नजिकका साथीबाटै ३ हत्याकाण्ड, कता जाँदैछ समाज ?

समाधान संवाददाता २०७७ असार २ गते १९:०७

ईश्वर देवकोटा
पोखरा

घटनाः १

पोखरा १४ समितराका ज्ञानबहादुर परियारले त्यहिँका विमल रानाभाटलाई घनले टाउकोमा हानेर ज्यान लिए ।

Advertisement

उक्त घटनाको नालीबेली जेठ ३ गते मात्र कास्की प्रहरीले पत्तो पायो । १ महिनाअघि नै विमललाई मारेर ज्ञानबहादुरसहित ७ जना मिलेर घर नजिकै बारीमा गाडेका थिए ।

लास उत्खनन गरी कास्की प्रहरीले हत्यमा संलग्नको खोजी गर्यो ।

Advertisement

विमलको हत्या ठूलै कारणले नभई सामान्य रिसइवीका कारण भएको प्रहरीले पत्तो पायो ।

ज्ञानबहादुरले विमलको हत्या योजनाबद्ध तरिकाले गर्न घरमै बोलाएर घरेलु मदिरा खुवाएका थिए ।

उनले आफ्नी श्रीमतीसँग नाजायज सम्बन्ध राखेको शंकाकै भरमा साथी विमलको ज्यान लिए ।

ज्ञानबहादुरसहित आशिष परियार, देवबहादुर परियार, सञ्जय दर्जी, सागर परियार, सुरेन्द्र तामाङ र विकास दर्जी हत्या संलग्नतामा तानिए ।

उक्त घटनामा कास्की जिल्ला अदालतले ४ जना ज्ञानबहादुर, देवबहादुर, सञ्जय र सागरलाई पुर्पक्षका लािग थुनामा पठाएको छ ।

आशिष परियार, सुरेन्द्र तामाङ र विकास दर्जीसँग जनही ४५ हजार धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसक्दा आशिष र विकास पनि थुनामै छन् ।

घटनाः २

पोखरा २६ सुन्दरीबजार बस्ने सुजन विक मजदुरी गर्थे । उनी त्यहाँ भाडाको घरमा परिवारसहित बस्दै आएका थिए ।

एउटै घरमा भाडामा बस्ने प्युठान घर भएका प्रकाश घर्तीमगर र थमन पुनमगर उनका साथी थिए । यी दुवै विद्युतको काम गर्थे ।

सुजन जेठ ३ गते राति साढे ७ बजेदेखि राति साढे ९ बजेसम्म ती दुवै साथीसँग बसेर मदिरा खाइरहेका थिए ।

मदिराले लठ्ठ ३ जना घरबाट निस्किए । बाटोमा यसै हिडिँरहेका उनीहरु आपसमा भनाभन गर्न थाले । सुजनले अपशब्द प्रयोग गर्दै प्रकाश र थमनलाई गाली गर्न थाले । विवादकोे घेरो गालीमै सिमित रहेन ।

आवेशमा उत्रिएका थमनले सुजनलाई पछाडिबाट टाउकोमा मुक्का बर्साए । सुजन जोडले चिच्याउन थालेपछि प्रकाशले ढुंगा टिपेर फेरि टाउको पछाडि नै बजारे ।

सुजनलाई दुवै जनाले ढुंगाले एकोहोर प्रहार गरिरहे । टाउकोमा चोटैचोट बनाएर उनीहरु त्यहीँ बाटो छेउको ढुंगाले बारी घेरिएको पर्खाल कटाएर घरतिर फर्किए । घटनाको अनुसन्धानमा खटिएका १ प्रहरी अधिकृतले चोट लागेपछि सुजनको प्राण गएको बताएका थिए ।

सुजनको शव लुकाउन उनीहरुले पोखरा २६ भीसेनस्थानस्थित फर्निचर पसलको पछाडि रहेको बारीलाई रोजे ।

१२ बजे पुगी खाल्डो खनेर शव लुकाए । छोरा हराएको खोजीदिन निवेदनसहित इलाका प्रहरी कार्यालय डाँडाको नाक चौकीमा सुजनकी आमा पुगेकी थिइन ।

सुजन ३ दिनपछि जेठ ६ गते अनुहार नचिनिने अवस्थामा भेटिए । हत्यामा संलग्न प्रकाश र थमन कास्की जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन् ।

घटनाः ३

पोखरा २९ पट्नेरीका अमित रसाइलीले भर्खरै नयाँ बाइक किनेका थिए ।

बाइक किनेको खुसी साट्न उनले मनपेट मिल्ने ४ साथीलाई पार्टी दिन जेठ ३१ गते राति पोखरा ३३ बाघमारा चौर पुगे ।

सुनम गुरुङ, शंकर सुनार, मनिष श्रेष्ठ र कृष्ण सुनार उनका निम्तालु थिए । घरेलु मदिरा, चाउचाउ र चुरोट लगायतका खानेकुरा खाँदै अमित साथीहरुसँग रमाइरहेका थिए ।

मदिराले मातिएपछि अमितको साथीहरुसँग विवाद चल्यो । उनले भर्खरै बाइक किनेकाले बाइककै चर्चा बढी थियो ।

कसको बाइक राम्रो र कसको प्रेमिका राम्री भन्ने विषयमा विवाद बढ्दै गएपछि अमितका साथीहरु आवेशमा आए । उनलाई हेल्मेट र ढुंगाले प्रहार गरे ।

मदिराले होस गुमाएका साथीहरुले अमितको ज्यानै लिए र सेतीमा बगाइदिए । जेठ ३२ गते बिहान ३ बजे तिनै ४ मध्येका १ ले प्रहरी कन्ट्रोल रुममा फोन गरेर साथी हराएको सूचना दिए ।

खानतलासीपछि आइतबार बिहानै ७ बजे पोखरा ३२ रातोपैरास्थित सेतीमा अमितको शव प्रहरीले फेला पार्यो । शंकाको घेरामा तानिएका अमितका साथीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थाल्दा घटनाको तथ्य पत्ता लाग्यो ।

अमितलाई सेतीमा बगाएको उनीहरुले प्रहरीसमक्ष स्वीकारेका छन् । प्रहरीले उनीहरु विरुद्ध कास्की अदालतबाट म्याद लिइ कारवाही बढाइएको छ ।

उल्लिखित ३ वटै हत्या प्रकरण एउटै विषयमा केन्द्रित भएको देखिन्छ । साथीबीचको व्यक्तिगत रिसइवी, आपसी विवाद र सामाजिक प्रतिष्ठामा तुलनाका कारण घटनाको जन्म भएको छ ।

घटनामा संलग्न १८ देखि २६ वर्ष उमेर समूहका छन् । मजदुरी लगायतका कामबाट उनीहरुको दैनिकी गुजारा चलेको थियो ।

उक्लँदो युवा उमेरका उनीहरुबीच देखिएको मतभेदमा संयमता नअपनाई आक्रोश निभाउन साथीकै हत्या गर्नसम्म पछि परेनन् ।

कोरोना भाइरसका कारण मुलुकमा जारी लकडाउनकै बीच पोखरामा भएका ३ वटा हत्याका घटनाले नयाँ बहस छेडेको छ ।

एउटै घरमा बहालमा बस्ने सुजन विक, प्रकाश घर्तीमगर र थमन पुनमगर, एउटै वडाबासी अमित र उनका ४ साथी र विमल रानाभाटको शंकाकै भरमा ज्यान लिने एउटै टोलका ज्ञानबहादुर परियार र उनका ६ साथी ।

यिनीहरुबीचमा ठूलै मतभेद नरहँदा नरहँदै पनि साथीको हत्यासम्म पुगेका घटनाले सर्तक बनाएको छ ।

छोटो अवधिमै भएका ३ घटनाको छानबिन निश्कर्षमा पुर्याएका कास्की प्रहरी प्रमुख तथा एसपी दानबहादुर कार्की उक्त घटनाको जन्म सामान्य कारणबाटै भएको बताउँछन् ।

‘समाजमा व्यक्तिका थुप्रै समस्याहरु छन् । सामाजिक, आर्थिक र युवाहरुमा बेरोजगारी,’ उनी भन्छन्, ‘तर यी घटनामा मोटरसाइकल, प्रेमिकाका विषयमा भनाभन हुँदा साथीबीचमै प्रहारमा उत्रिएको देखिन्छ ।’

लकडाउनसँग नजोडी हेर्दा पनि युवाहरुमा पर्याप्त मनोसामाजिक परामर्शको खाँचो उनी औंल्याउँछन् ।

स्थानीय तहले युवाहरुमा मनोसामाजिक परामर्श दिलाउन त्यस किमिसको तयारी गर्नुपर्ने उनको भनाइ छ । पोखरा महानगरमै कास्की प्रहरीले परामर्श उपलब्ध गराउन अनुरोध गरिरहेको एसपी कार्कीले सुनाए ।

‘३ तहको सरकारमा संवेदनशील स्थानीय तह नै हो,’ उनी भन्छन्, ‘समाजले नैतिकवान र अनैतिकवानलाई एकै ठाउँमा उभ्याइदिन्छ । नैतिकवान र अनैतिकवान भन्दा पनि पहुँचवान भनेर हेर्ने दृष्टिकोण समाजको छ । तर राज्यले हेर्दा स्थानीय तहमा शिक्षा र रोजगारीको कुराहरु पर्छन् ।’

रोजगारी सिर्जनासँगै मानिसको जीवनशैलीमा आउने परिवर्तनले अन्य गतिविधिमा सोच्न नदिने उनको धारणा छ ।

‘खाली दिमाग सैतानको बास’
प्राडा निर्मल लामिछाने
मनोचिकित्सक

हाम्रो पूर्खाहरुले भनेको विश्लेषण राम्रो छ, खाली दिमाग सैतानको बास । अहिलेको अवस्थामा गर्ने काम छैन । लकडाउनको समय छ । दिमाग खाली छ ।

दिमाग खाली भएपछि उमेरसमूह अनुसारको सैतानी काम गरिन्छ । मादक पदार्थ लगायतका नसाजन्य वस्तुहरुको प्रयोगले घटना जन्माउन उद्दत गरिरहेको हुन्छ ।

नसाले मानिसको संकोच हटाउँछ । नबोल्ने गम्भीर मान्छेलाई अल्कोहलको प्रयोग पछि एकदमै बोल्ने बनाइदिन्छ । आँटिलो बनाउँछ ।

आत्महत्याका घटनामा पनि कुनै नसाको सहारा लिएर गरेको अनुसन्धानले देखाएको छ । यी घटनाहरुमा मनोरञ्जनका लागि सजिलै पाइने मदिरा पनि कारण देखिन्छ ।

तर यस्ता सामाजिक घटनाहरुमा राज्य जिम्मेवार बन्नुपर्छ । जस्तै मदिराको विज्ञापन हिरोहरुले गर्ने चलन छ नेपालमा ।

बाहिरी मुलुकमा बन्द गरिएको पाइन्छ । यी कुराहरुमा पनि नियन्त्रण हुनुपर्छ । अहिले लकडाउन छ । यो कुनै प्लान भएर गरेको होइन अप्रत्यासित हो ।

तर बेरोजगार समस्या नहुने हो भने मनोचिकित्सकको हैसियतले यस्ता घटनाहरु हुन पाउँदैनन् म ठोकुवा गर्न सक्छु ।

युवाहरुमा मनोपरामर्शको आवश्यकता देखिन्छ । सामाजिक शिक्षा अन्तर्गत अब पाठ्यक्रम नै परिमार्जन गरेर हुन्छ वा त्यससम्बन्धी नयाँ विषय समावेश गरेर विद्यालय तहबाट नै पढाउनु पर्छ ।

मोरल साइन्सलाई हाम्रो शिक्षाले बढावा दिएको देखिन्न । शिक्षा विद्हरुले पाठ्यक्रममाथि विचार गर्नुपर्ने बेला भइसकेको छ ।

तपाईको प्रतिक्रिया