच्च हुनुको मुल कारण आर्थिक सम्पन्नता थियो । त्यसैले हाम्रो समुदाय आर्थिक अवस्थामा सुधार ल्याउन पहिलो संघर्ष थाल्यो । सिप, कला, कृषि तथा व्यापारिक पृष्ठभूमि भएका मुस्लिम समुदाय परम्परागत शैली त्याग्दै आधुनिकीकरण तर्फ उन्मुख हुँदै गए । जसले गर्दा आय आर्जनमा सुधार भयो । त्यसो त पछिल्लो समय वैदेशिक रोजगारीले पनि महत्वपूर्ण भूमिका खेल्यो । आर्थिक अवस्थामा सुधार आउँदै गर्दा समाजमा छुवाछुत तथा भेदभावमा निकै कमी आउन थाल्यो । अझ भनौं समान हैसियत बन्न थाल्यो ।

शिक्षामा सुधार
शिक्षित भए उच्च जाति कहलिने कुरालाई हाम्रो समुदायले प्रष्टरुपले बुझ्दै गयो । शिक्षित वर्गलाई उच्च सम्मान उहिले पनि थियो र अहिले पनि छ । त्यसैले शिक्षा हाम्रो समुदायको प्राथमिकतामा प¥यो । अहिलेको नयाँ पिँढी साक्षर मात्र होइन शिक्षित हुँदै गएका छन् । केही दशक पहिले विदेश गएर आफ्नो आर्थिक अवस्थालाई सुधार गरेको हाम्रो समुदायको अबको क्रान्ति शैक्षिक क्रान्ति हो भन्ने बुझेको छ । उच्च शिक्षा प्राप्त गर्नेको जमात दिनानुदिन बढ्दै छ । उच्च शिक्षा प्राप्त गर्नका निम्ति विदेशतिर जानेको संख्या बढ्दो छ । जसले समाजले समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।

सामाजिक उत्तरदायित्व
सामाजिक उत्तरदायित्व हरेक सचेत नागरिकको कर्तव्य पनि हो । त्यसैले हाम्रो समुदाय समाजको उन्नति र प्रगतिका निम्ति आर्थिक, भौतिक तथा सामाजिक क्षेत्रमा सहयोग तथा सहभागिता जनाउन अग्रसर भयो । विकास निर्माणका कार्य तथा भौतिक संरचना जस्तो धार्मिक स्थल, धर्मिक पाठशाला तथा समाधिस्थलको निर्माण, संरक्षण तथा संवद्र्धनका निम्ति आफ्नै स्रोत, साधन र सहयोगले सम्पन्न गर्न थाल्यो । जसले गर्दा समाजमा आफ्नो समुदायलाई उदाहरणीय देखाउन मद्दत पुग्यो ।

राजनीतिक चेतनाको विकास
राजनीति बिना समुदायको उन्नति हुँदैन भन्ने ज्ञान पछिल्लो पिँढीमा धेरै बढेको पाइन्छ । फलत हरेक राजनीतिक गतिविधिमा हाम्रो समुदायको उल्लेखनीय उपस्थिति देखिन्छ । जसको कारण हरेक राजनीतिक दलहरुमा हाम्रो समुदायको अवस्था तथा हक अधिकारको चिन्तन बढेको छ । साथै केन्द्रदेखि स्थानीय तहसम्म पहुँच तथा प्रभाव बढेको छ । जसले समुदायको पहिचानका निम्ति महत्वपूर्ण भूमिका खेलेको छ ।

नैतिक, स्वास्थ तथा सरसफाई शिक्षा
परिवार तथा समाजभित्र बोलीचाली तथा व्यवहारले आफ्नो पहिचान देखाउँदछ । जुन नैतिक शिक्षाको आवस्यकता महसुस हाम्रो समुदायले ग¥यो । परिवार तथा सामाजिक कलह, गालीगलौज, अभद्र व्यवाहार, गन्यमान्य व्यक्तिको अनादर आदिमा धेरै सुधार ग¥यो । स्वास्थ तथा सरसफाई जसलाई कथित उच्च जातिले धेरै महत्व दिने गर्दथे । जसलाई हाम्रो समुदायले महत्वका साथमा लियो ।


जातीय छुवाछुत तथा भेदभावको विरुद्द हाम्रो समुदायले ‘माछा मागेर खान होइन, माछा मारेर खानु पर्छ’ भन्ने सिद्दान्त अबलम्बन ग¥यो । हामी हाम्रो अवस्थालाई परिवर्तन ल्याउनका निम्ति कसैको सहारा लिएनौं, कसैलाई दोष थुपारेनौं । हाम्रो शैक्षिक अवस्था, आर्थिक अवस्था तथा राजनीतिक अवस्थाको सुधारका निम्ति हामी परनिर्भर नहुनु हाम्रा लागि सुखद कुरा भयो । अब हाम्रो परिवर्तनका कारण हाम्रो आवाजमा शक्ति छ । हामी समाजमा समान हैसियतमा हिँडेका छौं । राज्यले हाम्रो अधिकांश महत्वपूर्ण हक अधिकार सुनिश्चित गरिदिएको छ । ती अधिकारप्राप्त गर्न हामी सक्षम हुनु पर्दछ । यति भनिरहँदा हामी उच्च वर्ग कहलियाैं भन्ने होइन । हामी बीच समस्या छैनन् भन्ने होइन । दूरदराज अहिले पनि थुप्रै समस्या छन् तथापि ती समस्याका सुधारका निम्ति हामीसँग सम्पूर्ण अधिकार राज्य व्यवस्थाले दिएको छ । अब हाम्रो अधिकार कथित उपल्लो जातिले खोसिदियो भनिरहने अवस्था छैन । हाम्रो समुदायमा आएको राजनीतिक, आर्थिक र शैक्षिक परिवर्तनले नत राज्य, राजनीतिक दल तथा कथित उच्च जाति कसैले हामीलाई पाखा लगाउने अवस्था छैन ।

नामको पछाडि जोडिने थरले उच्च ठान्नेहरु तर कर्म तथा व्यवहारले कमजोर जो सुकै पनि छुवाछुत तथा भेदभावमा परेका छन् । कथित उच्च जातिका कतिपय व्यक्तिहरु हाम्रो घरभित्र होइन आँगनमासम्म बस्ने इजाजत हुँदैन । जसमा स्वास्थ सरसफाइका कुराहरु हुन्छन् । यहाँ मनन गर्नु पर्ने कुरा के हो भने । हाम्रो देशमा मात्र होइन विश्वमा छुवाछुत तथा भेदभाव अहिले पनि व्याप्त छ । तर हाम्रो देशमा कतिपय मनिसहरुले यसलाई जात, जाति अथवा धर्म सँग जोडेर हेर्ने ग¥यौं । वास्तवमा हाम्रो समुदायले यस्लाई जात, जाति अथवा धर्मभन्दा पनि अशिक्षा, गरिबी, अज्ञानता, चेतनाको कमी तथा स्वास्थ्य सरसफाइको कमी आदि हो भन्ने बुझ्यो । यी सम्पूर्णविरुद्ध आँफैसँग युद्ध लड्यो अनि जित्यो अनि जित्ने क्रममा छ ।

तपाईको प्रतिक्रिया