मुस्ताङका सामुदायिक विद्यालयलाई सञ्चार उपकरण

समाधान संवाददाता २०७७ असार ११ गते १९:१६

एसके थकाली
जोमसोम, ११ असार


हिमाली जिल्ला मुस्ताङका ३ स्थानीयतहका ५ सामुदायिक विद्यालयलाई करिब १ करोड ३० लाख रुपैयाँ बराबरको १ सय ३४ थान कम्प्युटर तथा सञ्चार उपकरण हस्तान्तरण भएको छ । मुस्ताङको ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानको समन्वयमा उक्त सामग्री हस्तान्तरण भएको हो

नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७६/०७७ को वार्षिक विनियोजित बजेट कार्यक्रम अनुसार देशका ७ वटै प्रदेशका ९ सय ३० सामुदायिक विद्यालयलाई प्रविधि हस्तान्तरण भएको हो । सामुदायिक विद्यालयको आइटी दक्षता माथि उकास्न कम्प्युटर लगायत सञ्चार प्रविधि उपकरण प्रतिष्ठानले जनाएको छ ।

Advertisement

आइटी ल्याब स्थापना परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्रतिष्ठानले बुधबार र बिहीबार मुस्ताङमा कम्प्युटर लगायत सञ्चार उपकरण विद्यालयलाई हस्तान्तरण गरेको प्रतिष्ठानकी अध्यक्ष सबी शेरचनले जानकारी दिइन् ।

यसअघि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले मन्त्रालयसँगको समन्वयमा जिल्लाका ५ सामुदायिक विद्यालयलाई प्रविधि मैत्री विद्यालयको रुपमा आइटी ल्याब स्थापना गर्न पहल गरेको प्रतिष्ठानकी अध्यक्ष शेरचनले बताइन् । उनले चालु आर्थिक वर्षको बजेट भएकाले कोरोना कहरकैबीचमा जिल्ला आएर सञ्चार उपकरण हस्तान्तरण गरेको उल्लेख गरिन् ।

Advertisement

सरकारबाट प्राप्त सामग्री चालु आर्थिक वर्षभित्रै हस्तान्तरण नभएको अवस्थामा प्राप्त बजेट फ्रिज हुने भएकाले प्रतिष्ठानले प्रविधि हस्तान्तरणलाई अघि बढाएको उनको भनाइ थियो ।

जसअनुसार मुस्ताङका ५ विद्यालयलाई आवश्यकता र औचित्यताका आधारमा करिब १ करोड ३० लाख रुपैयाँ बराबरको आइटी (सञ्चार—प्रविधि) ल्याब स्थापनाका लागि उपकरण हस्तान्तरण भएको हो ।

ल्याब स्थापना गर्न सरकारले बजेट विनियोजन गरेअनुसार मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत ज्ञानोदय मावि लेतेलाई २४ थान, जनआदर्श मावि कोबाङलाई २० थान, घरपझोङ गाउँपालिका जनबाल मावि मार्फालाई १५ थान, जनहित मावि जोमसोमलाई २४ थान र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनशान्ति माविलाई १० थान कम्प्युटर लगायत सञ्चार उपकरण हस्तान्तरण भएको प्रतिष्ठानले जनाएको छ ।

मुस्ताङको जनहित माध्यमिक विद्यालयको उकरण हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीले सरकारले सञ्चार प्रविधि उपलब्ध गराएर सामुदायिक विद्यालयको क्षमता उकास्न सहयोग पु¥याउने बताए । उनले विगतमा विद्यालयले २ थान कम्प्युटरबाट विद्यार्थीलाई आइटी शिक्षा दिँदै आएको र अब विद्यार्थीलाई ल्याब सञ्चालनपछि सहज हुने जनाए ।

सामुदायिक विद्यालयलाई कम्प्युटर, सिसी क्यामेरा, प्रोजेक्टर, ब्याट्री ब्याकआफ, लेखाइ सामग्री, इन्टरनेट वाइरिङ र इलेक्ट्रिकल सामग्री हस्तान्तरण भएको हो ।

प्रतिष्ठानले यस वर्ष आइटी ल्याबको सुविधा पाउन नसकेको उपल्लो मुस्ताङको दिव्यदीप मावि छोसेर र थासाङको योगेन्द्र मावि टुकुचेलाई आगामी आर्थिक वर्षको कार्यक्रममा समावेश गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।

तस्बिर: मुस्ताङका सामुदायिक विद्यालयलाई कम्प्युटर लगायत सञ्चार उपकरण हस्तान्तरण गर्दै प्रतिष्ठान ।

तपाईको प्रतिक्रिया