गाेरखा पालुङटारका वडाध्यक्ष बालिका बलात्कार आराेपमा पक्राउ

समाधान संवाददाता २०७७ साउन २० गते ७:५०

समाधान संवाददाता

गाेरखा जिल्लाकाे पालुङटार नगर पालिकाका एक वडाध्यक्ष बालिका बलात्कारकाे आराेपमा पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

Advertisement

पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरिएको गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिएका छन् ।

बिहे गर्ने प्रलोभन दिएर पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको एसपी गुरुङले बताएका छन् ।

Advertisement

पक्राउ परेका वडाध्यक्ष रानाभाटलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर बयान लिने काम भैरहेकाे छ । बालिकाकाे पनि मेडिकल जाँच गरिदैछ ।

जनता समाजवादी पार्टी पालुङटार नगर कमिटी गोरखाले पार्टीका तर्फबाट निर्वाचित वडा नं ४ का अध्यक्षलाई निलम्बन गरेको छ।

सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले निलम्बन गरिएको जानकारी गराएको हो।

पालुङटार ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कार आराेपमा अनुसन्धानको क्रममा हिरासतमा रहेको भन्दै उनलाई निलम्बन गरिएको हो।

अनुसन्धान प्रक्रियालाई सहज बनाउन वडाध्यक्ष रानाभाटलाई तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको पालुङटार नगर कमिटी गोरखाका कार्यवाहक अध्यक्ष देविमाया गिरीद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ।

तपाईको प्रतिक्रिया