ओशो : सेक्स गुरु कि ध्यान गुरु ?

समाधान संवाददाता २०७७ असार २३ गते १९:४४

खिम लामिछाने काजी

ओशो भन्ने शब्द सुन्नेबित्तिकै धेरैको दिमागमा ‘सेक्स’ शब्द पनि जोडिएर आउँछ । ओशोको नाम लिनासाथ कतिपयले सेक्सलाई पनि सम्झिन्छन् । वास्तवमा के ओशो साँच्चीकै सेक्स गुरु थिए त ?

के ओशोले जीवनभर सेक्सकै मात्रै कुरा गरेका थिए त ? ओशोलाई किन सेक्स गुरु भनियो ? के ओशोका अनुयायीहरु सेक्समा छाडा हुन्छन् त ? ओशो आश्रममा त सेक्स फ्री हुन्छ रेन्त हो ? यस्ता थुप्रै प्रश्न ओशो संन्यासी तथा ओशोप्रेमीलाई सोधिने प्रश्न हुन् ।

Advertisement

सन् १९३१ डिसेम्बर ११ मा भारतको भोपाल प्रान्तमा जन्मेका चन्द्रमोहन जैन, आचार्य रजनीश, भगवान श्री रनजीश हुँदै ओशोको नामले प्रसिद्ध छन् । उनी आध्यात्मिक गुरु हुन् ।

ओशो शब्द अमेरिकी दार्शनिक तथा मनोवैज्ञानिक विलियम जेम्सले प्रयोग गरेको शब्द ओशेनिकबाट उनका अनुयायीले ओशो नामकरण गरिदिएका थिए । जसको अर्थ सागरमा विलीन हुनु भन्ने हुन्छ । उनले १०८ भन्दा बढी ध्यानका प्रयोगको विकास गरेका थिए ।

Advertisement

ओशोको सन् १९९० मा पुणेस्थित आफ्नो आश्रममा ५९ वर्षको उमेरमा देहान्त भयो । उनको मृत्युको कारण अहिलेसम्म पनि रहस्यमै छ ।

ओशोको बारेमा स्वामी आनन्द अरुण भन्छन्, ‘ओशो अरुसँग दाँज्नै नमिल्ने एक बुद्ध पुरुष हुन् । दर्शनको परिकल्पना गर्नेमात्र होइन बनाउने र व्यावहारिक चिन्तक हुन् । ओशो बोलेको कुरा पूरा गरेर देखाउन सक्ने व्यक्तित्व हुन् । उहाँ अभूतपूर्व वैज्ञानिक, विलक्षण, सिर्जनशील, संगीत र कलाप्रेमी बुद्धपुरुष हुनुहुन्छ ।’

ओशोलाई सेक्ससँग जोडिनुको कारण नबुझेर भ्रमवस र सीमित ज्ञानको कारण हो भन्छन् स्वामी आनन्द अरुण । ओशो, बुद्ध, मीरा, कृष्ण, गीता र उपनिषद्को पदहरुको व्याख्याता हुन् । सेक्सबाट मुक्त गराउने दर्शन नै ओशो दर्शन हो ।

मान्छेले २४ घण्टामा सबैभन्दा धेरै सोच्ने गरेको विषय नै सेक्स हो । हरेक स्वस्थ पुरुषले प्रत्येक ३ मिनेटमा १ चोटि र प्रत्येक स्वस्थ्य महिलाले ७ मिनेटमा १ चोटि सेक्सबारे सोच्छन् । यो कुरा विज्ञानले नै प्रमाणित गरिसकेको छ ।

कक्षा ८–९ तिर स्वास्थ्य विषयमा ‘प्रजनन स्वास्थ्य’ च्याप्टर हुन्थ्यो । त्यो किताब हात परेपछि सबैभन्दा पहिले त्यही च्याप्टर पढिन्थ्यो ।

स्कुलमा शिक्षकले त्यो च्याप्टर पढाउँदा निकै रोमान्चित भइन्थ्यो । त्यतिबेला स्वास्थ्यको किताब सेक्ससँग सम्बन्धी छ भन्ने दिमागमा परिरहन्थ्यो । सत्य के थियो भने १५ वटा विभिन्न विषयका च्याप्टर भएको पुस्तकमा सिर्फ सेक्समात्र देख्ने हाम्रो सोच र अहिले ओशोलाई ‘सेक्स गुरु’ भन्नेहरुको सोच उस्तै हो ।

ओशोका अनुसार चिया पिउँदै गर्दा पनि ध्यान हुन्छ, खाना खाँदा, हिँड्दा, दौडिँदा, सुत्दा जीवनका हरेक आयाममा ध्यान हुन्छ । त्यस्तै सेक्स अथार्थ सम्भोग गर्दा पनि ध्यान हुन्छ, बस सेक्सलाई ध्यानमा लैजाने कला जान्नुपर्छ ।

कतिपय आफ्नो श्रीमतीसँग सम्भोग गरिरहँदा प्रेमिका वा अन्य स्त्रीको कल्पना गरिरहेका हुन्छन । सायद यस्तैले ओशोलाई ‘सेक्स गुरु’ भन्छन् । सेक्स गर्दा ध्यान हुन्छ भनेकै आधारमा ओशोलाई सेक्स गुरु भनियो ।

उनका ७५० भन्दा बढी किताबमध्ये जम्मा २–३ वटा किताबमा सेक्सबारे बोलेका छन् । त्यो पनि ध्यानसँगै जोडिएको सन्दर्भमा । ओशोले सेक्सलाई लुकाएर सकिँदैन, चाहनालाई दबाउन सकिँदैन भनेका छन् । बारम्बार छापाहरुमा आइरहन्छ फलानो बाबाले बलत्कार ग¥यो, ढिस्कानो बाबाले महिला माथि हातपात । सेक्सबारे ओशोले भनेको सबैकुराहरु सही सावित हुँदै गएको पाइन्छ ।

उनले यौनबारे सत्यतथ्य बोलेका छन् । जुनकुरा समाजका केही व्यक्तिलाई पचेको छैन, जसले ओशोलाई ‘सेक्स गुरु’ भनी आरोप लगाए । ओशोले सेक्सलाई आँखामा आँखा राखेर होसपूर्वक हेर्न सिकाएका छन्, त्यो पनि ध्यानमार्फत । सेक्स होस् वा अन्य जुनसुकै विषय किन नहोस् ओशोका हजारांै प्रवचनको सार भनेको ‘न भोगो न भागो सिर्फ जागो’ भन्ने हो ।

जीवनका हरेक आरोह अवरोहमा आउने समस्यालाई साक्षी बनेर ध्यानसँग जोडेर समाधानको उपाय निकाल्न उनले सिकाएका छन् । समस्यासँग भागेर होइन समस्यालाई सामना गर्न सुझाएका छन् । ओशोले जीवनका हरेक पक्षलाई पुरै सजगताका साथ एक द्रष्टा भएर होसपूर्वक साक्षीभावले हेर्न सिकाएका छन् ।

वरिष्ठ पत्रकार विजय कुमारका अनुसार ओशोले जीवनमा अनगिन्ती विषयमा प्रवचन दिएका छन् । हजारौं विषयमा बोलेका प्रवचनमध्ये ‘सेक्स’ पनि एउटा विषय हो । तर ओशोलाई नबुझ्नेहरुको भ्रम के छ भने ओशोले खाली सेक्सको मात्र कुरा गर्छन् र खुला सेक्स गर्न सिकाउँछन् । ओशोले ध्यान र साधनामार्फत जीवन र जगतलाई नजिकबाट बुझ्न सिकाएका छन् ।

जसभित्र सेक्स पनि पर्छ । मानव जीवनसँग सम्बन्धित हरेक विषयमा बोल्ने क्रममा सेक्सबारे पनि बोलेका छन् । ओशोको एउटा बहुचर्चित पुस्तक छ ‘सम्भोग से समाधि तक’ । ‘सेक्स टु सुपरकन्सिअस’ कतिपयले यो पुस्तकलाई यौनलीला अर्थात यौन साहित्य मानेर पढ्छन् । पढिसकेपछि सोचेजस्तो कुरा पुस्तकभित्र नपाउँदा निकै निराश पनि हुन्छन् । खासमा ओशोले यौन अर्थात सेक्सलाई ध्यानसँग जोडेका हुन् ।

ओशोको निजी सचिव आनन्द शीलाका अनुसार ओशोले आफ्ना अनुयायी अगाडि एउटा लक्ष्य राखेका थिए—ध्यान र स्वयंलाई जगाउने । तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य जीतबहादुर अर्जेल (स्वामी सत्यभक्त) ले ओशोको विषयमा गरेको अनुसन्धान अनुसार ऊबेला ओशो धर्मविरोधी र सेक्सप्रति आकर्षित गुरु भन्ने किसिमको समाचार बाहिर आउँथे ।

‘सेक्स गुरु’ भन्दै खिसीट्युरी हुन्थ्यो । तर पुस्तक पढ्दै जाँदा अर्जेलले बुझे ‘दर्शन, धर्म र सम्प्रदायको व्याख्या गर्न सक्ने ठूला र प्रखर व्याख्याता’ थिए रजनीश ।

जीवन र जगतलाई हरेक कोणबाट बुझाउन र वयान गर्न सक्थे । अर्जेल भौतिक, सामाजिक र आर्थिक कारण ‘डिप्रेस्ड’ थिए । आत्महत्या गर्ने सोचसमेत बनाएका थिए । उनले जीवनमा निराशा सिवाय अरु देखेनन् । जब ओशोको प्रवचन सुने उनको जीवन नै परिवर्तन भयो । त्यसैगरी भारतीय तथा नेपाली थुप्रै कलाकार ओशो आश्रममा तनावबाट मुक्ति पाउन ध्यान गर्न जाने गरेको पाइन्छ ।

‘सेक्सले जीवनको यथार्थको रहस्य उजागर गर्छ । किनकी सेक्स नै तिमीमा भएको सबैभन्दा जीवित कुरा हो । दिमाग तिमीसँग भएको सबैभन्दा मृत वस्तु हो अनि सेक्स सबैभन्दा जीवित,’

ओशो भन्छन्, ‘त्यसैले तिम्रो दिमाग सदैव सेक्सको विरोधमा हुनेछ । सेक्सलाई सधै दबाउन खोज्नेछ । यी एकअर्काका दुश्मन हुन् । दिमाग मृत हो अनि सेक्स जीवित शक्ति, यी दुई बीच द्वन्द्व चलिरहन्छ । जहाँ छ जीवन, त्यहाँ जीवको अस्तित्वलाई सेक्स जीवन्त बनेर रहन्छ ।’

हामी सबैको जन्म सेक्सकै उपज हो । यही सत्य ओशोले भनेका मात्रै हुन् । उनले भनेको यत्ति हो कि सेक्सबिना मृत्यु सम्भव छैन, किनकी सेक्सबिना जन्म सम्भव छैन । सामान्यतया सेक्स र प्रेमलाई सँगै जोडिन्छ, कुनै भित्री रहस्य भए झै । तर हैन भन्ने ओशोको भनाइ छ ।

उनी भन्छन्, ‘प्रेम केवल सेक्स गएपछि आउँछ । त्यसअघिको प्रेम त केवल एक वासना हो, बाटो हो, बहाना हो, माध्यम हो, अरु केही होइन ।’ २ बीच जति सेक्स हुन्छ त्यति नै कम प्रेम हुन्छ भन्ने ओशोको मान्यता छ । ‘तर जब सेक्स ध्यान बन्छ, प्रेम पनि मौलाउँछ,’ उनी भन्छन् ।

स्खलन हुनु र बच्चालाई जन्म दिनुमात्र सम्भोग हैन भन्ने ओशोको धारणा छ । हाम्रो समाज सेक्स अर्थात यौनलाई धृणा गर्छ । तर ओशो भने जति धेरै सेक्स, उतिधेरै आविष्कार हुन्छ भन्थे । सेक्ससँग जोडिएर आउने एउटै सर्तचाहिँ ध्यान हो । जति मानिसहरु सेक्सलाई मनोरञ्जन ठान्छन् ओशो त्यसो ठान्दैनन्, सेक्स त ध्यान हो भन्छन् उनी ।

ओशोले नकारात्मक सोचलाई ध्यानको माध्यमद्वारा बदलेर सकारात्मक बनाउने विधि सिकाएका छन् । ओशो ‘सेक्स गुरु’ भएको भए त सेक्सकै बारेमा मात्र प्रवचन दिनुपर्ने होइन र ? किन हजाराै‌ विषयमा प्रवचन दिएका होलान् ? ओशोलाई ‘सेक्स गुरु’ भनिनुपर्ने कुनै आधार र कारण देखिन्न ।

तपाईको प्रतिक्रिया