रक्सीको मात र रिसको झोंकमा काकाको हत्या

समाधान संवाददाता २०७७ असार २८ गते १९:३८

ईश्वर देवकोटा, पोखरा

घरमुनिको खरबारीमा अर्काको गाई देखेपछि पीताम्बर सापकोटालाई निको लागेन । गाई छिमेकी र भतिजा पर्ने नवराज सापकोटाको थियो ।

यत्ति विषयमा काका भतिजाको भनाभन चल्यो । कास्कीको मादी गाउँपालिका ४ घामनुङ गाउँको सृष्टिटोलमा काका ८० वर्षीय पीताम्बर र ५५ वर्षीय नवराजको त्यो कलह भनाभनमै सीमित भएन ।

Advertisement

असार २७ गते शनिबार साँझ साढे ६ बजे खुकुरी नचाउँदै नवराज पीताम्बरको परिवारमाथि जाइलागे । नवराजले आफूलाई मदिराको मातमा थाम्न सकेनन् ।

दिउँसो भनेअनुसार नै बेलुका काकाका छोरा रघु सापकोटामाथि नै जाइलाग्न खुकुरी लिएर पुगे । रघु ढोका लगाएर कोठाभित्र पसे । नवराजको रिस शान्त नहुँदै मेसोमा काका पीताम्बर परे ।

Advertisement

भान्सामा खाना खाँदै गरेका पीताम्बरलाई नवराजले ३ पटक खुकुरी हाने । पीताम्बरकी श्रीमतीले हारगुहार गरिन् । पीताम्बरका भाइ पर्ने ७७ वर्षीय केशवराज सापकोटा घटनास्थलमा आइपुगे । नवराजले केशवराजलाई पनि छाडेनन् । उनलाई पनि टाउकामै खुकुरी प्रहार गरे ।

पीताम्बर र केशवराजको जोडिएको आँगन छ । नवराजको घर उनीहरुको भन्दा २ कान्लामाथि छ ।

स्थानीयका अनुसार दिउँसो भएको झगडामा पीताम्बरका छोरा ३५ वर्षीय रघु सापकोटाले नवराजलाई आफ्नो परिवारमाथि ‘दमन’ नगर्न भनेका थिए ।

नवराज प्रायः गाउँमा नबस्ने र आउँदा पनि मदिरा खाने र झगडा गर्दै हिँड्ने स्वभावका थिए ।

रघुको आग्रहलाई ठाडै लल्कारेर नवराजले ‘सिध्याइदिने’ धम्की दिए ।

उनको आवेगमा नभन्दै रघुका बुवा पीताम्बर परे । उनको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

घाइते केशवराज र पीताम्बरलाई राति साढे १ बजेमात्र मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याउना साथै चिकित्सकले पीताम्बरलाई मृत घोषणा गरे । केशवराज होसमा छन् ।

उनको १ पटकको प्रहारपछि अर्को खुकुरीको प्रहार रोक्न खोज्दा देब्रे हातको ३ वटा औंला छिनिएको उनका छिमेकीले बताए । घटनापछि नवराजले रातमै गाउँ छाडेका थिए ।

घटनाका मुख्य अभियुक्त नवराजलाई प्रहरीले आइतबार बिहान साढे ५ बजे पोखरा १३ आर्बाफेदीको कसेरीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी जीवनकुमार श्रेष्ठले आइतबार नवराज सापकोटालाई भर्चुअल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे ।

घटनास्थलबाट प्रहरीले १ थान खुकुरी बरामद गरेको एसपी श्रेष्ठले बताए । घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि सामान्य सामाजिक झगडा हत्यासम्म पुगेको निष्कर्ष निकालेको छ ।

पीताम्बरकाे भान्साकाेठा रगतले लत्पतिएकाे अवस्थामा ।

तर सोही दिनको घटना स्थानीय र प्रहरीको भनाइमा अन्तर छ । ‘पहिले पनि उनीहरुबीच सानोतिनो कुरामा झैझगडा भइरहने रैछ,’ एसपी श्रेष्ठले भने, ‘घटनाको दिनचाहिँ बारीमा बाँदर धपाउन नवराजले छोरीलाई ‘ढुंगा हान’ भन्दा पीताम्बर र केशवराजले ए मलाई किन ढुंगा हान्न लगाने भनेछन्, त्यसरी नै झगडा सुरु भएको रैछ ।’

झगडा मत्थर बनाउन नवराजकी श्रीमतीले उनलाई तानेर घरभित्र लगेकी थिइन् । तर उनी रोकिएनन् । खुकुरी बोकेर पीताम्बरका घरतिर सोझिए ।

साँझ खाना खाइरहेकै बेला पीताम्बरलाई नवराजले खुकुरी प्रहार गरेको एसपी श्रेष्ठले बताए । कर्तव्यज्यान मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी घटनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


पीताम्बरकाे भान्साकाेठा रगतले लत्पतिएकाे अवस्थामा ।

नवराज लकडाउनपछि गाउँ फर्किएका थिए । उनी मकवानपुरमा शिक्षण पेसा संलग्न रहेको गाउँलेलाई सुनाउँथे । प्रहरीको अनुसन्धानले उनको शैक्षिक योग्यता मास्टर डिग्री रहेको खुलाएको छ ।

पक्राउपछि बहाना

हातमा खुकुरी परेपछि आवेशमा काकाको हत्यापछि राति नै गाउँबाट फरार नवराज सापकोटालाई आइतबार बिहान पोखरा १३ आर्बाफेदीको कसेरीबाट प्रहरीले पक्राउ गरेको थियो । आफूले प्रयोग गर्दै आइरहेको मोबाइल घरमै छाडेर उनी भागेका थिए ।

गाउँले र स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेपछि कास्की प्रहरी र इलाका प्रहरीले निगरानी बढाएको थियो । उनलाई उम्कन नदिन सबैतिरका नाकाका सर्कुलर थियो । तर उनी कसेरीमै फेला परेका थिए । प्रहरीसँग जम्काभेट भएपछि नवराजले आत्मसमर्पणको बहाना बनाएका थिए ।

एसपी श्रेष्ठका अनुसार आवेगमा आएर हत्या भएको र प्रहरीलाई आफैं खबर गर्न लागिरहेको उनले पक्राउपछि बताएका थिए । साढे ५ बजे प्रहरी टोलीसँग उनको जम्काभेट भयो । पक्राउ पर्नासाथ नवराजले प्रहरीलाई भनेका थिए, ‘सर मैले आवेगमा आएर हत्या गरेँ । तर मैले प्रहरीलाई खबर गर्नेवाला थिएँ ।’

मादी ४ का वडाध्यक्ष सत्यराज सापकोटाले राति नै इलाका प्रहरी कार्यालय डाँडाकोनाक र जिल्ला प्रहरी कार्यालय कास्कीलाई घटनाबारे जानकारी गराएका थिए । ‘बेलुका नै घर छोडेर हिँडेका नवराज फरार हुनसक्ने सम्भावना देखेपछि प्रहरीलाई खबर गरेँ, नत्र भाग्ने रहेछ,’ वडाध्यक्ष सापकोटाले भने ।

तपाईको प्रतिक्रिया